20091030

देशमा दोहोरो भिडन्तको तयारी, माओवादी वाइसियल पारिचालन् गर्दै, सरकार प्रहरी र सेनालाई उतार्दै !?


सरकारले एकीकृत नेकपा माओवादीलाई वैधानिक ढंगबाट अगाडि बढ्न र वार्ताको माध्यमबाट समस्या समाधान गर्न औपचारिक आह्वान गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले माओवादी आन्दोलन विधिसम्मत तवरमा अघि नबढे कानुनी कारबाही कडाइका साथ
लागू गर्ने निर्णय गरेको छ। गृहमन्त्री भीमबहादुर रावलले प्रधानमन्त्री माधवकुमार नेपाललाई अपरान्ह ३ बजे माओवादी आन्दोलन र सुरक्षास्थितिबारे करिब सवा घन्टाजति ब्रिफिङ गरेलगत्तै सरकारले यस्तो निर्णय गरेको हो।माओवादीले आन्दोलनको तयारी गर्दै जानु र अर्कोतिर सरकारले कडा प्रतिवादमा उत्रिने निर्णय गर्नुले मुलुक मुडभेडतिर बढेको संकेत दिएको छ। गृहमन्त्री रावलले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुअघि सुरक्षा निकायका चार वटै अंग प्रमुखलाई मन्त्रालय बोलाइ राष्ट्रिय सुरक्षा समितिको बैठक डाकेका थिए। बैठकमा माओवादी आन्दोलनको सम्भाव्य विश्लेषण गरिएको थियो। माओवादीले गर्न सक्ने जुनसुकै अवस्थाको प्रतिकारका लागि तम्तयार रहन गृहमन्त्रीले सुरक्षा निकाय प्रमुखलाई निर्देशन दिए। 'दललाई शान्तिपूर्ण तवरमा जुलुश गर्ने अधिकार छ तर हिंसा गर्ने, व्यक्तिगत सम्पत्ति तोडफोड वा आगजनी गरेमा सरकारले कडाइका कानुन पालना गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ', बैठकमा सहभागी गृह प्रवक्ता जयमुकुन्द खनालले नागरिकसित भने। एकीकृत माओवादीले सरकारसमक्ष विभिन्न ५ सुत्रीय माग राख्दै यही कात्तिक १५ गतेसम्म पुरा नभए आन्दोलन गर्ने अल्टिमेटम दिएको छ। माओवादीले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार हुनुपर्ने माग राखेको छ भने सरकार पक्ष त्यो मान्न तयार छैन। सरकारलाई समर्थन गरेका २२ दलले हालै संयुक्त बैठक गरी माओवादी आन्दोलनको प्रतिकार गर्ने निर्णय गरिसकेका छन्। माओवादीले आफ्नो भातृसंगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) लाई आन्दोलनको मुख्य शक्ति रूपमा स्थापना गर्न अन्य भातृसंगठन विद्यार्थी, मजदुर, महिला, दलित आदिमा पनि 'वाईसीएल विङ' गठन गर्ने नयाँ योजना ल्याएको छ। माओवादीको अल्टिमेटम सकिन दुई दिन बाँकी रहँदा वाईसीएलका कार्यकर्ताले विभिन्न ठाउँमा तोडफोड तथा हिंसात्मक विरोध कार्यक्रम गरिरहेका छन्। माओवादीको गतिविधि चर्किदै गएपछि बुधबार राति प्रधानमन्त्री नेपालसहित एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता केपी शर्मा ओली गृहमन्त्री रावलको पुल्चोकस्थित मन्त्रीक्वार्टरमा गइ आन्तरिक छलफल गरेका थिए। पुल्चोक रातिको छलफलबमोजिम गृहमन्त्रीले बिहीबार सुरक्षा समितिको बैठक बोलाएको स्रोतको दाबी छ।
गृहमन्त्री रावलको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा नेपाली सेनाका निमित्त प्रधानसेनापति तोरणजंगबहादुर सिंह, गृहसचिव गोविन्द कुशुम, नेपाल प्रहरीका महानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरी बलका महानिरीक्षक सनतकुमार बस्नेत, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्ट उपस्थित थिए। भोजराज भाट/नागरिक



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक