20091029

चीन ले खाली हात फर्काए पछी प्रचन्डको अमेरिका सँग हार गुहार, अमेरिकाले पत्याउला ?

एकीकृत माओवादीले अमेरिकासँग कूटनीतिक सम्बन्ध विस्तारको प्रस्ताव गरेको छ । यसका निम्ति उसले आफूलाई आंतककारी सूचीबाट हटाउन औपचारिक आग्रहसमेत गरेको छ । दुई साताअघि चीन भ्रमणका क्रममा त्यहाँको सरकार र चिनियाँ कम्युनिस्ट पार्टीसँग कूटनीतिक सम्बन्ध विस्तारसम्बन्धी औपचारिक छलफल गरी फर्केका माओवादी नेतृत्वले अमेरिकासँग पनि सम्बन्ध विस्तारका लागि हात बढाएको हो । बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास नयाँबजार पुगेका नेपालका लागि अमेरिकी राजदूत जेफ्रि मोनसँग माओवादीले यस्तो प्रस्ताव राखेको हो । भेटमा माओवादी अध्यक्ष प्रचण्ड, विदेश विभागप्रमुख कृष्णबहादुर महरा र राजदूत मोन मात्र थिए । दोस्रो चरणको आन्दोलन घोषणा गरेलगत्तै माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न राजदूत मोन प्रचण्डनिवास पुगेका हुन् ।
भेटमा माओवादीले तत्काल राष्ट्रपतिको कदम सच्याएर वैकल्पिक सरकार नबनाए शान्तिप्रक्रिया टुंगोमा पुग्न नसक्ने पार्टीको धारणासमेत राजदूतमार्फत अमेरिकासँग राखेको छ । माओवादी शान्तिप्रक्रियामा आएको तीन वर्ष पुग्दासमेत उसलाई आतंककारीको सूचीबाट हटाएको नहटाएको अमेरिकाका राजदूत प्रस्तावमा सकारात्मक रहेको माओवादीको दाबी छ । 'पार्टी र अमेरिकाबीचको सम्बन्ध विकसित गर्न प्रस्ताव गर्‍यौँ र हामीलाई आतंककारी सूचीबाट हटाउन पहल गर्न आग्रह गर्‍यौँ,' भेटका क्रममा भएको छलफलबारे माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले नयाँ पत्रिकासँग भने, 'उहाँले प्रस्तावलाई सकारात्मक रूपले लिँदै सरकारसँग कुरा राख्ने बताउनुभयो ।'

जनयुद्धकालमा अमेरिकासँग आक्रामक माओवादी शान्तिप्रक्रियामा आएपछि ऊसित कूटनीतिक सम्बन्ध जोड्ने प्रयासमा छ । यसबीचमा माओवादी अध्यक्षलगायत नेतो अमेरिका भ्रमण पनि गरिसकेका छन् । बुधबार बिहान साढे सातदेखि करिब पौने घन्टा चलेको छलफलमा अमेरिकी राजदूतले आफू अहिलेको राजनीतिक अवस्थाबारे माओवादीको धारणा बुभन चाहेको बताएका थिए । 'उहाँले पछिल्लो राजनीतिक अवस्था र हाम्रो पार्टीको धारणा बुझ्न खोज्नुभएको थियो,' नेता महराले बुधबारसाँझ नयाँ पत्रिकासँग भने, 'हामीले उठाएका राजनीतिक मुद्दाबारे बतायौँ ।'स्रोतका अनुसार प्रचण्डले राष्ट्रपतिले सेनापति प्रकरणमा चालेको कदम सच्चिनासाथ राजनीतिक निकास निस्कने र त्यसपछि सहमतिका आधारमा बन्ने सरकारले शान्तिप्रक्रिया, नयाँ संविधान र सेना समायोजनलगायतका काम सम्पन्न गर्ने धारणा राखेका थिए । माओवादीले दुई साता लामो आन्दोलनका कार्यक्रम घोषणा गरेलगत्तै अमेरिकी राजदूत मोन आफैँ समय मागेर माओवादी अध्यक्ष प्रचण्डलाई भेट गर्न गएका थिए । प्रचण्ड-मोन भेटमा शान्तिप्रक्रिया, सेना समायोजन र अनमिनद्वारा अयोग्य ठर्‍याइएका लडाकुको पुनस्र्थापनाबारे पनि अमेरिकी राजदूतले चासो राखेका थिए । 'सेना समायोजन र बाललडाकुको पुनस्र्थापनामा उहाँले चासो राख्नुभएको थियो,' माओवादी स्थायी समिति सदस्यसमेत रहेका महराले भने । हालै माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको चीन भ्रमणबारे विस्तृत कुराकानी नभएको महराले दाबी गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक