20091028

माओवादीको नागरिक सर्वोच्चताको नारा सत्ताका लागि बार्गेनिङ, "नागरिक सर्वोच्चताको शत्रु प्रचण्ड" : मातृका यादव


"माओवादीको वितण्डाको अगाडि हात बाँधेर चूप लागेर बस्न सक्दैनौ" : ओली
"माओवादीको ज्यादतीविरुद्ध आफ्नो पार्टी पनि प्रतिकारमा उत्रने" : देउवा
"नेपाली कांग्रेस र नेकपा एमाले जिम्मेवार नबन्दा आन्दोलन" : माओवादी
"माओवादी आन्दोलनको उद्देश्य जनतालाई दुःख दिनु मात्रै" : मन्त्री महत

नेकपा माओवादीका संयोजक मातृका यादवले एकीकृत माओवादीको नागरिक सर्वोच्चताको नारा सत्ताका लागि बार्गेनिङ भएको बताएका छन्। आफ्नो पार्टीलाई मजबुत बनाउन तराई र पहाडमा रहेका भूमिगत संगठनसँग सहकार्य गरिने जानकारी उनले दिए।
बाँके, बर्दिया र दाङका कार्यकर्ताहरूलाई दुई दिनसम्म प्रशिक्षण दिइसकेपछि मंगलबार बाँकेको खजुरामा पत्रकार सम्मेलन गरी उनले भने, 'सहकार्यका लागि भूमिगत संगठनसँग वार्ता भइरहेको छ ।' सहकार्य गरिने भूमिगत संगठनहरूको चरित्र राजनीति उद्देश्यको हुनुपर्ने उनले प्रस्ट पारे । उनका अनुसार तराईमा रहेका ३/४ वटा संगठन र पहाडमा त्योभन्दा कम राजनीतिक संगठन छन्। उनले अबको आन्दोलन सशस्त्र वा निरस्त्र भन्नेबारे जवाफ दिएनन्। उनले भने, 'सरकार बन्दुक लिएर आउँछ भने माओवादीले बन्दुकबाटै जवाफ दिन्छ। लाठी लिएर आउँछ भने लाठीबाटै जवाफ
दिन्छ।'

यसैबीच एमाले नेता केपी शर्मा ओलीले माओवादीद्वारा पछिल्लो समय घोषणा गरिएका आन्दोलनका कार्यक्रमले बितण्डा मच्चाउन खोजेको बताएका छन्। 'माओवादीले आन्दोलन भने पनि ती आन्दोलनका कार्यक्रम होइनन्', ओलीले भने–'माओवादीले आन्दोलनको निहुँमा वितण्डा मच्चाउन खोजेका मात्र हुन।' उनले माओवादीले आन्दोलनका कार्यक्रम घोषणा गरेर अन्य दल र जनतालाई तर्साउन खोजेको बताए। माओवादीले शान्ति स्थापना गर्ने समयमा झन खलबलाउन खोजेको ओलीको भनाई थियो। 'उनीहरुले त्रास फैलाउन मात्र खोजेका हुन' बुधबार पोखरामा पत्रकारसँग नेता ओलीले भने-यो देश हाम्रो पनि हो, उनीहरुले चाहँदैमा सबै कुरा हुँदैन।' माओवादीको जत्ति अधिकार अन्य दलको पनि छ'- ओलीले भने। माओवादीले विभिन्न ठाउँमा मन्त्री र विभिन्न दलका नेतामाथि गर्दै आएको दुर्व्यवहारले आफूहरु विचलित नभएको ओलीको भनाई थियो। 'माओवादीको अवरोधले हामी भागेर हिँड्दैनौ, कसैले रोक्छ भने हामी पनि चूप लागेर बस्दैनौ'- उनले भने। उनले माओवादीको वितण्डाका अगाडि हात उठाउन र झुक्न नसकिनेसमेत बताए। 'हामी माओवादीको वितण्डाको अगाडि हात बाँधेर चूप लागेर बस्न सक्दैनौ', ओलीले भने-अरुमाथl मुंग्रो चलाउनेलाई अब कारबाही हुन्छ।' माओवादीले प्रधानमन्त्री पदमा आँखा लगाउनुको पछाडि कुनै तुक नरहेको ओलीको भनाई थियो। 'उनीहरुका माग सहL हुन सक्छन् तर संवैधानिक र कानुनीतवरले आउनुपर्‍यो', ओलीले भने-आफ्नो स्वार्थ र जिद्धीका आधारमा कुनै पनि पद पाइँदैन।

यसैबीच पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीको ज्यादतीविरुद्ध आफ्नो पार्टी पनि प्रतिकारमा उत्रने चेतावनी दिएका छन्। चितवनबाट पर्वतको पार्टी कार्यालय उद्‌घाटन गर्न जानेक्रममा बुधबार बिहान तनहुँमा पत्रकार भेटघाट गर्दै देउवाले माओवादी प्रतिकारको विकल्प नभएको बताए। 'संसारको कुनै पनि देशमा बजेट पारित गर्नबाट रोकेको इतिहास छैन तर माओवादीले बजेट पारित हुन नदिएर गैरजिम्मेवारीपूर्ण व्यवहार गरेका छन्', देउवाले भने। देउवाले एकीकृत नेकपा (माओवादी)ले तर्साएर, धम्क्याएर, मान्छे मारेर एकदलीय हैकमवाद लाद्न खोजेको आरोप लगाए।
आफ्नो दलभन्दा फरक विचार राख्नेहरूलाई माओवादीले निमिट्यान्न पार्न खोजेको समेत उनले आरोप लगाए। उनले प्रजातन्त्र, राष्ट्रिय अखण्डता धरापमा परेकोले यसलाई जोगाउन सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिए।

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो दलको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राष्ट्रिय संयुक्त सरकार गठनलाई पनि उद्देश्य बनाएर संघर्षमा जाने निर्णयगरिएको बताउनुभयो । आफूहरु सहमतिका लागि हदैसम्म लचिलो हुदाहुदै नेपाली कांग्रेस र नेकपा एमाले जिम्मेवार नबन्दा आन्दोलन अगाडि बढाउन वाध्य भएको प्रकाशको भनाई थियो । सहमतिका लागि अन्तिम समयसम्म प्रयास गर्ने बताउँदै प्रकाशले अझै चार दिन बाँकी भएकाले झीनो आशा रहेको बताउनुभयो । नागरिक सर्वोच्चता प्राथमिक मुद्या भएको र त्यसका लागि सरकार परिवर्तन अनिवार्य भएको प्रकाशको भनाई थियो ।
यसैबीच रिपोर्टस क्लवमै भएको अर्को साक्षात्कारमा ऊर्जामन्त्री डा.प्रकाशशरण महतले माओवादीको आक्रमणको डटेर सामना गर्ने बताउनुभयो । जनतालाई दुःख दिने काम जो कसैबाट भएमा चुप लागेर नबस्ने बताउँदै मन्त्री महतले माओवादी आन्दोलनको उद्देश्य जनतालाई दुःख दिनु मात्रै भएको बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक