20091026

माओवादीले फेरी अर्को कुटिल पासा फ्याँक्यो, माधव नेपाल लाई हटाएपछि मात्र कुरा गर्ने रे !


राष्ट्रपति डा. रामवरण यादवले गत वैशाखमा प्रधानसेनापति प्रकरणमा चालेको कदमलाई घुमाउरो ढंगले नाम उल्लेख नगरी त्रुटिपूर्ण थियो भन्ने आशयसहितको शब्द साझा संकल्पप्रस्तावमा राख्न नेपाली कांग्रेस र नेकपा (एमाले) सहमत भए पनि आइतबार एक्कासि प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) ले सरकार परिवर्तनको अर्को नयाँ प्रस्ताव राखेपछि दलहरूबीच हुने भनिएको सहमति थप जटिल मोडमा पुगेको छ।
कात्तिक ८ गते आइतबारसम्म राजनीतिक सहमति हुने र १० गतेबाट संसद् चल्ने घोषणा चार दिनअघि सिंहदरबारमा भएको बैठकपछि एमाले, कांग्रेस र माओवादीका नेताले गरेका थिए। तर आइतबार बिहान एमाले र माओवादी, दिउँसो एमाले र कांग्रेस र साँझ कांग्रेस र माओवादीबीच भएका वार्ता निष्कर्षवहीन बने। यद्यपि शीर्ष नेतृत्वबीच वार्ता गरी अन्तिम प्रयत्न गर्ने नेताहरूले बताएका छन्।

एमाले र कांग्रेसले संसद्मा बहुमत रहेसम्म सरकार परिवर्तनको विषयमा र राष्ट्रपतिलाई आक्षेप लगाउने गरी छलफल हुनै सक्तैन र त्यसमा कुनै हालतमा सहमत हुन नसकिने माओवादीसमक्ष प्रस्ट गरेका छन्।
यद्यपि सहमति निर्माण गर्न र माओवादीको मागलाई सम्बोधन गर्ने गरी संवैधानिक राष्ट्राध्यक्षको संस्थालाई मर्यादित रूपमा राख्ने, विगतको जस्तो घटना दोहोरिन नदिने, कार्यकारी अधिकार मन्त्रिपरिषद्मा रहेको, सेना मन्त्रिपरिषद्अन्तर्गत रहेकोजस्ता विषयमा प्रतिबद्धतासहितको साझा संकल्पप्रस्ताव तयार गरौं भनी आइतबार एमालेका नेताद्वय भरतमोहन अधिकारी र युवराज ज्ञवालीले माओवादीका नेता डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र देव गुरुङसमक्ष प्रस्ताव राख्नुभएको थियो। कांग्रेससँग परामर्श गरी माओवादीसमक्ष राखिएको सो प्रस्तावलाई माओवादीले असहमति नजनाई राष्ट्रिय सरकार निर्माणसहितको प्याकेजमै सहमति खोजौं भनी नयाँ प्रस्ताव राखेपछि सहमति गर्न लागिएको साझा संकल्प नै धरापमा परेको छ।

नेकपा (एमाले) का वार्ताटोली सदस्य केशव बडालले गत असोज ९ गतेदेखि भएको वार्ता सहमतिको अन्तिम चरणमा पुगेको तर आइतबार माओवादीले घुमाउरो ढंगले सरकार परिवर्तनको प्रस्ताव राखेपछि अलि जटिलतातर्फउन्मुख भएको हो कि जस्तो छ भन्नुभएको छ। उहाँले आज सोमबार शीर्ष बैठक बसेर सहमति खोज्ने प्रयत्न गरौं भन्ने प्रस्ताव आफ्नो पार्टी माओवादी, कांग्रेस दुवै पार्टी अध्यक्ष राखेको जानकारी गराउनुभएको छ। माओवादी नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी प्याकेजमै सहमति गरौं भनेको संविधान निर्माण, शान्तिप्रक्रिया, सेना समायोजन र त्यसका लागि राष्ट्रिय सरकार भन्ने कुरा गरेको तर तत्कालका लागि राष्ट्रपतिले चालेको कदम सच्याउनुपर्ने नै हो भनी स्पष्ट पार्नुभएको छ। पार्टी राख्दै आएको धारणालाई नयाँ प्रस्ताव भन्न मिल्दैन भन्दै नेता श्रेष्ठले वार्ता सकारात्मक रूपमा नै अगाडि बढेको र सोमबार शीर्ष बैठक बस्ने सम्भावना रहेको बताउनुभएको छ। नेता श्रेष्ठले सरकार परिवर्तनको नयाँ प्रस्ताव राखेको होइन भन्नुभए पनि माओवादीकै वरिष्ठ नेता मोहन वैद्य ‘किरण’ ले नागरिक सर्वोच्चतामा मात्र पार्टी सीमित नहुने भो र अब वर्तमान सरकारले राजीनामा दिनुपर्छ र माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्छ, त्यो भए मात्र कुरा मिल्छ नभए मिल्दैन भन्नुभएको छ।

नेता वैद्यले एमालेका नेताहरूसँग वार्ता गरेको केही छिनमै रिपोर्र्टर्स क्लबमा पुगेर भन्नुभयो- ’वर्तमान सरकार रहेसम्म सहमति हुँदैन र अब उच्चस्तरको नयाँ सहमति प्याकेजमै गर्नुपर्छ। अन्यथा संविधान निर्माण, शान्तिप्रक्रिया, सेना समायोजन सबै अवरुद्ध हुन्छ। यो सरकार नहटेसम्म आन्दोलनको आँधीबेहरी सिर्जना गरिनेछ।’ आइतबार बिहान डा. बाबुराम भट्टराईको निवासमा एमाले-माओवादी, दिउँसो सिंहदरबारमा एमाले-कांग्रेसबीच भएको वार्तापछि साँझ कुपन्डोलस्थित समिट होटलमा भएको कांग्रेस-माओवादी वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भन्नुभयो- ‘माओवादीले प्याकेजमै नयाँ ढंगले सहमति गरौं भनी राखेको प्रस्तावका सम्बन्धमा हामीले पहिले राजनीतिक गतिरोध अन्त्य गर्ने गरी टुंगो लगाऊँ, त्यसपछि दोस्रो चरणमा अर्को विषयमा छलफल गरौंला भन्यौं तर माओवादीले एकैचोटि गर्नेतर्फजोड दियो।’ शीर्ष बैठकका सम्बन्धमा पत्रकारहरूले राखेको जिज्ञासामा नेता पौडेलले त्यसको टुंगो लागेको छैन भन्नुभयो। बुझिएअनुसार कांग्रेसले एमाले र माओवादी दुवैसँग वार्ता हुँदा हामीबीच नै सहमति भएको छैन भने किन शीर्ष बैठक बस्ने भन्ने प्रश्न गर्दै शीर्ष बैठकलाई महत्त्व दिएको छैन।
कांग्रेसले सभापति गिरिजाप्रसाद कोइराला अस्वस्थ रहेका कारण पनि सम्भव नभएको बताएपछि एमाले-माओवादीका नेताले उहाँ नभए त्यसमुनिका नेताहरू बसे भइहाल्यो नि भनेका थिए। वार्तामा सहभागी एक नेता भन्दै थिए- ‘सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएपछि सभापति कोइरालासँग भेटघाट नै नगरेका नेताहरूले उहाँसँग बसेर छलफल गर्न अनिच्छा गरेका कारण पनि शीर्ष बैठक बस्ने कुरामा आनाकानी भएको हुन सक्छ।’

नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले आफ्नो पार्टी वर्तमान सरकार परिवर्तन गर्ने पक्षमा नभएकाले माओवादीले सरकार परिवर्तन र राष्ट्रपतिलाई आक्षेप लगाउने गरी प्रस्ताव तयार गर्नुपर्छ भन्छन् भने त्यसमा सहमति हुन नसक्ने स्पष्ट पार्नुभएको छ। सिंहदरबारमा एमाले-कांग्रेसबीच भएको वार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले माओवादीका नयाँ-नयाँ प्रस्तावले परिस्थिति गम्भीर बन्दै गएको जानकारी गराउनुभएको छ। गत बिहीबार साँझ एमाले संसदीय दलको कार्यालयमा तीन पार्टी तीन नेता रहेको कार्यदलको बैठकपछि माओवादी नेता देव गुरुङले नागरिक सर्वोच्चतामाथि आघात पुगेको कुरालाई सच्याउने गरी प्रस्ताव आएकाले सहमति हुने सम्भावनाको ढोका खोलेको विचार राख्नुभएको थियो। उहाँले शब्द कसरी उल्लेख गर्ने भन्ने बाँकी रहेको (आइतबार कात्तिक ८ गते) सहमति हुने सम्भावना रहेको जानकारी गराउनुभएको थियो। आइतबार समिट होटलको वार्तापछि बिहीबार बोलेका बारेमा पत्रकारहरूले राखेको जिज्ञासाप्रति उहाँले कुनै टिप्पणी गर्नुभएन।
 लामो समयदेखिको गतिरोध अन्त्यबारे छलफल गर्न आज बसेको सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेको बैठकले माओवादीलाई विधिसम्मत् तरीकाले नयाँ सरकार गठनको चुनौती पनि दिएका छन् । सहमतिको सट्टा माओवादीले अनेकन् बखेडा झिकेर समस्या खडा गरेको निष्कर्षा पनि दुई दल पुगेका छन् ।

- टंक पन्त /News of nepal

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक