20091024

प्रचन्ड को चेतावनी, माधव नेपाल को पनि चेतावनी, सबैले सबै लाई दिदैछन चेतावनी तर केपी ओली को घर मा चल्दैछ भोज !
"तलब खान नपाएर भोली प्रहरी, सेनाले विद्रोह गरे भने के हुन्छ?"

सामान्य प्रशासन मन्त्री तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रभाकर प्रधानांगले अहिलेकै अडान कायम राखे माओवादीसँग सहमती हुन नसक्ने भएकाले सरकारले विकल्प सोचिरहेको बताएका छन्। "तलब खान नपाएर भोली प्रहरी, सेनाले विद्रोह गरे भने के हुन्छ?", समयमै बजेट पास नहुँदा अप्ठयारो स्थिति आउन सक्ने संकेत गर्दै मन्त्री प्रधानांगले भने, "कात्तिकभित्र सहमती नभए अन्य विकल्पमा जाने तयारी भइरहेको छ।" राजनीतिक सहमती नभएमा संसद सुचारु गरी बजेट परित गर्न तीनवटा विकल्पको बारेमा छलफल भइरहेको बताउँदै प्रधानांगले भने, "माओवादी सभासदमाथि मार्शल लगाउने, हल्ला गर्दागर्दै बहुमतले पारित गर्ने वा माओवादीले बहिस्कार गरेपछि अरु बसेर पारित गर्ने।"


दक्षिण कोरियाको राजधानी सोलमा सार्वजनिक प्रशासन सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (यूरोपा)को सम्मेलनमा सहभागी भएर नेपाल फर्कने क्रममा शनिबार हङकङ आइपुगेका मन्त्री प्रधानांगले नागरिकसँग कुराकानी गर्दै माओवादी झन् कडा हुँदै आएकाले सहमती हुन नसक्ने दावी गरे। प्रमुख दलहरूबीच राष्ट्रपतिको कदम गलत, अलिअलि गलत र ठिक भन्ने तीन वटा धारणा रहेको बताउँदै उनले सबैले संसदमा आफ्ना भनाई राख्न पाउनु पर्ने तर्क गरे।
"हामी (एमाले) र काँग्रेस पनि संकल्प प्रस्ताव लैजान तयार छौँ तर आ-आफ्ना प्रस्ताव राख्न पाउनु पर्छ भन्ने हाम्रो भनाई हो", उनले भने, "माओवादी उसकै अडान सबैले मान्नु पर्छ भनिरहेको छ, त्यो तानाशाही पन हो।" हङकङको अति व्यस्त ठाउँ चुङकिङ मेन्सनस्थित सपिङ सेन्टरमा चिया पिउँदै करिब आधा घण्टा कुराकानी गर्ने क्रममा पूर्व माओवादी नेता प्रधानांग माओवादीप्रति निकै कडा रुपमा प्रस्तुत भए। "दश दिनको अल्टिमेटम दिए भनेर डराउनु पर्दैन, उनीहरूले केही गरि खाँदैनन्", माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उनले भने, "अस्थिरता र अराजकता सिर्जना गरेर संविधान लेख्न नदिने र त्यसबाट राजनीतिक फाइदा उठाउने माओवादी नेतृत्वको सोचाई छ, तर त्यो संभव छैन।" माओवादी छापामार युद्धका बेला फौजी प्रशिक्षक समेत रहेका प्रधानांग रविन्द्र श्रेष्ठको नामले चिनिन्थे र अध्यक्ष दाहाल निकट थिए। २०६२ मा पार्टी छाडेपछि उनी माओवादीका प्रखर आलोचकका रुपमा प्रस्तुत हुँदै आएका छन्। २०६४ को संविधानसभा चुनाव अगाडि एमालेमा प्रवेश गरेपछि उनी पहिलो पटक माधव नेपालको सरकारमा मन्त्री भएका हुन्। हङकङस्थित नेपाली महाबाणिज्य दूतावासको आतिथ्यमा शनिबार यहाँ बसेका मन्त्री प्रधानांगले साँझ एमालेको हङकङ कमिटिले आयोजना गरेको भेलालाई सम्बोधन गरेका थिए।

प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाइ धम्कीको भाषा प्रयोग नगर्न र सहमतिको राजनीतिमा आउन आग्रह गरेका छन । उनले राष्ट्रपतिलाइ गम्भीर आक्षेप लगाएर कुनै पनि प्रस्ताव अघि नसार्न भन्दै सहमतिमा आउन आग्रह गरे ।
राजधानीको कोटेश्वरस्थित सर्वेश्वर मावि पाल्पाकोटको भवन हस्तान्तरण कार्यक्रममा उनले संसदको गतिरोध जारी राखेर बजेट पारित गर्नका लागि अवरोध गरे माओवादीका लडाकूको पनि तलबभत्ता रोकिने चेतावनी दिए ।
प्रधानमन्त्री नेपालले एकीकृत माओवादीका कारण राजनीतिक गतिरोध अन्त्य हुन नसकेको भन्दै संसदीय गतिरोध जारी राखे सरकारलाई मात्र नभई माओवादीलाई पनि अप्ठेरो पर्ने बताए ।
गतिरोध अन्त्यका लागि जिम्मेवार बन्न माओवादीलाई आग्रह गर्दै उनले माओवादीका लागि सरकारको ढोका सदैव खुला रहेको दोहोर्याए।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा सङ्घीय गणतन्त्र र जातीय राज्य बन्न नदिने षडयन्त्र हुने खतरा रहेको बताएका छन । आफ्नो पार्टीले उठाउँदै आएको जातीय मुक्तिको नारालाई प्रतिगामीहरुले गलत अर्थ लगाएको आरोप पनि लगाए । नेवा राष्ट्रिय मुक्ति मोर्चाले गरेको मोटरसाइकल र्‍यालीको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा रहेको सरकारले नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिए पनि अहिले त्यसलाई व्यवहारमा लागू गर्न सरकारले आनाकानी गरेको बताए ।

नेकपा एमालेभित्रको राजनीतिक तनाव कम गर्न नेता केपी ओलीले शनिबार साँझ आफ्नो निवास दुवाकोट भक्तपुरमा रात्रिभोजको राखेका छन्। रात्रिभोजमा एमाले अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपाल र मन्त्रिपरिषद्मा एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरु सरिक छन्। प्रधानमन्त्री नेपाल साँझ ५: १५ बजे ओली निवास पुगेका थिए भने अध्यक्ष खनाल पौने सात बजे ओली निवास पुगेका थिए। गृहमन्त्री भीम रावल, अर्थमन्त्री सुरेन्द्र पाण्डेलगायतका मन्त्री र एमाले स्थायी समितिका पदाधिकारीहरु भोजमा सरिक छन्।

1 comment:

  1. yi sabai uhi dyanka ka mula hun, hesh barbad parne bhaye ho

    Kamala Prasai
    jhapa

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक