20091016

"सुरूमा प्रचण्ड हिरो थिए, अहिले जोकर भइसकेका छन्, जनादेशको सबैभन्दा ठूलो उपहास प्रचण्डले नै गरेका हुन्" : मातृका यादव

बाबुराम भट्टराई र हिसिला यमीले सबैभन्दा ठूलो भ्रष्टाचार गरेको आरोप


एकीकृत नेकपा माओवादीबाट विद्रोह गरी गएका मातृका यादवले माओवादीले क्रान्तिकारी बाटो छोडेर, झुटको साहरा लिएर आफूहरुलाई बदनाम गरेको बताएका छन्। उनले एकीकृत नेकपा माओवादीले गलत बाटो लिएको भन्दै अहिले माओवादीका नेताहरू एमाले कांग्रेसकै बाटोमा हिडेका आरोप लगाए। एमाओवादी पाल्पाबाट विद्रोह गरी माओवादीमा प्रवेश गरेका कार्यकर्ताहरूलाई समेट्न र प्रशिक्षण दिन आफू पाल्पा आएको उनले बताए। पाल्पाको दोभानमा आफ्ना कार्यकर्ताहरूलाई सम्बोधन गर्दै यादवले आफू पार्टी लाइन विपरित नगएको स्पष्ट पारे। उनले भने 'बरू एकीकृत माओवादी नै लाइन विपरीत गएको छ। ’ निर्वाचनमा हारेकाहरुको प्रसंग उठाउदै यादवले भने'जनादेशको सबैभन्दा ठूलो उपहास प्रचण्डले नै गरेका हुन्। ' उनले प्रचण्डप्रति लक्षित गर्दै भने– सुरूमा बालुवाटार छिर्दा प्रचण्ड हिरो थिए, अहिले जोकर भइसकेका छन्।’ माओवादीमा बिद्रोह गरी आफ्नो पार्टीमा प्रवेश गरेकाहरूलाई लक्षित गर्दै उनले भने–साथीहरू आर्थिक हिनामिना या क्रान्ति बाहेक कुनै उद्देश्य लिएर आउनुभएको छ भने तपाई गलत ठाउँमा आउनु भएको छ ,बदमासी गर्ने भए पुरानै एकीकृत माओवादीमा फर्किए हुन्छ यहाँ बसेर बदमासी गर्न पाइदैन।’ यादवले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा बाबुराम भट्टराई र हिसिला यमीले सबैभन्दा ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन्।
मोहन वैद्यलाई आफूले आदर्श नेता मान्ने गरेको तर वैद्य पनि पद र सुख सुविधामा सती गएकाले अब आदर्श नेता नरहेको यादवको भनाइ थियो।
जनताको क्रान्ति पूरा नभएको भन्दै आफ्नो पार्टीले क्रान्ति अघि बढाएको दाबी गरेका छन्। उनले अहिल्यै आफूहरुले दुई चार प्रहरी चौकी ध्वस्त पार्न सक्ने दाबी पनि गरे। माओवादी जनयुद्ध सुरु हुँदाको अवस्थामा अहिले आफूहरु रहेको र भीषण क्रान्तिको तयारी भैरहेको यादवले दाबी गरे। उनले आफूहरु लड्न सक्नेगरी तयार भैसकेको भन्दै चाहेमा दुई चार प्रहरी चौकी अहिल्यै ध्वस्त पार्ने चेतावनी दिए। तर आफूहरु भूमिगत हुने र सशस्त्र संघर्ष गर्ने पक्षमा नरहेको पनि उनले बताए।भोलानाथ बश्याल सचिव रहेको १३ सदस्यीय जिल्ला कमिटी पाल्पाको गठन गरिएको उक्त कार्यकर्ता प्रशिक्षण तथा पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। पाल्पाबाट केही दिन पहिले एकीकृत माओवादीमा बिद्रोह गरी २१ जिल्ला स्तरीय नेताहरु मातृकाको पार्टीमा प्रवेश गरेका थिए।- यज्ञमूर्ति तिमिल्सिना

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक