20090930

२३ जनाको मृत्यु, ६३ जना घाइते ,मृत्यु हुने अधिकांश महिला


क्रिष्चियन धर्मावलम्बीहरुको एक कार्यक्रमस्थलमा बस्नको लागि बनाइएको दुई तले टेन्ट भत्कँदा २३ जनाको मृत्यु भएको छ। घटनामा परी ६३ जना घाइते भएका छन्। घाइते सबैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ। घटना धरान १९ चौकिबारीस्थित सियोन प्रार्थना भवनमा मंगलबार राति करिब साढे एघार बजे भएको हो। सो स्थानमा असोज १२ गतेदेखि २० गतेसम्मको लागि पवित्र महासभा कार्यक्रम आयोजना भइरहेको थियो। मंगलबारको कार्यक्रम सकी सुत्ने तरखर भैरहँदा अचानक बाँसको टेन्ट भत्किएको आयोजकले जनाएको छ।


मृत्यु हुनेहरुमा अधिकांश महिला छन् भने ४ जना बालबालिका परेका छन्। मृत्यु हुने सबैको सनाखत भैसकेको छ।  मृत्यु हुनेहरुमा बेलडागी शिविर झापाकी ८२ बर्षीया दिलमाया ल्वागुन, उदयपुर ठोक्सिला ८ का राजेश राई, झापा महेशपुर ३ का १६ बर्षीया सलमी तामाङ, मोरङ बेलबारी ३ का ३६ बर्षीया राजेन राई, मिगौली रुपन्देहीकी ४० बर्षीया कलावती खौसीयार, मोरङ डागीहाट,लक्ष्मीमार्गका ६० बर्षीय किसन चौधरी, सोही स्थानकी ५० बर्षीय पुनम मगर, मोरङ चन्द्रपुरकी ५५ बर्षीया कुमारी तामाङ, यासोक ७ पाचथरका ४८ बर्षीय पिटर लावती, कास्कीकी २५ बर्षीया कल्पना गंगामी, मोरङ बौकाझोडाका ४५ बर्षीय नन्दकिसोर लिम्बु, झापा भद्रपुरकी ४० बर्षीय सरोजा लिम्बु, झापा सैन्यमोडमा १२ बर्षीया आशा राई र इमाडोल ८ ललितपुरकी ४८ बर्षीया सरिता दियाली रहेकी छिन्। यसैगरी, मृत्यु हुनेहरुमा सुर्यनगर ३, झापाकी सिपोला सुब्बा, मोरंग बेलडागीकी नन्दीमाया विक, भारत गेरुवाथानकी ३५ बर्षीया निर्मला राई, शान्तिनगर १ झापाका १० बर्षीया अविशेक राई, गाडीहाट ५,मोरंगकी पवित्रा लिम्बु, तरहरा २ सुनसरीकी ६० बर्षीया गोमा भुजेल, पाचकन्या गाविस सुनसरीकी ५५ बर्षीया आर्टिमाया राई, झापा विर्तामोडका २८ बर्षीया मरसी मेचे र काठमाण्डौं का ७ बर्षीय सुलेमान तामांग रहेको प्रहरीले जनाएको छ। कार्यक्रम आयोजकले जनाए अनुसार सो घटना महिलाहरु बस्नको लागि बनाइएको टेन्टमा भएको हुनाले मृत्यु हुने र घाइतेहरुमा महिलाको संख्या बढी छ। घाइते मध्ये ५३ जना महिला र १० जना पुरुष रहेको वीपी प्रतिष्ठानस्थित प्रहरी विटले जनाएको छ। मोरंग लक्ष्मी मार्गका राजु राई गम्भीर छन्।- रोहित राई

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक