20090923

माओवादीले आधा दर्जन बढी

युवाहरुलाई निर्घात कुटपिट गरे

माओवादी लडाकूको एक समूहले झापा खुदुनावारीका आधा दर्जन बढी युवाहरुलाई निर्घात कुटपिट गरेका छन्। ईलाम दानावारीस्थित विप्लप सृजना बिग्रेडका मिलिसियाले खुदुनावारी ८ का सूर्य पाठक, मोहन निरौला, प्रकाश भट्टराई,सविन राईलगायतका युवाहरुलाइ निर्घात कुटपिट गरेका हुन्। मोटरसाइकलमा सवार युवाहरुको बाटामा झरेको सामान टिप्ने क्रममा गाडीमा आउदै गरेका माओवादी लडाकूका जवानहरुले निर्घात कुटपिट गरी घाइते बनाएका हुन्। मंगलबार राती भएको सो घटनापछि स्थानीयवासीले निर्दोष व्यतिलाइ कुटपिट गरेको भन्दै माओवादी लडाकू सवार गाडी ५ घन्टासम्म कव्जामा लिएका थिए। घाइतेहरुलाइ उपचार गरी दिने सहमतिपछि गाडी छाडिएको र घाइते युवाहरुको हाल विर्तामोडमा उपचार भइरहेको स्थानीयवासीले जनाएका छन्।

एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकका कार्यकर्ताबीच बुधबार दिउँसो परासीमा झडप भएको छ। परासीका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका महिला तथा बालबालिका राज्यमन्त्री रामबच्चन यादवलाई माओवादी कार्यकर्ताहरुले कालो झण्डा देखाउने क्रममा झडप भएको हो। राज्यमन्त्री बनेपछि पहिलो पटक आफनो गृह जिल्ला पुगेका राज्यमन्त्री यादवलाइ कालो झण्डा देखाउने क्रममा झडप भएको र पाँच जना माओवादी कार्यकर्ता घाइते भएको सो पार्टीले जनाएको छ।



अज्ञात रोगबाट १ सय जना भन्दा बढी बिरामी

जाजरकोटको पूर्वी भगवती गाउँ विकास समितिमा फैलिएको अज्ञात रोगबाट १ सय जना भन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य चौकीमा औषधि सकिनुका साथै स्वास्थ्यकर्मीहरुसमेत दशैं मान्न घरतिर गएकोले बिरामीहरुलाई अहिले मेडिकलबाट चर्को शुल्क तिरेर उपचार गर्नुपरेको छ । समयमै रोगको पहिचान र नियन्त्रण नभए छिमेकी गाउँ विकास समितिहरुमा समेत समेत फैलन सक्ने चिन्ताले पिरोलेको स्थानीय तेजबहादुर विकले बताए।

"प्रचण्ड माने मान्छन् नमाने मान्दैनन्"
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले राजनीतिक दलहरूभित्र अहिले देखिएको विभाजनले नयाँ संविधान बन्नेमा आशंका पैदा भएको बताउनुभएको छ। सभासद् पुरुषोत्तम बस्नेतले लेख्नुभएको कांग्रेसको इतिहासको प्रारूप नामक पुस्तकको मंगलबार विमोचन गर्दै सभापति कोइरालाले सबै पार्टीभित्रको विवादका कारण राजनीतिक समस्या झन् चुलिएको बताउनुभयो। दलहरूभित्रका विवादका कारण सृजना भएको राजनीतिक गतिरोध अन्त्यको समाधान उच्चस्तरीय राजनीतिक संयन्त्र भएको सभापति कोइरालाको भनाइ थियो। दलहरूका आन्तरिक तथा बाहय विवाद मिलाउन पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता रहेकोमा जोड दिँदै उहाँले पहिले पनि पार्टीबीचको अविश्वासलाई कम गर्न उच्चस्तरीय संयन्त्र निर्माण गरिएको स्मरण गर्नुभयो।
कोइरालाले संयन्त्र निर्माणबारे आफूले माओवादी अध्यक्ष प्रचण्डलगायत सबै दलसँग कुरा गरिसकेको बताउनुभयो। उहाँले भन्नुभयो- ‘यसबारे प्रचण्डलाई पनि कुरा गरेको छु, उनले माने मान्छन् नमाने मान्दैनन्।’
उहाँले दलहरूभित्र देखिएको विभाजनबारे अन्तर्राष्ट्रिय समुदायले समेत चासो व्यक्त गरेकोप्रति चिन्ता प्रकट गर्नुभयो। सभापति कोइरालाले उत्तर र दक्षिण मिलाएर संघको निर्माण गर्नुपर्ने बताउनुभयो।

उहाँले पूर्वपश्चिम मिलाएर मधेस बनाउने मधेसी दलहरूको भनाइप्रति लक्षित गर्दै भन्नुभयो- ‘मैले संघ बनाउँदा उत्तर दक्षिण मिलाएर बनाउनुपर्छ भनेर भारतसँग पनि कुरा गरिसकेको छु।’ यसैगरी उहाँले हिमाल, पहाड र तर्राई छुट्टाछुट्टै संघ बनाउनुपर्ने, यसो नभएमा देश टुक्राउनेसम्मको कुरा बाहिर आइरहेको प्रति असन्तुष्टि जनाउनुभयो। आफू जीवित रहँदासम्म नेपालको स्वाभिमानप्रति कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै कोइरालाले प्रजातन्त्र, संघीयता र गणतन्त्र, नेपालको मौलिक हुनुपर्नेमा जोड दिनुभयो। सरकार बेलायती वेस्टमिनिस्टरियल शैलीको हुनुपर्नेमा जोड दिँदै कोइरालाले पे्रसिडेन्सियल शैलीमा विश्वास नभएको प्रस्ट पार्नुभयो।



अविश्वासको प्रस्ताव दर्ता गर्ने ‘प्रचण्ड’ चेतावनी

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक सर्वोच्चतामा सहमति नबने सरकारविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्ने चेतावनी दिनुभएको छ। ‘नागरिक सर्वोच्चतामा सहमति नबने अविश्वासको प्रस्ताव दर्ता गर्नेबारेमा पार्टीमा छलफल भएको छ’, उहाँले भन्नुभयो- ‘अविश्वासको प्रस्ताव नागरिक सर्वोच्चता कायम गर्ने अर्को विकल्प हो।’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले सरकारका विरुद्धमा ल्याइने अविश्वासको प्रस्तावमा मधेसवादी दलको समूहसमेत आफ्नो पक्षमा भएको दाबी गर्नुभयो। पत्रकारले तपाईंहरूसँग आएका कुन समूह हुन् भनी सोधेको प्रश्नमा उहाँले त्यसबारेमा अहिले खुलासा गरे ती नेता फुत्कने बताउनुभयो। अविश्वासको प्रस्ताव दर्ता गराउने विषयमा पार्टीको केन्द्रीय बैठकमा छलफल भएको उहाँको भनाइ छ। तर, सहमति बन्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।

क्रान्तिकारी पत्रकार संघ तमुवान राज्य समितिले मंगलबार पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले असोज २१ गतेसम्म सहमति नबने सशक्त आन्दोलन गरिने पनि बताउनुभयो। यो सरकार अल्पमतमा परिसकेको दाबी गर्दै उहाँले राष्ट्रपतिको कदमविरुद्धको संकल्प प्रस्तावलाई संसद्मा छलफल गर्न नदिएको आरोप लगाउनुभयो। संसद्मा राष्ट्रपतिका विरुद्ध ल्याइने संकल्प प्रस्ताव आएमा सरकार नै ढल्ने भएकाले पनि माओवादीको प्रस्ताव ल्याउन अन्य दलले चलखेल गरेको दाबी उहाँको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक