20090917

माओवादीको घोडा चढ्लान गिरिजा ?

निश्चित छ कोइराला–प्रचण्डसँग लहसिए भने उनको ६० वर्षे प्रजातान्त्रिक छवि एकैपटक ध्वस्त हुनेछ
-सम्बोधन अगाडी लेख्छ :
भित्र सत्ता प्राप्तिको जलन र बाहिर नागरिक सर्वोच्चताको जलपसहित एकीकृत नेकपा माओवादी सरकार ढाल्न सक्रिय छ। तर दुनियाँकै दुर्लभ जात्रा के हो भने बन्दुकमाथि चढेर, बन्दुक सिरानी हालेर, न्यायालयमा समेत कमिटी प्रणाली लागू गर्ने सोच र प्रवृत्तिबाट मुक्त हुन नसकेको माओवादी नागरिक सर्वोच्चताको डंका पिटाउँदैछ। माओवादीले संसद चल्न नदिने भो यसको सोझो निचोड हो– ऊ विधिको शासन चाहँदैन। संविधानको सर्वोच्चता चाहँदैन र संसदीय प्रजातन्त्र मान्दैन। र, यतिबेला प्रचण्ड तीनमाना तेल बोकेर सुजाताको पीडामा गिरिजा कोइरालालाई तेल लगाउँदैछन्। के गिरिजा उग्रवामपन्थी घोडामा सवार हुन तयार छन्? उखान त छँदैछ मान्छे बूढो भए निहुँ खोज्छ गोरु बूढो भए भीर खोज्छ। निश्चित छ कोइराला–प्रचण्डसँग लहसिए भने उनको ६० वर्षे प्रजातान्त्रिक छवि एकैपटक ध्वस्त हुनेछ। माओवादी सडक घेर्दैछ– सत्ताका लागि सम्पूर्ण सत्ताका लागि। कोइरालालाई माओवादीले पुर्यानउने गन्तव्य भनेको कांग्रेस पार्टीको भविष्य नामेट नै हो। कोइरालाले छोरीलाई उपप्रधानमन्त्री बनाउन सक्लान् तर त्यसपछि कांग्रेस भन्ने पार्टी बढारिने निश्चित छ। कोइराला नरहे बाँस नबजे बाँसुरी पथमा हिंडेका हुन् भने त्यो कांग्रेस जानून्। तर उनले त्यसो गरे पनि वर्तमान गठबन्धन टुट्नेवाला छैन। माओवादीलाई बन्दुक छोडाउन सबैले साथ दिएका हुन् फेरि बन्दुके शासन गर्न कसैले साथ दिँदैन।
माओवादीले पनि बुझ्नुपर्ने हो– उसको उपयोगवाद सिद्धान्त उसका लागि मात्र प्रयोगमा आउँदैन। माओवादीलाई जंगलबाट निकालेर प्रजातान्त्रिक धारमा रुपान्तरित गर्न नै १२ बुँदे अरु के–के बुँदे सम्झौता भएका हुन् माओवादी पार्टीको दर्शन मुताविकको तानाशाही शासन चलाउन दिन उसलाई जंगलबाट दुनियाँले रेस्क्यू गरेको होइन। माओवादीका धम्की अब काम लाग्दैन या त ऊ आफ्नै दर्शनमा उभिएर सर्वनाशको बाटो समाउनुपर्छ या त उसले कार्यकर्तालाई निरन्तर क्रान्तिका जति पाठ घोकाए पनि ऊ प्रजातान्त्रिक प्रक्रियामा आएको प्रमाण दिनैपर्छ। जे गर्ने हो उसैले जान्ने कुरा भो, अरुको उपदेश काम लाग्दैन।
मंसिरसम्म माधव नेपालको सरकार ढाल्ने र फेरि सत्ताको भरेङ चढ्ने माओवादी सपना सफल हुँदैन। अब गिरिजाले चाहेर मात्र केही हुँदैन। माधव नेपाल सरकार असफल पारिए पनि विकल्प माओवादी नेतृत्व हुन सक्दैन। माओवादी शासनको युग अहिले होइन। र, प्रजातान्त्रिक नेपालमा अप्रजातान्त्रिक शासन चल्दैन। माओवादीले गर्ने आन्दोलन उसका ३० हजार होलटाइम्बर कार्यकर्तालाई दिने रोजगारी मात्र हुन्छ। त्यसले कुनै परिणाम ल्याउँदैन। हुनसक्छ केही दिन सडकमा टायर बल्लान्, काठमाडौंमा थप प्रदूषण होला, रेलिङ भाँचिएलान् र जनताले दुःख पाउलान्। माओवादी माधव नेपालको सरकारमा सामेल भए कसैले रोक्न खोजेको छैन, बरु सर्वत्र उसको स्वागत हुन्छ। र, माओवादीको विश्वसनीयता पनि बढ्छ अन्यथा माओवादीले पाउने भन्दा गुमाउने बढी हुने स्पष्ट छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक