20090907

प्रचन्डले ज्ञानेन्द्र लाई सम्झिन थालेपछि ..!!!

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजा नभएका कारण अहिले दलहरूबीच सहमति हुन नसकेको बताउनुभएको छ। आइतबार विराटनगरमा नेकपा (माओवादी) ले आयोजना गरेको सभामा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो- ‘पहिला ज्ञानेन्द्रले दलहरूलाई लात हान्थे र उनीहरू हामीसँग सहकार्यका लागि आउँथे तर अहिले लात हान्ने मान्छे नभएकै कारण सहमति हुन सकिरहेको छैन।’ उहाँले नागरिक सर्वोच्चता भनेको जनताको हातमा बन्दुक भएको परिभाषा दिँदै जनताको हातमा बन्दुक नफर्किएसम्म आन्दोलन जारी रहने बताउनुभयो। उहाँले भन्नुभयो- ‘जबसम्म जनताको हातमा बन्दुक हुँदैन तबसम्म लोकतन्त्र संस्थागत हुन सक्दैन।’

सेनालाई लोकतन्त्रीकरण गर्न खोज्दा पुराना सामन्ती सोच भएका केही दलाल र संसद्वादी दलले नदिएको बताउँदै प्रचण्डले सामन्ती विरासत तोड्न खोज्दा आफू सत्ताबाट बाहिरिनुपरेको बताउनुभयो। अहिलेको आन्दोलन ‘टे्रलरिङ’ मात्र भएको बताउँदै प्रचण्डले भन्नुभयो- ‘यो टे्रलरिङ मात्र हो, साँच्चैको आन्दोलन भएपछि यिनीहरूले थाहा पाउनेछन्।’ विदेशीसँग चाकडी गरेर र चोचोमोचो मिलाएर सरकारमा बस्न नचाहेकै कारण सत्ता छाडेको उल्लेख गर्दै प्रचण्डले विदेशी शक्तिसँग नझुक्ने बताउनुभयो।
अहिलेको सरकार दुर्घटना निम्त्याउनका लागि मात्र बनेको प्रचण्डले आरोप लगाउनुभयो। जनताले माओवादीलाई ड्राइभर, कांग्रेसलाई कन्डक्टर र एमालेलाई खलासीका रूपमा जिताएको बताउँदै उहाँले भन्नुभयो- ‘ड्राइभरलाई हटाएर खलासीले गाडी चलाउँदा देश कता जान्छ ?’ उहाले आफ्नो पार्टी सहमतिको पक्षमा रहे पनि पुराना संसद्वादी दलहरूको चेत नखुलेका कारण सहमतिका साथ मुलुक अघि बढ्न नसकेको बताउनुभयो। राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालप्रति आक्रामक हुनुभएका प्रचण्डले राष्ट्रपतिलाई गाली गर्दै भन्नुभयो- ‘भैंसी चराउने गोठाला भन्थे, साँच्चै उनको गोठालोभन्दा बढी बुद्धि रहेनछ।’-यज्ञ शर्मा/विक्रम लुइँटेल



रणवीर सेनाका सुपि्रमो

डिफेन्स आर्मीका प्रमुख पक्राउ



मोरङ प्रहरीले भूमिगत सशस्त्र संगठन रणवीर सेनाका सुपि्रमो बिनोद पाण्डेलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा मोरङ प्रहरीले आइतवार साँझ बिराटनगरबाट पाण्डेलाई पक्राउ गरेको हो। प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका पाण्डे विगत केही वर्षदेखि रणवीर सेनाका नाममा अपराधिक गतिविधिमा संग्लन छन्। रणवीर सेनाले पूर्वी तराईको झापा मोरङ सुनसरी र काठमाडौंमा अपराधिक गतिबीधि सँंगै चन्दा असुली फिरौती र विष्फोटनका घटना गर्दै आएका थिए।

अधिराज्यको माग गर्दै विभिन्न स्थानमा हिंसात्मक कार्यमा संलग्न रहेको आरोपमा झापामा पक्राउ परेका नेपाल डिफेन्स आर्मीका प्रमुख रामप्रसाद मैनालीलाई प्रहरीले आइतबार काठमाडौँ ल्याएको छ। चार जनाको ज्यान जाने गरी ललितपुरको एजम्सन चर्चमा भएको बम बिष्फोटको जिम्मा पनि यही समूहले लिएको थियो। प्रहरी स्रोतका अनुसार काठमाडौंका एकजना प्रहरी नायव उपरीक्षक(डीएसपी)को कमाण्डमा आठजना प्रहरी सम्मिलित स्पेसल टास्क फोर्सले मैनालीलाई पक्राउ गरेको हो।

डिफेन्स आर्मीका माग


१. हिन्दू अधिराज्य नेपाल घोषणा गरी विश्वका डेढ अर्ब हिन्दूको पवित्र ग्रन्थ मानिने गीतालाई राष्ट्रिय पुस्तक घोषणा गर ।

२. विदेशी चलखेलमा डलरमा बिकेका नैतिकतालाई बलात्कार गर्ने राष्ट्रघातीहरूद्वारा जबर्जस्ती धर्मनिरपेक्ष बनाएको नेपाललाई संविधानसभाको निर्वाचन गर्नुअघि विश्वको एकमात्र हिन्दूराष्ट्र नेपाल हुनुपर्छ वा पर्दैन भनी सम्पूर्ण नेपाली जनताबीच निष्पक्ष जनमतसंग्रह गर ।

३. हिन्दूहरूको धर्मग्रन्थअनुसार कृष्णजन्माष्टमी, शिवरात्रि, औंसी, पूणिर्मा, रामनवमी, एकादशी आदि जस्ता पर्वमा निर्दोष पशुपक्षीहरूको निर्मम हत्या गर्ने र हिन्दू परम्परा, संस्कृति र संस्कारमाथि अलिकति पनि आँच आउने जुनसुकै कुकार्य बन्द गर ।

४. बुद्धलगायतका अन्य विभूतिहरूका विचारहरूलाई समेटेर मात्र नयाँ संविधान निर्माण गर ।

५. जुनसकै धर्म, सम्प्रदाय, जातजाति, भाषाभाषीका नागरिकहरूले दुईभन्दा बढी सन्तान जन्माउन प्रतिबन्ध गरी कडा कानुन कार्यान्वयन गर ।

६. माओवादी युद्धकालमा जबर्जस्ती नोकरी छाड्न बाध्य बनाइएका सेना, प्रहरीलगायत विभिन्न पेसा, क्षेत्रका कर्मचारीहरूलाई तुरुन्त निःसर्त बहाली गर ।

७. विभिन्न व्यक्ति, दल र समूहद्वारा कब्जा गरिएका चल-अचल सम्पत्तिहरू तुरुन्त फिर्ता गर ।

८. जनआन्दोलन (भाग १, २) र मधेसी अधिकार आन्दोलनमा दिवंगत भएका व्यक्तिलाई क्षतिपूर्तिसहित सहिद घोषणा गर । साथै घाइते र मृतकका परिवारलाई उचित स्वास्थ्योपचारका साथै उच्च शिक्षाको ग्यारेन्टी गर ।

९. भाषाभाषी, जातजाति, मधेसी-पहाडीको नाममा राज्यलाई विखण्डन गर्न खोज्ने षड्यन्त्रकारीहरूलाई देश निकाला गर ।

१०. जातीय भेदभाव अन्त्य गरी कारबाही गर्न नमिल्ने भनिएका भ्रष्ट नेताहरूलाई कडा कारबाही गर्ने कानुन बनाई तुरुन्त कारबाही गर्दै तिनीहरूले विदेशमा राखेका सम्पूर्ण सम्पत्ति ल्याई राष्ट्र निर्माणमा खर्च गर ।

११. व्यक्तिगत तथा दलगत स्वार्थको मात्र राजनीति गर्ने र नेपाली जनतालाई सधैंभरि गुमराहमा राखेर भेडाबोका बनाउने प्रथाको तुरुन्तै अन्त्य गरी प्रत्येक नेपाली जनतालाई गाँस, बास र कपासको ग्यारेन्टी गर ।

१२. निर्दोष व्यक्तिलाई पैसा र पावरको भरमा दोषी बनाई कैदीजीवन बिताउन बाध्य बनाइएका सम्पूर्ण बन्दीलाई तुरुन्त रिहा गर ।

१३. परजीवी नहुन, श्रमको सम्मान गर्न र आत्मनिर्भर भई सक्षम बन्न प्रत्येक नेपाली नागरिकले अनिवार्य रूपमा दिनको १८ घन्टा काम गर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर ।

१४. सम्पूर्ण शिक्षा प्रणाली तुरुन्त खारेज गरी शिक्षित र सक्षम नेपाली नागरिक उत्पादन गर्न व्यावसायिक, उत्पादनमूलक, व्यवहारमुखी र वैज्ञानिकीकरणजस्ता शिक्षाका पाठ्यक्रमहरू निमावि तहदेखि नै लागू गर ।

१५. पीत पत्रकारिता बन्द गराई योग्य, सक्षम र इमान्दार पत्रकारहरूको जीउधनको सुरक्षा र सम्मान गर ।

१६. विकासको नाममा जनतालाई दास बनाउने भ्रष्ट कानुनहरूलाई खारेज गर ।

१७. विभिन्न समूहद्वारा मच्चाइएको हत्या, अपहरण, धम्की, गुण्डागर्दी, जबर्जस्ती घरजग्गा कब्जा गर्ने कार्य तुरुन्त बन्द गरी सम्पूर्ण उद्योगपति, व्यापारी, पेसाकर्मी, किसानहरूको कार्य-व्यवसायहरू आनन्द, शान्तिपूर्वक सञ्चालन गर्ने र बाँच्न पाउने अधिकार सुनिश्चित गर ।

१८. 'सगरमाथा'लाई सस्तो बनाउने कार्य तुरुन्त बन्द गरी प्राकृतिक सम्पदा र संस्कृतिको संरक्षण गर ।

१९. 'तराई'लाई औद्योगिक र कृषि क्षेत्र, 'पहाड'लाई आवास क्षेत्र, 'हिमाल र धार्मिक स्थल'हरूलाई पर्यटकीय क्षेत्र घोषणा गरी अनिवार्य कार्यान्वयन गर ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक