20090904

आफूखुसी प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै कोइराला आक्रोशित

आफूसँग कुनै सल्लाह नगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आपत्ति जनाउनुभएको छ। सरकारको मुख्य घटक काङ्ग्रेस र आफूसँग कुनै परामर्श र सल्लाह नगरी आफूखुसी प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै कोइराला आक्रोशित हुनभएको हो। बुधबार साँझ भएको मन्त्रिपरिषद्को विस्तारसँगै आक्रोशित कोइराला तीनदिने बसाइ छोट्याएर बिहीबार नै अचानक राजधानी फर्कनुभएको छ। बुधबार साँझ विराटनगर आइपुग्नुभएका कोइराला शुक्रबारसम्म विराटनगर बस्ने कार्यक्रम थियो। प्रधानमन्त्रीसँग आक्रोशित कोइराला मन्त्रिपरिषद्को विस्तारपछि अकस्मात् राजधानी फर्कनुभएको काङ्ग्रेस स्रोतले जनाएको छ। विराटनगरका सबै भेटघाटलाई स्थगन गरेर फर्कनुभएका कोइरालाले त्यसअघि कार्यकर्तासँग कुरा गर्दै विस्तारित मन्त्रिपरिषद् र राजदूत सिफारिसप्रति आपत्ति जनाएको मोरङ काङ्ग्रेस स्रोतले जनाएको छ। मन्त्रीहरुको सपथ कार्यक्रममा काङ्ग्रेसका मन्त्री सहभागी भएका थिएनन्। प्रधानमन्त्रीले आफूखुसी मन्त्रिपरिषद् विस्तार गरेर सहमति, सहकार्य र एकता तोडेको भन्दै कोइरालाले सरकारको आयुबारे समेत प्रश्न उठाउनुभएको छ। सरकारको आयु प्रधानमन्त्रीको कार्यशैलीमा भरपर्ने भन्दै कोइरालाले सरकारले सही काम गरेमात्र पुरा अवधि टिक्ने बताउनुभयो। सहमति र सहकार्यविना मुलुक नचल्ने भन्दै उहाँले त्यसको पालना गर्न आग्रहसमेत गर्नुभएको थियो। कोइरालाको आक्रोशको मोरङ काङ्ग्रेसले समेत पुष्टि गरेको छ। गिरिजाबाबुको शुक्रबार बिहान काठमाडौँ जाने कार्यक्रम थियो तर उहाँ अचानक हिँड्नु भो–काङ्ग्रेसका मोरङ सभापति अमृत अर्यालले भन्नुभयो।
अरू समयभन्दा उहाँ अलि बढी गम्भीर र आक्रोशित देखिनुभएको जानकारी उहाँले दिनुभयो। कोइराला निवास स्रोतले कडा आक्रोशमा देखिनुभएका सभापति कोइराला प्रधानमन्त्रीले आफूखुसी चल्न खोजेको भन्दै तनावमा रहनुभएको जनाएको छ।
बिहीबार बिहान पार्टीका नेता कार्यकर्ता, उद्योगी, व्यापारी, सुरक्षा अधिकारी र सर्वसाधारणसित भेट्ने कार्यक्रम कोइरालाको भए पनि तनावकै कारण कसैसँग भेट नगरेको स्रोतले जनाएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक