20090902

मन्त्रीहरुद्वारा हिन्दीमा शपथ, जीबन जल नपाएर झाडा पखालाले चार सय जनता मर्ने देशमा ४२ सदस्सीय माकुने सरकार !!!

लुट नेताहरु हो लुट, भोका नाँगा नेपाली जनतालाई,अझ कती लुट्न सक्छौ ?

बुधबार छैटौं पटक मन्त्रिमण्डल विस्तार भएको छ। मन्त्रिमण्डलमा २ मन्त्री, ६ राज्यमन्त्री र १ सहायक मन्त्री सहित ९ जना थपिएका छन्। अब मन्त्रीमण्डल ४२ सदस्यीय भएको छ। मन्त्रिपरिषद विस्तारमा तराई मधेश लोकतान्त्रिक पार्टीका मन्त्री थपिएका छैनन्। नवनियुक्त मन्त्रीहरुमा सदभावना पार्टीका लक्ष्मणलाल कर्ण- विना विभागीय र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का सर्वदेव ओझा-महिला, बालबालिका तथा समाज कल्याण छन्। थपिने राज्यमन्त्रीहरूमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का करिमा बेगम (कृषि तथा सहकारी), शत्रुघ्नप्रसाद सिंह कोइरी (पर्यटन तथा नागरिक उड्डयन), सञ्जयकुमार साह (भौतिक योजना तथा निर्माण) र रामवचन अहिर यादव (महिला, बालबालिका तथा समाज कल्याण) छन्। राष्ट्रिय जनशक्ति पार्टीका इन्द्रप्रसाद ढुङ्गेललाई (विज्ञान तथा प्रविधि राज्यमन्त्री) र सद्‌भावना पार्टीका सरोजकुमार यादवलाई (वाणिज्य तथा आपूर्ति राज्यमन्त्री) बनाइएको छ। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का कलावतीदेवी दुसाधलाई (भौतिक योजना तथा निर्माण सहायक मन्त्री) को जिम्मेवारी दिइएको छ। कसलाई मन्त्री बनाउने भन्ने कुराको टुंगो नलाग्दा तराई मधेस लोकतान्त्रिक पार्टीले भने बुधबार मध्यान्हसम्म पठाएको थिएन। प्रधानमन्त्री माधवकुमार नेपालले तीन मधेशी दलका ११ र जनशक्तिका १ जना गरी १२ सदस्य थपेर बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए। तर अन्तिम समयसम्म तमलोपाका तर्फबाट मन्त्रीको सूचि नपाए पछि मन्त्रिमण्डल पुनर्गठन गरिएको हो।

जेठ ११ मा प्रधानमन्त्री भएका नेपालले छैटौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। विस्तारपछि मन्त्रिपरिषद् ४२ सदस्यीय भएको छ। यसअघि मन्त्रिपरिषद् ३३ सदस्यीय थियो। यो मन्त्रिपरिषद् २०५२ सालको शेरबहादुर देउवा सरकारपछिको जम्बो हो। नेपालले यसअघि जेठ २१, असार ३, असार १०, असार १९ र साउन १४ मा मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्।
मन्त्रिपरिषद् थप विस्तार हुन सक्ने फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उप प्रधानमन्त्री विजयकुमार गच्छदारले बताए। उनले २२ दलको गठवन्धनका सरकार भएकाले प्रधानमन्त्री नेपालले फेरि पनि मन्त्रिपरिषद विस्तार गर्नुपर्ने बताए।

राति करिब १२ बजेतिर १३ जना बेपत्ता

खोटाङको जलेश्वरी-२ मा गएको पहिरोमा परी १३ जना बेपत्ता भएका छन्। जिल्ला सदरमुकाम दिक्तेलदेखि करिब १६ कोस टाढा रहको जलेश्वरी-२ सिम्लेमा सोमबार राति करिब १२ बजेतिर घरमाथिबाट गएको पहिरोमा परी दुई घर पुरिँदा रणध्वज कार्की र पूर्णबहादुर कार्कीका सम्पूर्ण परिवार र एक पाहुनासहित १३ जना बेपत्तँ भएका हुन्। पहिरोमा परी बेपत्ता हुनेहरूमा ६६ वर्षीय रणध्वज कार्की, उनकी श्रीमती ५८ वषीर्या मिठुमाया कार्की, उनकी ४० वषीर्या छोरी राममाया कार्की (घिमिरे), राममायाकी डेढ वषीर्या छोरी कुमारी घिमिरे र नाम खुल्न नसकेका एक जना पाहुना रहेको प्रहरीले जनाएको छ। त्यस्तै अर्का घरका ३४ वर्षीय पूर्णबहादुर कार्की, उनकी २६ वषीर्या गर्भवती श्रीमती शोभा कार्की र उनका छोराहरू ९ वर्षीय रुद्रबहादुर कार्की, ६ वर्षीय मानबहादुर कार्की र तीन वर्षीय हरिबहादुर कार्की रहेका छन्। तीन घर मात्र बस्ती रहेको सिम्लेमा राति करिब १ हजार मिटर माथिबाट झरेको पहिरोले स्थानीय लवबहादुर राईको घर लगे पनि कोही पनि घरमा नभएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनँएको छ।


माओवादीसँग मिलेर गिरिजा बाबुनै

माधव नेपाल सरकारलाई

ढाल्ने अभियानमा


राजनीतिबाट विश्राम लिने तयारीमा रहनुभएको भनी पछिल्लो समय चर्चामा आउनुभएका काङ्गे्रससभापति गिरिजाप्रसाद कोइराला गुमेको शक्ति पुनः प्राप्त गर्न भित्रभित्रै सक्रिय हुन थाल्नुभएको छ। काङ्गे्रस संसदीय दलको नेतामा शेरबहादुर देउवालाई विजयी बनाउन नसकेपछि खिन्न हुनुभएका सभापति कोइराला पछिल्ला दिनमा पार्टीभित्र आफूलाई टेर्न छाडेको र अपमानित हुँदै गएको ठान्दै हुनुहुन्छ। सुपुत्री सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउन गरिएको प्रयास तत्काल सफल नभएपछि उहाँ आफ्नै पार्टीका नेता र प्रधानमन्त्री माधवकुमार नेपालसँग थप क्रूद्ध हुनुभएको छ। कोइरालाले आफ्ना अति निकटवर्तीहरूसँग वर्तमान सरकारलाई चाँडोभन्दा चाँडो ढाल्नका लागि पहल गर्नुपर्ने बताउन थाल्नुभएको छ। माधव नेपाललाई आफूले प्रधानमन्त्री बनाएको तर 'उसले' आफूले भनेको टेर्न छोडेको पीडा पनि कोइरालाले पोख्ने गर्नुभएको छ। उहाँले आगामी एक महिनाभित्र सरकार ढाल्न आफू सक्रिय रहेको सङ्केत माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ पक्षलाई पनि दिइसक्नुभएको बुझिएको छ। कोइराला आफूलाई भारतले सहयोग नगरेको ठान्नुहुन्छ र भारतबाट सहयोग एवम् समर्थन प्राप्त गर्न पनि ब्यग्र हुनुहुन्छ। यस क्रममा उहाँले भारतीय पक्ष र माओवादी नेतृत्व दुवैसँग कुराकानी गर्न र आफ्नो पक्षमा वातावरण बनाउन माओवादीका पुराना हितैषीका रूपमा चिनिने झापाका कृष्णप्रसाद सिटौलालाई अह्राउनुभएको छ। सिटौला यतिबेला माधव नेपाल सरकारविरुद्ध वातावरण बनाउन भित्रभित्रै क्रियाशील भइसकेका छन्।
पदबिनाको राजनीति गर्न नरुचाउनुहुने गिरिजाप्रसाद कोइरालामा विद्यमान असन्तुष्टि हेर्दा उहाँले आगामी केही दिनभित्रै प्रधानमन्त्री पदबाट माधव नेपालको राजीनामा माग्नुभयो या सरकारविरुद्ध सार्वजनिक रूपमै प्रकट हुनुभयो भने कुनै आश्चर्य हुनेछैन। चीनतर्फको समर्थन प्राप्त भए पनि भारतको समर्थन जुटाउन नसकेका कारणले मात्र उहाँ सरकारविरुद्ध प्रकट रूपमै उत्रन केही हच्किनुभएको हो। सरकारले सय दिन पार गरेपछि भने उहाँले धैर्य नगर्नुहुने देखिएको छ।
माधव नेपाल सरकारलाई असफल पार्ने खेल गिरिजाप्रसाद कोइरालाले सुरु गरिसक्नुभएको छ। नेपाललाई सरकारबाट विस्थापित गर्दा पार्टीभित्र सुशील–रामचन्द्रलगायत आफ्नाविरुद्ध क्रियाशील नेताहरूका साथै मित्रराष्ट्र भारतलाई समेत 'सबक' हुनसक्ने विश्वास नेता कोइरालाले लिनुभएको बताइन्छ। प्रधानमन्त्री नेपालविरुद्धको खेल खेल्ने क्रममा कोइरालाले आफ्ना मानिसहरूलाई परिचालन मात्र गर्नुभएको छैन एउटै विषयमा दोहोरो भूमिका निर्वाह गरेर माधव नेपाललाई कायल पार्ने प्रयास पनि गरिरहनुभएको छ। कोइराला एकतिर प्रधानमन्त्री माओवादीप्रति ज्यादा नरम र उदार भएको भनी कठोर टिप्पणीयुक्त आलोचना गर्ने गर्नुहुन्छ, अर्कोतिर त्यही माओवादीसँग भित्रभित्रै सन्तुलन र साँठगाँठ मिलाउने प्रपञ्च पनि गर्दै हुनुहुन्छ। माधव नेपाललाई माओवादीसँग निकट हुन नदिन कोइरालाले प्रयास
गर्नुको कारण सैद्धान्तिक तथा राजनीतिकभन्दा पनि कोइरालाको आफ्नै राजनीतिक स्वार्थका कारणले मात्र हो कि भन्ने आशङ्का पैदा गराएको छ। त्यसैगरी सभापति कोइरालाले उपराष्ट्रपति प्रकरणमा पनि दोहोरो भूमिका निर्वाह गर्नुभएको ठानिएको छ। उहाँ एकतिर अदालतको आदेश कार्यान्वयन गराउन दबाब सिर्जना गर्दै हुनुहुन्थ्यो भने अर्कोतर्फ मधेसवादी भनिने दलहरूलाई आफ्नो विश्वासमा लिन पनि उहाँले अनेक कसरत गरिरहनुभएको छ। मधेसवादी दलहरूलाई कोइरालाले प्रधानमन्त्रीका कारण यसप्रकारको (उपराष्ट्रपति) प्रकरण भएको भनी बताउनुभएको मात्र छैन, उहाँले मधेसवादीको माग र भावनामा आफ्नो सहमति रहेको पनि स्पष्ट गरिदिनुभएको छ। उहाँको दोहोरो भूमिका नभइदिएको भए प्रधानमन्त्रीलाई 'नेपालीमा शपथ गराउनैपर्छ' भन्ने र मधेसवादीहरूसँगचाहिँ उनीहरूकै माग र धारणामा आफ्नो सहमति रहेको बताउनुहुने थिएन भन्ने विश्लेषकहरूको भनाइ छ। यसरी मधेसवादी र माओवादीको सहानुभूति प्राप्त गर्ने सक्रिय भूमिकामा देखापर्नु र प्रधानमन्त्री नेपालको आलोचनामा बढी समय खर्च गर्न थाल्नुले कोइराला भविष्यमा कस्तो प्रकारको समीकरण बनाउन चाहनुहुन्छ भन्ने सङ्केत गरेको छ। तर, उहाँले चाहेकै आधारमा चाहेजस्तो समीकरण बन्ने वस्तुगत परिस्थिति भने छैन। वस्तुगत परिस्थिति वर्तमान सत्तासमीकरण र माधव नेपालकै पक्षमा देखिएको छ। काङ्गे्रसभित्र समेत कोइरालाले आफ्नो नियन्त्रण गुमाइसक्नुभएको छ भने कोइराला र देउवाबाहेक सबै नेता तथा कार्यकर्ताहरू माओवादीविरुद्ध विद्यमान सत्ता गठबन्धनलाई नै सुदृढ तुल्याएर अघि बढ्नुपर्छ भन्ने पक्षमा छन्। कुनै कारणवश कोइरालाले विद्यमान समीकरणलाई उल्टाउन तत्काल प्रयास गर्नुभयो भने त्यसले गम्भीर उथलपुथल र दुर्घटना निम्त्याउन सक्ने सम्भावना प्रबल छ।

प्रचन्ड गिरिजा माधव नेपालहरु

संबिधान को यसरी धज्जी उडाउदैछन


नेपालको अन्तरिम संविधान, २०६३ को भाग ७, धारा ६७ को उपधारा : 'ग’ मा स्पष्ट व्यवस्था छ 'सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा संविधानसभाका सदस्यको स्थान रिक्त भएको मानिनेछ ।’ संविधानको यो व्यवस्थाअनुसार सबै प्रमुख दलका सबैजसो ठूला नेता संविधानसभा सदस्यबाट मुक्त हुने भएका छन् ।

माधव नेपाल लगातार ३१ बैठकमा, प्रचण्ड ५० बैठकमा, गिरिजाप्रसाद कोइराला ५७ बैठकमा, झलनाथ खनाल ३१ बैठकमा, विजयकुमार गच्छदार २४ बैठकमा, उपेन्द्र यादव १८ बैठकमा, महन्थ ठाकुर २२ बैठकमा, राजेन्द्र महतो २२ बैठकमा, शेरबहादुर देउवा ४८ बैठकमा, डा . बाबुराम भट्टराई २१ बैठकमा, रामबहादुर थापा 'बादल' २० बैठकमा अनुपस्थित


नयाँ नेपालको नयाँ संविधान लेख्न भन्दै जनताबाट निर्वाचित ठूला दलका ठूला नेता बैठकमा लगातार अनुपस्थित भएका कारण संविधानसभा सदस्यबाट पदमुक्त हुने भएका छन् । सभाध्यक्ष सुवास नेम्वाङले लगातार ध्यानाकर्षण गराउँदा पनि नेताहरूले बेवास्ता गरेकाले संविधानतः ठूला नेताहरूको सभासद् पद खारेज हुने भएको हो । नेपालको अन्तरिम संविधान, २०६३ को भाग सात, धारा ६७ को 'ग' मा स्पष्ट लेखिएको छ, 'सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएका सदस्यको पद रिक्त भएको मानिनेछ ।'अन्तरिम संविधान बनाउने नेताहरू नै लगातार अनुपस्थित भएर संविधानको खिल्ली मात्र उडाएका छैनन्, आफ्नै पद पनि गुमाउने अवस्था निम्त्याएका छन् । प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, सद्भावना अध्यक्ष्ा राजेन्द्र महतोको संविधानसभा सदस्यता संविधानतः खारेज भइसकेको छ ।

संविधानअनुसार कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई र महासचिव रामबहादुर थापा बादल पनि अब सभासद् छैनन् । संवैधानिक व्यवस्थाअनुसार 'सभालाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित भएमा' सभासद्को पद रिक्त हुनेछ । संविधानसभा सचिवालय स्रोतका अनुसार कुनै पनि ठूला नेताले बैठकमा आफू अनुपस्थित हुने पूर्वसूचना सचिवालयलाई गराएका छैनन् । बरु सभाध्यक्ष नेम्वाङले संवैधानिक व्यवस्थाबारे पटक-पटक सचेत गराउँदा पनि नेताहरूले वास्ता नगरेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार ठूला नेताहरूको संविधानसभा सदस्यता नै खारेज हुँदै छ भनेर सभाध्यक्षले संसदीय दलहरूमार्फत सबै नेतालाई चेतावनी दिएका थिए । 'अध्यक्षज्यूले हाम्रैअगाडि पनि धेरैपटक भन्नुभएको छ । तर, नेताहरूले वास्तै गर्नुभएन,' संविधानसभाका एक अधिकारीले नयाँ पत्रिकासित भने । सचिवालय यसबारे औपचारिक रूपमा बोल्नै चाहँदैन । 'त्यो स्तरका नेताहरूको कुरा छ, कसरी बोल्ने ? तर, कुनै पनि नेताहरूले सचिवालयलाई अनुपस्थितिबारे पूर्वजानकारी गराएका छैनन्,' संविधानसभा सचिवालयका एक अधिकारीले भने । सचिवालयले राख्ने सभासद्हरूको हाजिरी रेकर्डअनुसार कांग्रेस सभापति कोइराला संविधानसभाको एउटै बैठकमा पनि उपस्थित छैनन् जब कि अहिलेसम्म ५७ वटा बैठक बसिसकेका छन् । उनले सचिवालयलाई अनुपस्थित हुने जानकारी पनि गराएका छैनन् । सभापति कोइराला तीनवटा बैठकमा भने उपस्थित थिए । तर पनि उनले सचिवालयको हाजिरी पुस्तिकामा हस्ताक्षर गर्ने 'कष्ट' गरेनन् । त्यस्तै, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा दुईवटा बैठकमा मात्रै उपस्थित छन् । सचिवालयको हाजिरी रेकर्डअनुसार पहिलो बैठक र गत वर्षकै ९ साउनमा बसेको नवौं बैठकमा मात्रै देउवाको उपस्थिति देखिन्छ । बाँकी ५५ बैठकमा उनी गयल छन् । माओवादी अध्यक्ष प्रचण्ड अहिलेसम्म चार बैठकमा मात्रै उपस्थित छन् । सचिवालयको रेकर्डअनुसार प्रचण्ड गत वर्षको १५ जेठमा बसेको संविधानसभाको पहिलो र २९ जेठमा बसेको तेस्रो बैठकमा उपस्थित थिए । त्यसपछि उनी गत वर्षकै ६ साउनमा बसेको सातौं बैठकमा उपस्थित भए । गत वर्षको ८ साउनदेखि यस वर्षको ३२ साउनसम्मका ५० वटा बैठकमा उनी लगातार अनुपस्थित छन् । गत वर्षको २६ पुसमा मन्त्रिपरिषद्बाट सभासद्मा मनोनीत भएका प्रधानमन्त्री माधवकुमार नेपाल संविधानसभाका ३ वटा बैठकमा मात्रै उपस्थित भएका छन् । २४ जेठमा बसेको ३५औं बैठकयताका २२ बैठकमा उनी लगातार अनुपस्थित छन् । एमाले अध्यक्ष झलनाथ खनाल संविधानसभाका ५७ बैठकमध्ये १३ बैठकमा मात्रै उपस्थित भएका छन् । उनी गत वर्षको ३१ चैतमा बसेको २६औं बैठकमा अन्तिमपटक उपस्थित भएका थिए । त्यसयताका ३१ बैठकमा उनी लगातार अनुपस्थित छन् ।

उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार गत २१ जेठयताका कुनै पनि बैठकमा उपस्थित छैनन् । त्यसयता संविधानसभाका २४ बैठक बसेका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर २२ बैठकमा लगातार अनुपस्थित भएका छन् । गत वर्षको २६ पुसदेखि यस वर्षको १२ असारसम्म बसेका बैठकमा उनी गयल छन् । संविधानसभा चुनावमा सर्लाही क्षेत्र नम्बर ६ बाट चुनाव हारेका ठाकुरलाई मन्त्रिपरिषद्ले गत वर्षको २५ असारमा सभासद्मा मनोनीत गरेको थियो । गत वर्षको ४ साउनमा बसेको सातौं बैठकबाट संविधानसभामा उपस्थित हुन थालेका उनी अहिलेसम्म १५ बैठकमा मात्रै हाजिर छन् । फोरम अध्यक्ष उपेन्द्र यादव १८ वटा बैठकमा लगातार अनुपस्थित भएका छन् । सचिवालयको रेकर्डअनुसार गत वर्षको २६ पुसदेखि यस वर्षको २७ जेठसम्म बसेका कुनै पनि बैठकमा उनी हाजिर छैनन् । उनी अहिलेसम्म संविधानसभाका १२ वटा बैठकमा मात्रै उपस्थित देखिन्छन् ।

सद्भावना अध्यक्ष तथा आपूर्तिमन्त्री राजेन्द्र महतो अहिलेसम्म १० वटा बैठकमा मात्रै उपस्थित छन् । गत वर्षको १४ पुसदेखि यस वर्षको ८ असारसम्म उनी लगातार २२ बैठकमा गयल छन् । ११ असारको बैठकमा उनी उपस्थित थिए । तर, त्यसयताका १६ बैठकमा उनी फेरि लगातार अनुपस्थित भएका छन् । माओवादी उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री डा. भट्टराई पनि लगातार २२ बैठकमा अनुपस्थित छन् । सचिवालयको हाजिरी रेकर्डअनुसार उनी गत वर्षको २५ कात्तिकदेखि यस वर्षको १९ जेठसम्मका सबै बैठकमा गयल छन् । त्यस्तै, माओवादी महासचिव रामबहादुर थापा बादल अहिलेसम्म ७ वटा बैठकमा मात्रै हाजिर भएका छन् । गत वर्षको ८ साउनदेखि यस वर्षको १६ वैशाखसम्मका २० बैठकमा उनी लगातार गयल छन् । त्यसपछि पाँचवटा बैठकमा उपस्थित बादल १ साउनदेखि ३२ साउनसम्मका ११ बैठकमा फेरि लगातार अनुपस्थित छन् । संविधानसभा सचिवालय स्रोतका अनुसार अन्य दर्जन नेताको पनि अनुपस्थितिका कारण सदस्यता खारेज हुन्छ । -खगेन्द्र पन्त/नयाँ पत्रिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक