20090831

के गर्दै छन पूर्व राजा ज्ञानेन्द्र शाह नागार्जुनको एकान्तमा ??

नेपालमा राजतन्त्रको जरो उखेल्ने राजनीतिक दलहरु मुठभेडको तयारीमा जुटेका बेला शाहवंशीय राजतन्त्रका जीवित नेता पूर्वराजा ज्ञानेन्द्र शाह भने नागार्जुनको एकान्तमा प्रसन्न मुद्रामा भेटिएका छन्। यसै साता पूर्वराजालाई भेट्न पुगेका एक टेलिभिजन पत्रकार तथा केही गैरआवासीय नेपालीहरुसँगको भेटमा पूर्वराजाले आफ्नो प्रसन्नता लुकाउन नसकेको चर्चा अहिले व्यापारिक घरानाहरुमा समेत चलेको छ। पूर्वराजा ज्ञानेन्द्र शाह आफूलाई जनताले बोलाउने आशा सँगालेर बसेको उनलाई भेट्नेहरुले बताएका छन्। संविधानसभाको निर्णयलाई स्वीकार गर्दै विना रक्तपात राजगद्दी त्यागेर शान्तिपूर्ण रुपमा नागरिक जीवनमा फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक वर्ष मौन रहेका थिए। आफन्तको बिहेमा भाग लिन नयाँदिल्ली जाँदासमेत उनले 'जनताले जे चाहन्छन्, म त्यही गर्छु' भन्ने जवाफ दिएपछि ज्ञानेन्द्र शाहतिर सबैको ध्यान आकर्षित भएको थियो। यसबीचमा उनले केही वरिष्ठ पत्रकार, नेता, कुटनीतिज्ञ तथा कतिपयबुुद्धिजीवीहरुलाई पनि भेटेर अहिलेको अवस्थाप्रति असन्तुष्टिमात्र जनाएनन्, नेपाल साम्प्रदायिक विखण्डनको सँघारमा पुगेको टिप्पणीसमेत गरे।
पूर्वराजा ज्ञानेन्द्रले करिब अढाई सय वर्ष लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य गरिँदासमेत कुनै प्रतिवाद नगरी जनताको निर्णय स्वीकार गर्छु भन्दै नारायणहिटीबाट हाँसी–हाँसी बिदा लिएका थिए। उनले श्रीपेचलाई नेपाली जनताको नासो र शाहवंशको इतिहास हो भन्दै त्यसको संरक्षणका लागि नेपाल सरकारको विशेष ध्यानाकर्षण पनि गरेका थिए। धेरै मानिसले श्रीपेचप्रतिको मोहलाई त्यति धेरै महत्त्व दिएनन्, तर प्रकारान्तरले पूर्वराजा पुनः जनताले आफूलाई बोलाएमा तयार छु भन्ने तहमा पुगेको सन्देश प्रवाह गर्न थालेका छन्। जसरी पृथ्वीनारायण शाहसँग पराजित भएपछि तत्कालीन मल्ल राजाले छाता र जुत्ता मागेका थिए। त्यसैगरी ज्ञानेन्द्रले राजगद्दी त्याग्ने बेला श्रीपेचको सुरक्षामा चासो दिएको अर्थमा पनि इतिहासविद्हरुले चर्चा गरेका छन्।
विशेषतः पूर्वराजा ज्ञानेन्द्र गत असार २३ गतेको आफ्नो ६३औं जन्मदिनका अवसरमा देखिएको सर्वसाधारणको भीड र बुद्धिजीवी तथा पत्रकारहरुबाट समेत आफूले पाएको सद्भावबाट हौसिएको स्रोतको दाबी छ। त्यसयता पनि उनले केही विदेशी मिडियालाई आफू कुनै पनि बेला जनताले चाहेको खण्डमा पुनः शक्तिमा आउन सक्ने आशयको अन्तर्वार्ता दिइसकेका छन्। हालै पनि नेपाली मिडियाका केही पत्रकार तथा मालिकहरुसँगको अलग–अलग भेटमा 'जुन अपेक्षाका साथ मैले संविधानसभाको निर्णय मान्दै गद्दी त्यागेको थिएँ तर जनताले आज दलहरुबाट धोका पाएका छन्। देशको आकार खुम्चिने खतरा देखिएको छ' भन्दै आफूमाथि जनताबाट दबाब आइरहेको बताएका छन्। त्यतिमात्र होइन, हालै केही व्यक्तिहरुसँगको भेटमा उनले जनताले बोलाएमा आफूलाई नागार्जुनबाट तल झर्न समय नलाग्ने खालको कूटनीतिक जवाफ दिएको भेटमा सहभागी एक पत्रकारले बताए। पूर्वराजा ज्ञानेन्द्रले आफू पुनः जनताको आग्रहअनुसार अगाडि आउने स्पष्ट संकेत गरिसकेका छन्। तर श्रीपेचसहित आउने वा कुनै दलको झन्डा बोकेर आउने भन्नेबारेमा उनी निर्णयमा पुगेका छैनन्। किनकि, उनलाई समर्थन गर्ने भित्री र बाहिरी शक्तिले अहिलेसम्म उनलाई कुनै स्पष्ट सल्लाह नदिएको जानकारहरु बताउँछन्। त्यसैले उनी अझै पर्खेर हेर्ने मनःस्थितिमा रहेको उनलाई भेटेर फर्केकाहरु बताउँछन्। पूर्वराजा अहिलेको अवस्थाबाट भलिभाँती जानकारमात्र छैनन्, यसले ल्याउने परिणामको बारेमा पनि विज्ञ छन्। गणतन्त्र ल्याउने दलहरु मुठभेडका दिशामा जाँदा उनी खुसी हुनु स्वाभाविक हो, तर संघीयताको नाममा देश विखण्डनतिर गइरहेकोमा भने पूर्वराजा साँच्चिकै चिन्तित रहेको जानकारहरु बताउँछन्। हुन त, उनलाई राजनीतिक दल खोलेर अघि बढ्न पनि कतिपयले सुझाव दिएका छन्। अहिले नै राजनीतिक पार्टी खोल्ने पूर्वराजाको कुनै योजना नभएको उनी निकट स्रोतले जनाएको छ। संविधानतः अब नौ महिनाभित्रमा नेपालमा नयाँ संविधान निर्माण भइसक्नुपर्छ। तर दलहरुबीचको दूरी यसरी बढेको छ कि, अहिलेको सम्बन्ध कायम रहेमा नयाँ संविधान कुनै पनि हालतमा बन्नेछैन। थप ६ महिनाको अवधि थप्ने भनेको संकटकाल लागू गर्ने हो, त्यसमा पनि दलहरुबीच सहमति नहुन सक्छ अनि देशमा लडाइँ चरमोत्कर्षमा पुग्ने अनुमान राजाको पनि छ। त्यसैले उनी अहिले पार्टी खोलेर राजनीतिमा जानेभन्दा पनि आफ्नो र राजतन्त्रको बारेमा विदेशीहरुले राखेको धारणामा परिवर्तन गराउने खेलमा चाहिँ सामेल हुने सम्भावना छ। नेपालमा गणतन्त्र स्थापना गराइएकोमा भारतीय कांग्रेस पार्टीभित्रै समेत केही न केही गल्ती भएको महसुस गराउन पूर्वराजा सफल भएको स्रोतको दाबी छ। अहिलेको अवस्थामा जनताको सहानुभूति लिने र विदेशीहरुको धारणा परिवर्तन गराउने नै ज्ञानेन्द्रको रणनीति हो भन्छन् विज्ञहरु। दलहरुले सत्ताका लागि गणतन्त्र बन्धक राख्ने काम नछाड्ने हो भने नेपालमा ठूलै राजनीतिक दुर्घटना हुने खतरा चाहिँ देखिदैछ। -साँघु

अमेरिकाको न्युयोर्कबाट प्रकासित हुने विश्व सन्देस पत्रिका लेख्छ

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक