20090824

'आफ्नै नियम र कानुन' बनाएर, आफ्नै नागरिकता वितरण गर्ने जातीय संगठन थरुहटको तयारी, थुप्रै हतियार भएको दावी


समानान्तर सरकारको अभ्यासस्वरुप जातीय संगठन थरुहट राज्यपरिषदले एक महिनाभित्र आफ्नै कानुन बनाएर आफ्नै नागरिकता वितरण गर्ने तयारी गरेको छ। तराईका २२ जिल्लालाई थरुहट राज्यपरिषद घोषणा गरेको उसले यी जिल्लाहरुलाई आफ्नो 'आफ्नो आधार' इलाका बनाएर 'आफ्नै नियम र कानुन' बनाउने तयारी गरेको हो। जिल्लाजिल्लाबाट आइतबार दाङमा भेला भएका थरुहटका सेनालाई सम्बोधन गर्दै थरुहटका अध्यक्ष लक्ष्मण थारुले त्यस्तो जानकारी दिएका हुन्। उनले संविधान घोषणा हुन बाँकी रहेको आठ महिनाभित्र 'जसरी भए पनि' थरुहट प्रदेश बनाएरै छोड्ने उदघोष पनि गरे। भेलामा सहभागी थरुहटका सेना। २२ जिल्लाका करिब ५ सय सेना दाङमा पहिलो 'सैन्य भेला' गर्दैछन्। उनीहरु निशस्त्र सार्वजनिक भए। अध्यक्ष थारुले थरुहटमा अन्य जातिलाई सम्मान गरिने बताए। 'हामी आफ्नो अधिकार चाहन्छौं कसैको अधिकार खोस्न होइन' थारुले भने, 'हाम्रो नागरिकता अरु जातिले पनि पाउनेछन्।' आफ्नो छुट्टै राज्य स्थापनाका लागि नै थरुहट सेना गठन गरेको उनले बताए। तत्काल हतियार नउठाउने तर निरन्तर दमन गर्दै गए 'बाध्य भएर हतियार' उठाउने पनि उनले चेतावनी दिए। जनआन्दोलनलगत्तै माओवादीबाट विद्रोह गरेर थरुहट गठन गरेका उनले आफूसँग थुप्रै हतियार भएको दावी पनि गरेका छन्। उनले देश टुक्र्याउने सोच थारुहरुको नभएको भन्दै अधिकार दिनुको सट्टा सरकार अझै दमनमा उत्रेको आरोप लगाए। उनले सरकारले भर्खरै ल्याएको विशेष सुरक्षा नीतिको पनि कडा आलोचना गरे।

त्यो नीति आदिवासी तथा अधिकारका लागिरहेकाहरुलाई 'दबाउन' ल्याएको उनको आरोप छ। तर जति नै दमन गरेपनि आफ्नो आन्दोलन भने जारी राख्ने उनले बताए। आफ्ना सेनाहरुलाई सम्बोधन गर्दै थरुहटका उपाध्यक्ष योगेन्द्र थारुले बहुभाषिक र बहुसांस्कृतिक देशमा आदिवासका रुपमा रहेको थारुजाति सबै प्रकारका अधिकारबाट वञ्चित रहेको भन्दै त्यसलाई खोस्नका 'थरुहट' सेना परिचालन गरिने बताए। थरुहटले आइतबार र सोमबार दाङमा पहिलो 'राष्ट्रिय भेला' गर्दैछ। २२ जिल्लाबाट करिब ५ सय 'सैन्यप्रमुख' तथा अन्य 'सेना'हरु दाङको देउखुरीमा भेला भएका छन्। 'थरुहट राज्य' स्थापनाका लागि सेनाका रणनीतिबारे उनीहरुले आज(सोमबार)छलफल गर्नेछन्। यो भेलामा थरुहट सेनाभित्र जिम्मेवारीको बाँडफाँड पनि गरिने थरुहटले जनाएको छ। आगामी नीतिहरुका बारेमा छलफल गरेर तयार गरेको घोषणापत्र भने थरुहटले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने भएको छ। थरुहटको सैन्य भेलाको खबर सार्वजनिक भएपछि आइतबार बिहानै जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुलाई उसका समाचारहरु प्रकाशन-प्रसारण नगर्न नगराउन आग्रह गरेको थियो। थरुहटको सैन्य भेला भइरहेको ठाउँ नजिकै ठूलो संख्यामा प्रहरीहरु राखिएको थियो भने नजिकै थरुहटका सेनाले चेकजाँच गरेर मात्रै कार्यक्रम स्थलभित्र छिर्न दिएका थिए। भेलाको लागि थरुहटले ठाँउठाउँमा राखेको स्वागत गेटहरु प्रहरीले भत्काए पनि कुनै अप्रिय घटना भने हुन पाएन। थरुहटले दुई दिनको लागि देउखुरीस्थित बालजनता उच्चमाविको भवन लिएको छ। त्यहाँ ५ सय थरुहट सेना र १ हजारभन्दा बढी थारु कार्यकर्ताहरुलाई खानेबस्ने व्यवस्था मिलाइएको छ। गत माघमा दाङमा केही युवाहरुलाई सेनाका रुपमा सार्वजनिक गरेको थरुहटले एकमहिनाअघि सबै जिल्लामा सेना भर्ना पनि खोलेको थियो। करिब १ लाख सेना बनाएको उसले जनाएको छ। तीमध्ये प्रमुख जिम्मेवारीमा रहेका सेनाहरुमात्रै दाङको राष्ट्रिय भेलामा सामेल छन्। आइतबार उनीहरु निशस्त्र सार्वजनिक भएका थिए। -गजेन्द बोहरा/नागरिक

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक