20090814

कुकुर र बाँदर पनि यसरी मिलेर बस्छन तर हामी नेपाली ..?? जहाँ भए पनि खुट्टा तानातान !! के हामी यिनी पशु भन्दा पनि तल गिर्दै छौं ??












माओवादी कमरेडहरुको

असलियत यस्तो ??!!

आफैले बनाएको आचारसंहिताविपरीत एकीकृत माओवादीका नेताहरुले स्वदेश र विदेशका महँगा निजी शैक्षिक संस्थामा छोराछोरी पढाइरहेका छन्। कार्यकर्ताको चर्को दबाबपछि यसै महिना सम्पन्न केन्द्रीय समिति बैठकले नेताहरुलाई १५ बुँदे आचारसंहिता बनाएको थियो। आचारसंहितामा नेताका छोराछोरीलाई सरकारी शैक्षिक संस्थामा मात्र पढाउने मापदण्ड तोकिएको छ। माओवादीकै भातृ संगठन अखिल क्रान्तिकारीका अनुसार १ सय ३८ सदस्यीय अधिकांश केन्द्रीय नेताका छोराछोरी महँगा निजी शैक्षिक संस्थामा पढिरहेका छन्। आचारसंहिता लागू हुनेमा कार्यकर्ता मात्र होइन, केन्द्रीय समितिका नेता नै विश्वस्त छैनन्। सरकारमा जाँदा कुनै निर्णय नगरी निजी शिक्षालाई प्रोत्साहन गरिएको तर अहिले नियम बनाएर मूर्ख बनाइएको कार्यकर्ताको आरोप छ।

पोलिटब्युरो सदस्य नारायण शर्माले भने अहिले नै आचारसंहिता हुबहु लागू गर्न जटिलता रहेको बताए। उनले नागरिकसित भने, 'जटिलतालाई चिरेर जान खोजिएको छ।' अखिल क्रान्तिकारीले २०६४ भदौमा सम्पन्न पाँचौं विस्तारित बैठकमा ३५ सदस्यीय केन्द्रीय नेताका छोराछोरीको फेहरिस्त तयार गरेको थियो। त्यसमा छोराछोरीलाई पार्टीमै पूर्णकालीन बनाएका, सरकारीमा पढाइहेका, स्वदेशका महँगा निजी संस्था र विदेशमा पढाइरहेका सूची छ। द्वैध शिक्षा नीतिविरुद्ध राजनीति गर्ने आफ्नै नेताले त्यस्ता स्कुलमा पढाएपछि आफूहरु 'नैतिक संकट' परेको क्रान्तिकारीका एक नेताले बताए।
'कहिले परीक्षाको बेला भने, कहिले एक वर्ष मात्र हो भने, तर कहिल्यै निकालेनन्,' अखिल क्रान्तिकारीका एक केन्द्रीय सदस्यले भने, 'यस्तै बहाना बनाएर टारे। यसपाली पनि तिनै बहाना काफी छन्।' माओवादीका एक कार्यकर्ताले आचारसंहिता गाउँका कार्यकर्ता, घाइते, सहिद परिवारका आँखामा छारो हाल्न आएको आरोप लगाए। सशस्त्र युद्धकालमा समेत नेताहरुले आफ्ना छोराछोरीलाई विदेश र निजी शैक्षिक संस्थामा पढाएको उनीहरुको भनाइ छ। 'आचारसंहितामा पालना नै गर्न नसकिने आदर्शका कुरा छैनन्,' सचिव चन्द्रप्रकाश गजुरेलले नागरिकसित भने, 'लागू भए नभएको अनुगमन जनरल हेडक्वार्टरले गर्नेछ।' आचारसंहितामा पार्टीको सम्पत्ति खर्चेर विदेश र महँगा निजी विद्यालयमा पढ्न नपाइने उल्लेख छ। गजुरेलले थपे, 'नेताले नाजायज ढंगले कमाउन बाध्य नहोस् भनेर हो। कसैका जागिरे आफन्तले जिम्मा लिए पढाउन पाउँदैनस् भन्न मिल्दैन।'

कसका छोराछोरी कहाँ ?
अहिले पनि दर्जनौं नेताले महँगा निजी विद्यालयमा पढाइरहेको क्रान्तिकारीको दाबी छ। माओवादी स्थायी समिति सदस्य लिलामणि पोखरेलका छोरा विप्लव चीनमा पढ्छन्। त्यस्तै, पोलिटब्युरो सदस्य हरिभक्त काडेलका छोरा बंगलादेश, अर्का पोलिटब्युरो राम कार्कीका भारत र नेता घनश्याम शर्मा पौड्यालका कान्छा छोरा बेलायतमा पढ्छन्। कार्कीपत्नी सिक्किममै जागिरे छन्। क्रान्तिकारीले विदेशमा पढाउने नेताका सूचीमा काडेलका अतिरिक्त महासचिव रामबहादुर थापा र पोलिटब्युरो सदस्य हरिबोल गजुरेललाई राखेको थियो। गजुरेलका छोरी भारतमा पढेर फर्किसकेकी छन् भने थापाका छोरा अहिले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्छन्। थापाकी छोरी चितवनको सप्तगण्डकी पब्लिक क्याम्पसमा पढिरहेकी छन्। महँगा निजी स्कुलमा पढाउने नेता भने दर्जनौं छन्। पार्टी नेता नन्दकुमार प्रसाइले लिटिल एन्जल्समा पढाइहेका छन्। पार्टी स्थायी समिति सदस्य वर्षामान पुनका छोरा सेन्ट जेभिर्समा पढ्छन् भने पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओली, हितमान शाक्य र जनार्दन शर्माले ज्ञानकुञ्जमा पढाएका छन्। यस्तै, अर्का पोलिट्ब्युरो सदस्य शक्तिबहादुर बस्नेतकी संगम छोरी लुभूस्थित डनबस्कोमा पढिरहेकी छन् भने पोलिटब्युरो सदस्य कुलप्रसाद केसीकी छोरी शंखमूलस्थित प्यासिफिक एकेडेमीमा। स्थायी समिति सदस्य देव गुरुङका छोरा विजयले पाल्पास्थित मेडिकल कलेजमा छात्रवृत्तिमा पढिरहेका छन्। त्यस्तै, पोलिटब्युरो नारायण शर्माका छोरा कान्तिपुर इन्जियिरिङ कलेजमा पढिरहेका छन्।

अखिल क्रान्तिकारीका अनुसार आफ्ना सन्तानलाई पार्टीमा पूर्णकालीन बनाउनेमा अध्यक्ष पुष्पकमल दाहाल, पोष्टबहादुर बोगटी, हितराज पाण्डे, कृष्णबहादुर महरा, अग्नि सापकोटा र धर्मेन्द्र बाँस्तोला थिए। तर, अहिले सचिव बोगटीकी छोरी प्रभा भने राजधानीको श्वेत सदनमा १२ कक्षामा आमसञ्चार र पत्रकारिता पढिरहेकी छन्। यसैगरी वरिष्ठ नेता मोहन बैद्यकी छोरी सिर्जना पशुपति बहुमुखी क्याम्पसमा र स्थायी समिति सदस्य टोपबहादुर रायमाझीका छोरा बुटवलस्थित मणिमुकुन्द कलेजमा पढ्दैछन्।
अध्यक्ष दाहालपुत्र प्रकाशले भने एक वर्षअघि आरआर क्याम्पसमा बीएमा नाम लेखाएका थिए। तर, अहिले निरन्तरता नदिएको उनले बताए। अखिल क्रान्तिकारीले सरकारी विद्यालयमा पढाउने सूचीमा भएका मध्ये स्थायी समिति सदस्य नेत्रविक्रम चन्द, पोलिटब्युरो सदस्यलोकेन्द्र विष्ट र हेमन्तप्रकाश ओली थिए। ओलीका छोरा अहिले ज्ञानकुञ्जमा पढिरहेका छन्। पोलिटब्युरो सदस्य लेखराज भट्टका छोराछोरी छैनन् भने उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल, पोलिट्ब्युरो सदस्यद्वय पम्फा भुसाल र शशी शेरचनले बिहे गरेका छैनन्। - किरण पुन

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक