20090811

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बम विस्फोट, यातायात व्यवस्था विभागमा पनि शक्तिशाली बम !

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा मंगलबार बम विस्फोट भएको छ । मंगलबार अपरान्ह भएको बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल डिफेन्स आर्मीको पर्चा भेटिएको छ । विस्फोटपछि बैठक कक्षमा आगलागी भएको छ भने भूइतल्लामा रहेका फर्निचरहरुमा क्षति पुगेको जनाइएको छ । साइकलमा आएका मधेशी मूलका एक व्यक्तिले प्रेसर कुकुर तल्लो तलामा रहेको सभाकक्षको एक कुर्सीमुनि राखेको देखिएको घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीले जानकारी दिए ।

एकान्तकुनास्थित यातायात व्यवस्था विभागमा पनि शक्तिशाली बम भेटिएको छ। अपरान्ह भेटिएको बमलाई सशस्त्र प्रहरीको बम विस्फोजल टोलीले बम निस्त्रि्कय पारेको छ। प्रहरीले बम शक्तिशाली भएको र कुकर बम रहेको बताएको छ। बम निस्क्रिय गराउने क्रममा कार्यालयका भित्ता चर्किएका छन् भने झ्याल र ढोकाका सिसा फुटेका छन्। अपरान्ह शंकास्पद बस्तु भेटिएपछि कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए। यातायात व्यवस्था विभागभित्र कार्यालय समयमा बम भेटिएपछि सेवाग्राही र कर्मचारीमा त्रास फेलिएको थियो। यसअघि तीन महिनाअघि ललितपुरकै एम्जन चर्चमा भएको बम विस्फोटको घटनामा पनि नेपाल डिफेन्स आर्मीको पर्चा भेटिएको थियो ।

आफू प्रधानमन्त्री हुँदाहुँदै 'सैनिक कु'

का विरुद्ध बालुवाटारभित्रै भूमिगत रुपमा

लडाइँको तयारी गरेको प्रचण्डको दाबी



एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री रहादा 'सैनिक कु' का विरुद्ध बालुवाटारभित्रै भूमिगत रुपमा लडाइँको तयारी गरेको दाबी गरेका छन्। 'सेनाले बालुवाटारभित्रै रक्तपात मच्चाउने योजना बनाएको थियो, त्यसको प्रतिकारमा हामीले पनि भित्रभित्रै तयारी गरेका थियौं,' सोमबार बेलायतको साउथ इस्ट लन्डनमा रहेको ऊलविच टाउन हलमा माओवादीनिकट संयुक्त नेपाली मोर्चा युरोपको कार्यक्रममा दाहालले भने, 'त्यो रक्तपात रोक्न र 'कु' हुन नदिन मैले तत्कालका लागि घुँडा टेकेको हुँ।' आफ्नो सरकार बहुमतमा हुँदाहुँदै परिस्थिति मुठभेडमा नजाओस् भनेर राजिनामा दिएको उनले बताए। 'राष्ट्रपतिले असंवैधानिक तरिकाले रातको साढे ११ बजे सेनापतिलाई पुनर्स्थापित गरे, त्यही आडमा कटवालले हामीमाथि प्रतिकार गर्ने योजना बनाएका थिए, हामीले राजिनामा दिएर उनको योजना असफल पार्‍यौं,' दाहालले भने। पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठक विद्रोहमा जाने निर्णय गरेको उनले जानकारी दिए। 'हामीले शान्ति, संविधान, नागरिक सर्वोच्चता र माओवादीको नेतृत्वमा राष्ट्रिय सरकारको माग गरेका छौं। त्यो भएन भने अहिलेको आन्दोलनलाई चर्काउँदै लानेछौं,' दाहालले अगाडि भने, 'आन्दोलनले विशाल जनविद्रोहको रुप लिनेछ र नेपालमा एकपटक फेरि पेरिस कम्युनको स्वरूप देखा पर्नेछ।'

दाहालले आफ्नो नेतृत्वबाहेक क्रान्ति सम्पन्न नहुने ठोकुवा गरे। 'नेपालमा यदि क्रान्ति हुन्छ भने प्रचण्डकै नेतृत्वमा हुन्छ। प्रचण्डबिना क्रान्ति तहसनहस हुन्छ भन्ने पूरै केन्द्रीय समितिले बुझेको छ। क्रान्ति पुराना प्रवृत्तिले सम्भव छैन,' लन्डन बसाइका क्रममा रेभ्युलस्नरी इन्टरनेसनल मुभमेन्ट (रिम) का पदाधिकारीले दाहाललाई कम्युनिस्ट किताब उपहार दिएका थिए।
'भाइचारा साथीहरुले मलाई किताब दिनुभयो, उहाँहरुलाई हामी बिग्रेको हो कि भन्ने चिन्ता रहेछ। वास्तवमा हामी आफ्नै ढंगले क्रान्तिलाई सम्पन्न गर्ने दिशातिर अगाडि बढिरहेका छौं। त्यही भएरै हामीले प्रचण्डपथको विकास गरेका हौं,' कार्यक्रममा रहेका रिमलगायतका अन्य कम्युनिस्ट पार्टीका नेताहरुलाई सम्बोधन गर्दै उनले भने। हालैको केन्द्रीय समितिको बैठकमा माओवादीभित्र एकताबद्ध भएको दाहालको दाबी थियो। 'यतिबेला माओवादी फुट्नु भनेको राष्ट्र फुट्ने हो। जनता फुट्ने हो। त्यसैकारण काठमाडौदेखि युकेसम्मको एकताका लागि म यहाँ आएको हुँ,' दाहालले भने। दाहालले भाषण गरिरहँदा माओवादी निकट संगठन नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको साइटमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

आफू प्रधानमन्त्री हुदा भन्दा राजिनामा दिएपछि धेरै बधाई पाएको दाहालले बताए। 'राजिनामापछि ७५ जिल्लामै माओवादी प्रवेश गर्नेहरुको उत्साहजक लहर चल्यो, त्यसैले प्रधानमन्त्री पदमा भन्दा अहिले गौरब महसुस गरिरहेको छु।'उनले केही तत्व फेरि राजतन्त्र ब्युँत्याउन लागेको आरोप लगाए। 'नेपालमा कसरी प्रतिक्रान्ति गर्न खोजिँदैछ, त्यो ठूलै अनुसन्धानको विषय हो।' दाहालको भनाइ थियो, 'वास्तवमा नेपाली जनताले माओवादीलाई ड्राइभर, कांग्रेसलाई कन्डक्टर र एमालेलाई खलासीको जिम्मेवारी दिएका थिए। तर, अहिले जनताद्वारा पराजित १९ जना मन्त्री भएका छन्। प्रजातन्त्रको हिमायती भन्नेहरुको योभन्दा ठूलो नौटंकी के हुन्छ ?'पत्नी सीता र छोरा प्रकाशका साथ कतार एयवेजबाट शनिवार साँझ ६.३० बजे लन्डनस्थित हिथ्रो एयरपोर्टमा उत्रिँदा दाहाललाई दुई दर्जन नेपालीले स्वागत गरेका थिए। उनको लन्डन बसाइ डाटफोर्डस्थित होलिडे एक्सप्रेस होटल छ। पहिलो बेलायत भ्रमणमा रहेका दाहालले आइतबार कार्ल मार्क्सको समाधिस्थल हाइगेट समेत पुगी पुष्पगुच्छा चढाएका थिए।
बेलायतपछि दाहाल-परिवार मंगलबार बेलारूस र रूसको भ्रमणतिर जाने कार्यक्रम छ। बेलारूस र रूसका कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनीहरू त्यसतर्फ जान लागेका हुन्। -भोजराज भाट

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक