20090708

सेनाले 'ब्याक गियर' लगाईदियो प्रचण्ड र माओबादीलाई !

राष्ट्रपतिको 'असंवैधानिक' कदम नसच्चिएसम्म संसद् चल्न नदिने कसम खाएको नेकपा माओवादी नेतृत्व सेनापति प्रकरणपछि तेस्रोपटक अर्को एक कदम पछि हटेको छ। प्रधानसेनापति पदबाट रुक्मांगद कटवाललाई हटाउने निर्णय गर्ने तत्कालिक प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको दृढअडानपश्चात् आफैं पदबाट हट्न बाध्य हुनुभएको थियो। सरकारबाट बाहिरिएपछि 'राष्ट्रियता र 'राष्ट्रपतिको कदम'लाई मूल मुद्दा बनाएर सडक तथा संसद्को सङ्घर्षमा उत्रेको माओवादी राष्ट्रियताको आन्दोलनबाट यसअघि नै लुसुक्क पछि हटिसकेको छ भने अब राष्ट्रपतिको कदमसम्बन्धी मुद्दा पनि छोडेपछि तेस्रो कदम पछि हटेको ठानिएको छ। माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भएपछि कठपुतलीको संज्ञा दिँदै सरकारविरुद्ध संसद् र सडकमा व्यापक सङ्घर्ष गर्ने घोषणा माओवादीले गरेको थियो।
तर, परिस्थिति बुझेर कदम चाल्न अत्यन्त सक्षम मानिनुहुने माओवादी अध्यक्ष प्रचण्डले पार्टीभित्र जनविद्रोहमा जानुपर्छ भन्ने व्यापक दबाब रहँदारहँदै पनि पार्टीलाई 'ब्याक गियर' लगाउनुभएको छ। माओवादीले यसरी 'ब्याक गियर' लगाएपछि पार्टीलाई सुरक्षित राख्ने, अन्य दलसँग सम्बन्ध विकास गर्ने र छिमेकी मित्रराष्ट्र भारतसँग सम्बन्ध सुधार गर्ने तीनवटै कामको थालनी एकैचोटि गर्ने परिस्थिति सिर्जना हुन पुगेको छ। दुई महिनाभन्दा लामो समयदेखि संसद् चल्न नदिएर सरकारको सम्पूर्ण बाटो छेकिरहेको माओवादीले सडकसङ्घर्ष र संसद्मा अवरोध पैदा गरेर नै सरकारलाई गलाउन सकिन्छ भन्ने जुन विश्वास लिएको थियो, उक्त विश्वासमा माओवादी अब नरहेको, बरु अरू केही कदम पछि हटेर मात्र क्रान्ति र पार्टीको रक्षा गर्न सकिने निष्कर्षमा माओवादी नेतृत्व रहेको देखिन्छ। देशभित्र माओवादीविरुद्ध मोर्चाबन्दी सुदृढ हुँदै गएको, हातमा भएको सत्ता छोडेर सडकमा आउनुपरेको, छिमेकी मित्रराष्ट्र भारतसँग सम्बन्ध बिग्रिएपछि परिस्थिति प्रतिकूल हुँदै गएको, अन्तर्राष्ट्रिय समुदायले आफूहरूप्रतिको व्यवहार र दृष्टिकोणमा परिवर्तन ल्याउने सम्भावना बढेको तथा नेपाली राष्ट्रिय सेनाले मातहतका सबै पृतना र गुल्महरूलाई समेत हाई एलर्ट (उच्च सतर्कता) मा राखेको जस्ता कुराले माओवादीलाई पछि हट्न बाध्य तुल्याएको हो। यसरी केही कदम पछि हट्दैमा माओवादीमाथिको खतरा हटिसकेको भन्न मिल्ने स्थिति छैन। माओवादीको सानो मात्र पनि कुनै थप त्रुटि फेला परेमा त्यसैलाई निहुँ बनाएर जाइलाग्ने सोच र रणनीति अझै पनि जीवित रहेको देखिन्छ। मित्रराष्ट्र भारतले त्यहाँ माओवादीलाई आतङ्ककारी घोषणा गर्दै प्रतिबन्ध लगाएको परिपे्रक्ष्यमा नेपाली माओवादीलाई भारतको विश्वास पुनः प्राप्त गर्न त्यति सजिलो छैन। माओवादीलाई सकिने र मिल्ने जति झुकाएर र गलाएर मात्र सहजतामा आउन दिने सोच नयाँदिल्लीले बनाएको बुझिन्छ। सायद दिल्लीको यही मनसाय बुझेर हुनसक्छ, प्रचण्डले संसद खुलेको दिन गत सामेबार संसद्मा वक्तव्य दिँदै 'अब छिमेकीहरूलाई धेरै दुःख नदिऊँ' भन्नुभएको छ। उहाँले एकातिर दूतहरूमार्फत भारतसँग सम्बन्ध सुधारको कोसिस गरिरहँदा यतातिर भने छिमेकीलाई ज्यादै दुःख नदिऊँ भन्दै आफू राष्ट्रवादी भएको सन्देश दिन पनि भ्याउनुभएको छ। प्रचण्डले देश–विदेशको परिस्थिति बुझेर नै पार्टीमा 'ब्याक गियर' लगाउनुभएको हो भने देशको राजनीतिमा विद्यमान असमझदारी तथा आपसी द्वन्द्वको स्थिति अन्त्य भई अब सुधार आउने आशा गर्न सकिन्छ। त्यसो नभई 'दुई कदम अघि बढ्ने र एक कदम पछि हट्ने' रणनीति मुताबिक तत्काल 'किस्ताबन्दीमा' पछि हटेजस्तो गर्दै जनवादी क्रान्तिकै बाटोमा देशलाई लैजाने योजना जीवित राखिएको हो भने देश फेरि पनि आन्तरिक द्वन्द्व र तनावकै स्थितिबाट गुज्रने निश्चित छ। हो, यही विषयमा माओवादीको परीक्षा सुरु भएको छ। यो परीक्षामा माओवादी उत्तीर्ण हुन सकेनन् भने माओवादी र देश दुवैका निम्ति कठिन दिनको सुरुवात हुन लामो समय प्रतीक्षा गर्नुपर्ने छैन।
एउटा बाध्यात्मक अवस्थामा संसद् सुचारु गर्न माओवादी बाध्य भएको भए पनि उसले आफ्नो सिद्धान्त, दर्शन, सोच, विचार, नीति र कार्यक्रम नै बदलेर प्रजातान्त्रिक मूल्य र मान्यताका पक्षमा उभिन आइपुगेको मान्न राजनीतिक विश्लेषकहरू तयार छैनन्। सत्ता समीकरणमा आबद्ध पार्टीहरूबीच दरार पैदा गराउने, अन्य पार्टीको आन्तरिक जीवनमा प्रवेश गरी भित्रभित्रै द्वन्द्व सिर्जना गराई कमजोर तुल्याइदिने, माओवादीलाई प्रतिकूल असर पर्ने प्रकारका कुनै पनि निर्णय हुन नदिन वर्तमान सरकारका प्रमुख तथा अन्यलाई फकाउने या सताउने, वर्तमान सरकार तत्काल ढल्छ र हामी तत्कालै पुनः सत्तामा आउँदैछौँ भनी व्यापक प्रचार गरी मानिसहरूमा मनोवैज्ञानिक प्रभाव पार्ने तथा भारतसहितका मित्रराष्ट्रहरूसँग बढेको आशङ्का, अविश्वास र असझदारीको स्थितिलाई सामान्य तुल्याउन राजनीतिक एवम् कूटनीतिक पहल गर्नेजस्ता योजना बनाएर बसेका माओवादीहरू आफ्नो योजनामा धेरै हदसम्म सफल भएका छन्। खासगरी झलनाथ खनाल र स्वयम् प्रधानमन्त्री माधवकुमार नेपालमार्फत वर्तमान समीकरण र सरकारलाई पङ्गु र असफल बनाउने खेल माओवादीले खेलेका छन्। वर्तमान समीकरण र सरकारलाई असफल नतुल्याईकन माओवादी सरकारमा जाने बाटो नखुल्ने र सरकारमा नगई क्रान्तिको निम्ति गुणात्मक फड्को मार्ने आधारहरू तर्जुमा गर्न नसकिने स्थिति रहेको ठहरसहित माओवादी नेतृत्व क्रियाशील भएको छ। प्रधानमन्त्री नेपालले काँधमा दिइन्जेल माओवादीले सरकारविरुद्ध बन्दुक पड्काइरहने निश्चित मानिएको छ। जे भए पनि तत्कालका लागि चाहिँ माओवादीले आफूलाई किस्ताबन्दीमै पछि हटाएर भए पनि पार्टी र क्रान्तिको रक्षा गर्ने काम गरेको छ। पार्टी र क्रान्तिको रक्षा गर्न खोज्दा अवरुद्ध रहेको नेपाली राजनीतिले पनि तत्कालका लागि निकासचाहिँ प्राप्त गरेको छ। -जयप्रकाश

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक