20090723

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले चेतावनी दिए प्रमुख दलका शीर्ष नेताहरुलाई


दलहरुबीच सहमति नजुटेका कारण संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख दलका शीर्ष नेताहरुलाई संविधानसभा सचिवालयमा बोलाएर संविधान निर्माणलाई प्राथमिकता दिन चेतावनी दिएका छन्। बैठकमा पछिल्लो पटक परिवर्तन गरेको कार्यतालिकाले एकदमै गम्भीर बनाएको बताउँदै नेम्वाङले संविधान निर्माणमा दलका शीर्षनेताहरुलाई गम्भीर हुन आग्रह गरे। उनले भने 'संविधानसभाका समिति पूर्ण बैठक सबै ठाउँमा दलका प्रमुख नेताहरु उपस्थित भएर क्रियाशील हुन आवश्यक छ।' संविधानसभामा चारवटा अवधारणापत्रमाथि १२० घण्टा लामो छलफल भैसक्दा पनि कुनै पनि तीन प्रमुख दलका संविधानसभा दलका नेता छलफलमा सहभागी भएका छैनन्। समितिको बैठकहरुमा पनि उनीहरुको उपस्थिति एकदमै कम मात्र हुने गरेको तर्फ नेम्वाङको संकेत थियो।
बैठकमा संविधानसभा दलका नेतासमेत रहेका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल उपस्थित थिए। त्यस्तै उपनेताहरु माओवादीका नारायणकाजी श्रेष्ठ र कांग्रेसका प्रकाशमान सिंह, प्रमुख सचेतकहरु माओवादीका पोष्टबहादुर बोगटी, एमालेका भीम आचार्य र कांग्रेसका लक्ष्मणप्रसाद घिमिरे बैठकमा सहभागी थिए।
तीन वटै दलका संविधानसभा दलका नेता उपनेता प्रमुख सचेतक र कानूनका ज्ञातालाई बोलाइएको उक्त बैठकमा कांग्रेसका राधेश्याम अधिकारी र एमालेका अग्नि खरेल उपस्थित थिए। नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधि पनि बैठकमा आमन्त्रित थिए।
विषयगत समितिले अवधारणापत्र र प्रारम्भिक मस्यौदा तयार गर्न नसकेका कारण स्थगित भएको जानकारी दिँदै नेम्वाङले दलको शीर्ष नेतृत्वको बैठक बसेर केही विषयमा सहमति जुटाएमा तीन-चार वटा समितिका प्रतिवेदन तत्काल तयार हुने अवस्थामा रहेको बताए । नेम्वाङले भने 'राज्यको पुनःसंरचना लगायतका महत्वपूर्ण विषय बाँकी छन् गम्भीर विषयहरु निष्कर्षमा पुर् याउन दलहरुबीच आपसी छलफल हुनुपर्छ ।'
संविधान जारी भएपछिमात्र सेना समायोजन भन्ने माओवादीको र सेना समायोजन भएपछि मात्र संविधान बन्छ भन्ने सत्तारुढ गठबन्धनको परस्पर विरोधी भनाइ आइरहेको सन्दर्भमा नेम्वाङले यस्ता विषयमा तत्काल टुंगोमा पुग्न पनि नेम्वाङले आग्रह गरे।
माधवकुमार नेपाल प्रधानमन्त्री भएदेखि रिक्त भएको संवैधानिक समितिको सभापति साउन ९ गते दुई महिना पुग्ने बताउँदै नेम्वाङले भने 'एक महिनाभित्रै पदपूर्ति गर्नुपर्ने नियमावलिले व्यवस्था गरेको छ यति समयमा सभापति तोक्छौं भनेर दलहरुले भन्नुपर् यो।'
संसद्को लगातार अवरोधका कारण पनि संविधान निर्माण प्रभावित भएकोतर्फ ध्यानाकर्षण गर्दै नेम्वाङले भने 'बजेटका कारण साउन १ गतेसम्म संविधानसभा स्थगन गरिएको थियो।' विगतमा एमाले कांग्रेस हुँदै माओवादीसमेतले सदन अवरुद्ध गरेकोतर्फ उनले टिप्पणी गरे। साउन २२ गते सदन खुलाउँदा माओवादीसँग गरेको सम्झौतामा एक महिनाभित्र धेरै चिज टुंग्याउने भनिएको तर्फ पनि उनले शीर्षनेताको ध्यानाकर्षण गरेका थिए।
संसद् र संविधानसभा एक साथ सञ्चालन गर्नुपर्ने बाध्यता रहेकोले संसद् अवरुद्ध नगर्ने वातावरण तयार गर्न पनि उनले सुझाव दिए। उनले शीर्ष नेतृत्वमा छलफल र सहमति खोज्न पनि आग्रह गरे।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणको वातावरण बनाउन समस्या समाधानले गति लिन नसकेको बताए। देशमा अनपेक्षित घटनाहरु घटेको बताउँदै दाहालले सहमति गरेर जान आफू विपक्षी दलको नेताका हैसियतले गरेको बैठकका लागि गरेको प्रयत्न केही दलका नेताले टार्न चाहेको पनि बताए।
संविधान लेखन शान्तिप्रकि्रयाकै अंग भएको बताउँदै उनले अहिले शान्तिसम्झौताविपरीत क्रियाकलाप भैरहेको आरोप पनि लगाए। समय ढेपिंदै गएकोतर्फ आफ्नो दल गम्भीर रहेको पनि बताए। राजनीतिक दलले संविधानसभा सचिवालयलाई घच्घच्याउनुको साटो उल्टै सचिवालयले दललाई घच्घच्याउनुपर्ने अवस्था आएको दाहालले बताए।
नेपाली कांग्रेसका रामचन्द्र पौडेलले संविधान निर्माणमा समयको पहिरोले किच्दै आएको बताउदै राज्य पुनसंरचना आयोग बनाएर टुंगोमा पुग्ने प्रतिबद्धता संविधानमा नै गरेकोतर्फ ध्यानाकर्षण गरे। उनले भने 'गम्भीर राष्ट्रिय बहसबाट यो नटुङ्ग्याई संविधान बन्दैन।' उनले माओवादी सेनाका लडाकू समायोजन गरेपछि मात्र संविधान बनाइनुपर्नेमा जोड दिए। दलहरुबीच छलफलबाट संविधानका आधारभूत सिद्धान्त नबनाई संविधान बनाउन थालिएकोले कामले गति लिन नसकेको पौडेलको स्वीकारोक्ति थियो।
पौडेलले आफ्नो दुवैतर्फ बसेका माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष झलनाथ खनाललाई प्रस्ताव गरे 'आजै चार बजे बसौं।' दाहालको प्रतिक्रिया थियो,'शान्तिप्रक्रिया विपरीतका कुरा पनि आएका छन् तपाई मात्र हैन गिरिजाबाबु पनि बैठकमा हुनुपर्छ।'
एमाले अध्यक्ष झलनाथ खनालले पार्टी-पार्टीबीच मात्र हैन एकै दलभित्र पनि नयाँ संविधानका विषयमा फरक-फरक धारणा रहेको बताए। उनले भने 'राष्ट्रिय महत्वका विषयमा पार्टी धारणाभन्दा माथि उठेर छलफल गर्नुपर्छ।' अहिले असझदारी बढ्दै गएको अवस्थालाई अन्त्य गरी दलहरुबीच साझा धारणा बनाउन तत्कालै छलफल गर्नुपर्ने उनले बताए।
सभामुखसँगको बैठकलगत्तै तीनै दलका नेताहरु तत्कालै बैठक बसेका थिए। रामचन्द्र पौडेलले पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई बैठकका लागि मनाउने बताएका थिए। बिहीबार साँझसम्ममा तीन दलको शीर्ष नेतृत्वबीच शुक्रबार बिहान ८ बजे बैठक बस्ने सहमति भएको छ।
एमाले अध्यक्ष झलनाथ खनालले संवैधानिक समितिको सभापतिका लागि सहमतिबाट अघि बढ्न आग्रह गर्दै त्यसमा एमालेको कुनै ठोस दाबी नरहेको बताए। उनले भने 'जसले कुशलतापूर्वक नेतृत्व गर्छ एमाले समर्थन गर्न तयार छ।'
नेपाली कांग्रसका रामचन्द्र पौडेलले एमालेको अध्यक्ष, माओवादीको उपाध्यक्ष रहेको बताउँदै नयाँ संविधान निर्माणमा कांग्रेसको पनि महत्वपूर्ण भूमिका हुनुपर्ने भएकाले संवैधानिक समितिको सभापति पाउनुपर्ने दाबी गरे।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियत दिएकाले संवैधानिक समितिको सभापति आफ्नो दलले पाउनुपर्ने उनको दाबी थियो। उनले भने 'संवैधानिक समितिको सभापतिमा बाबुराम भट्टराईलाई पठाउने निर्णय गरिसकेका छौं।'-माधव ढुङ्गेल

साहित्यकार होमनाथ सुवेदीलाई

अस्वीकृत सम्मान-०९ प्रदान गरिने

अस्वीकृत विचार साहित्य गुठीले अमेरिका निवासी वरिष्ठ साहित्यकार श्री होमनाथ सुवेदीलाई उहाँले डायस्पोरामा रही नेपाली साहित्यको प्रवद्र्धनमा अथक योगदान दिएको उच्च मूल्यांकन गरी अस्वीकृत विचार साहित्य सम्मान- ०९ ले विभूषित गर्ने निर्णय गरेको छ । श्री सुवेदीले हालसम्म १८ पुस्तकहरु (८ उपन्यास, २ कविता संग्रह, १ गजल संग्रह, २ खण्डकाव्य, २ कथा संग्रह, १ समालोचना, र २ अन्य) प्रकाशित गरिसक्नु भएको छ । त्यस्तै हालसम्म उहाँलाई विभन्नि प्रतिष्ठित सँस्थाहरुले ८ वटा सम्मान तथा अभिनन्दनहरु समेत प्रदान गरेको छ ।

गुठीद्वारा ०५४ सालमा स्थापनापर्यन्त यस्तो सम्मान गरिएको यो तेस्रो अवसर हो । यस गुठीले हरेक वर्ष एक बिर्सिएका अस्वीकृत लेखक कविलाई पुरस्कार प्रदान गर्ने भए पनि यस्तो सम्मान भने निक्कै कम तर जीवनको वहुधा भाग नेपाली साहित्य प्रवद्र्धनको लागि व्यतित गर्ने विशिष्ट व्यक्तिलाई प्रदान गर्ने गर्दछ । हालसम्म यसले ११ जना लेखक कविलाई पुरष्कृत गर्यो भने दुइजनालाई सम्मान गरिसकेको छ ।
स्मरण रहोस् केही महिना अघि यस गुठीले यसको बाह्रौँ अस्वीकृत विचार साहित्य पुरस्कार-६५ साहित्यकार श्री भवानी क्षत्रीलाई दिने निर्णय गरेको थियो । यी दुवै सम्मान तथा पुरस्कार यही श्रावण १८ गते दिनको ५।०० बजे वालमंच नेपालको हल अनामनगरमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
बिदेश मा रहेर पनि नेपाली भाषा साहित्य का लागि मरिमेट्ने यि लोकप्रिया साहित्यकार एबम अन्तरराष्ट्रिय नेपाली साहित्य समाज का जन्मदाता होमनाथ सुबेदीलाई नेपाल मदर डट कम पनि हार्दिक बधाई दिन चाहन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक