20090715

प्रधान-सेनापती मार्ने र पारसलाई अपहरण गर्ने योजना थियो रे माओवादीको !

माओवादी निकट नयाँ पत्रिका लेख्छ : तत्कालीन युवराज पारसलाई अपहरण गर्ने, रोल्पा पुर्‍याउने र दरबार हत्याकान्डबारे बयान लिने- यो योजना थियो विद्रोही माओवादीको । त्यो पनि सामान्य अवस्थामा होइन, राजा ज्ञानेन्द्रले शासन-सत्ता कमान्डमा लिएको वेला । सरकारसँग दोस्रोपटकको शान्तिवार्ता १० भदौ ०६० मा भंग भएको घोषणा गरेलगत्तै माओवादीले राज्यविरुद्ध फौजी कारबाही फेरि सुरु गरेको थियो । राज्यलाई गम्भीर धक्का दिन माओवादीले पारसलाई अपहरण गरेर दरबार हत्याकान्डबारे बयान लिने र तत्कालीन प्रधानसेनापति प्याराजंग थापाको 'सफाया' गर्ने योजना बनाएको थियो । त्यही योजनाको पूर्वाभ्यासका क्रममा मारिए वरिष्ठ सैनिक अधिकारी किरण बस्नेत । तर, त्यहीवेला 'स्पेसल टास्क फोर्स' का एक सदस्य पक्राउ परेपछि माओवादी योजना सेनाले थाहा पायो । त्यसैले पारसको अपहरण पनि भएन, तत्कालीन प्रधानसेनापतिमाथिको 'कारबाही' पनि सफल भएन । लोकेन्द्रबहादुर चन्दको सरकारबाट सुरु भएको दोस्रो चरणको शान्तिवार्ता सूर्यबहादुर थापाको सरकारसम्म पुगुन्जेल जारी थियो । तर, माओवादीले दोस्रो वार्ता भंग भएको घोषणा गरेलगत्तै काठमाडौंमा कमान्डो कारबाही सुरु गर्‍यो । कमान्डो कारबाहीको पहिलो चरणमा सैनिक अधिकारी बस्नेत मारिए, त्यसपछिको 'टार्गेट' मा थिए- प्रधानसेनापति थापा र युवराज पारस । तत्कालीन प्रधानसेनापति थापामाथि उनको सरकारी निवास शशीभवन झम्सीखेलदेखि प्रधान कार्यालय भद्रकालीसम्म जाँदा वा र्फकंदा पुल्चोकस्थित मन्त्रीनिवास आसपासको क्षेत्रमा कारबाही गर्ने योजाना बनेको थियो । तर, माओवादीको उपत्यका 'एसटिएफ' ले सेनापतिमाथि कारबम आक्रमण गर्नेसम्मको योजना बनाएको थियो । 'तर तयारीमा रहेको कार ग्यारेजमा समातियो,' माओवादीका तत्कालीन उपत्यका इन्चार्ज कुमार दाहाल भन्छन् । दाहालका अनुसार माओवादीले पारसको अपहरण र सैनिक अधिकारीमाथि कमान्डो कारबाही गर्न ५० जनाको 'भ्याली स्पेसल टास्क फोर्स' बनाएको थियो, जसका कमान्डर थिए निश्चल नकर्मी । टास्क फोर्सका 'मोबाइल' छापामार खटिन्थे पारसको निगरानी गर्न । यीमध्ये केही गुप्तचरीमा थिए, कोही योजना कार्यान्वयन गर्न ।

'पारसलाई उनी जाने होटल वा डिस्कोबाट अपहरण गर्ने योजना थियो,' टास्क फोर्सका एक सदस्यले भने । माओवादी कार्यकर्ता व्यापारीको भेषमा दरबारमार्ग र ठमेलका होटलहरूमा बस्थे । यसरी ठूला होटल र रेस्टुराँमा बस्दा पारसको दैनिकी जान्न सकिने उनीहरूको विश्वास थियो । टास्क फोर्सले महिनौंसम्म दरबारमार्ग र ठमेलका केही होटलमा कोठा बुकिङ गरेर पारसको पिछा गरेको थियो । 'पारसले खाने ठाउँमा हाम्रो टोली पनि पुग्थ्यो, नजिकै बसेर उनको चियो गथ्र्यो,' माओवादीका तत्कालीन उपत्यका इन्चार्ज दाहाल भन्छन्, 'हामी उनको निकै नजिक पुगेका थियौं । आवश्यकताअनुसार जतिवेला पनि अपहरण गर्नसक्ने अवस्था बनिसकेको थियो ।' योजना कार्यान्वयनका लागि उपत्यकामा क्रियाशील माओवादी कार्यकर्ता पनि परिचालित थिए । त्यसवेला माओवादीको काठमाडौंमा पवनमान श्रेष्ठ, ललितपुरमा कृष्ण केसी र भक्तपुरमा दिलीप प्रजापति पार्टीको इन्चार्ज थिए ।

त्यतिवेला उपत्यकासमेत हेर्ने मध्य कमान्डको इन्चार्ज थिए रामबहादुर थापा बादल । त्यस्तै उपत्यका ब्युरो इन्चार्ज थिए दाहाल र उपत्यकासहितको आसपासको क्षेत्र हेर्ने जिम्मा पाएका थिए- कुलप्रसाद केसी सोनामले । पारसलाई समात्ने र आधार इलाका -रोल्पा) पुर्‍याउने योजना थियो माओवादीको । 'उनलाई कुनै पनि हालतमा जिउँदै राख्ने र आधार इलाकामा पुर्‍याउने भन्ने थियो,' तत्कालीन ललितपुर इन्चार्ज कृष्ण केसी भन्छन्, 'उनलाई आधार इलाका पुर्‍याउने टिम पनि बनिसकेको थियो ।' तर, एकातिर प्रधानसेनापतिमाथिको कारबाही असफल भयो, त्यही वेला पारसको अपहरण योजनामा संलग्न भक्तपुरका सहसेक्रेटरी रञ्जितलाई सेनाले पक्राउ गर्‍यो । रञ्जित पक्राउ परेपछि योजनाको पोल खुलेको माओवादी भनाइ छ । 'बीचैमा सूचना लिक भएपछि हाम्रो योजना सफल भएन,' दाहालले भने । सेनाको देशव्यापी 'मुभ' कम पार्न सैन्य अधिकारीहरूमाथि कारबाही र पारसको अपहरण योजना बनाएको दाहालले बताए । उनका अनुसार दोस्रो वार्ता भंग भएलगत्तै पार्टी केन्द्रको निर्देशनमा नै राजधानीमा उच्चस्तरका 'कमान्डो' कारबाही गर्ने र देशभरका कार्यकर्ताको मनोबल उठाउने योजना बनेको थियो ।

३२ साउन ०६० मा माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता भइराखेका दिन सेनाद्वारा रामेछापको दोरम्बामा २० माओवादी कार्यकर्ता मारिएका थिए । त्यही विषयमा आपत्ति जनाउँदै माओवादीले १० भदौबाट युद्धविराम भंग गरेको थियो । आफूविरुद्धको अमेरिकी योजनालाई असफल बनाउन माओवादीले सेना र सरकारको माथिल्लो तहमा हान्ने योजना बनाएको थियो । 'अमेरिकी रणनीतिमा सेनाले माओवादी नेता-कार्यकर्ताको हत्या गर्ने र आधार इलाकामा आक्रमण गर्ने योजना बनाएको थियो । त्यसलाई काउन्टर गर्न र नयाँ खालको राजनीतिक शक्ति सन्तुलन तयार पार्न पारस अपहरणको योजना बनाएका थियौं,' तत्कालीन ललितपुर इन्चार्ज केसीले भने । 'युद्धकालमा हामीले जुन योजना बनाएका थियौं, त्यो स्वाभाविक नै थियो,' दाहालले भने, 'उनीहरू -सुरक्षानिकाय) ले पनि हाम्रा नेताका टाउकाका मूल्य तोकेर अपरेसन सुरु गरेका थिए ।' माओवादी नेतृत्वलाई सिध्याउने सेनाको योजना कमजोर बनाउन पारसको अपहरण योजना बनेको उनको भनाइ छ । १२ माघ ०५९ मा सशस्त्र प्रहरीका महानिरीक्षक कृष्णमोहन श्रेष्ठको हत्या भएको तीन दिनपछि माओवादी र सरकारबीच दोस्रो वार्ताका लागि युद्धविराम भएको थियो । 'पहिलो वार्ता असफल भएपछि दाङ सदरमुकाममा सेनाको ब्यारेकमाथि आक्रमण गरेर नयाँ शक्ति सन्तुलन बनाएजस्तै सेनापतिमाथि भौतिक कारबाही र पारसको अपहरण गरेर नयाँ शक्ति सन्तुलन बन्ने अवस्था थियो,' माओवादी स्रोतको भनाइ छ । 'पारसलाई अपहरण गरेपछि राज्यपक्षमाथि माओवादी कार्यकर्ताको हत्या नगर्ने नैतिक दबाब सिर्जना गर्न सकिन्थ्यो,' तत्कालीन योजनामा सहभागी एक नेता भन्छन् ।

तर, रञ्जित गिरफ्तार भएपछि उनले आफैंसमेत सहभागी भएको भ्याली एसटिएफको नेतृत्व गरेका नकर्मीसहितको ठूलो टिमलाई गिरफ्तारी गराएको दाहाल बताउँछन् । उनी भन्छन्, 'रञ्जितले आफू गिरफ्तारमा परेपछि सबै साथीलाई ताने । त्यसपछि कमान्डो कारबाहीका योजना भताभुंग भए ।' रञ्जितपछि माओवादीका ललितपुर सेक्रेटरी हीराबहादुर रोका, भक्तपुरका सेक्रेटरी बिके श्रेष्ठ, एसटिएफका सदस्यहरू सुचेन्द्र श्रेष्ठ, बुद्धि तामाङ, भीम गिरीलगायतको टिम पक्राउ परेको दाहाल बताउँछन् । त्यतिवेला नै गिरफ्तार भएका कृष्ण केसीलाई २७ महिना बेपत्ता पारियो भने निश्चल नकर्मी, ज्ञानेन्द्र त्रिपाठी, दीपेन्द्र पन्त, हेमनारायण श्रेष्ठ, सुचिन्द्र महर्जन, रेणुका दुवाल, रेवकला तिवारी, सत्यनारायण प्रजापति, दिलबहादुर राई, भीम गिरीलगायतका माओवादी कार्यकर्ताको अहिलेसम्म अत्तोपत्तो छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक