20090708

‘सरकार, हजुर सक्रिय हुनुपर्यो’ भनी आग्रह गर्दा पूर्वराजा ज्ञानेन्द्र हाँसी मात्रै रहे !!!


पूर्वराजा ज्ञानेन्द्रले हिजो मंगलबार आफ्नो ६३औं जन्मोत्सव भव्यरूपमा मनाएका छन्। करिब १० हजारको संख्यामा आएका जनताले बिहान १० बजेदेखि लामबद्ध भएर पूर्वराजा ज्ञानेन्द्रलाई पुष्पगुच्छा दिएका थिए। पूर्वराजदूत खिलेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा गठित मूल समारोह समितिले बिहान करिब ९ बजे शंखपार्कबाट बाजागाजा, झाँकी र प्लेकार्डसहित शुभकामना र्याली निकालेको थियो। र्यालीमा सहभागीले महाराजगन्ज हुँदै निर्मलनिवास पुगी पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिएका थिए। नेपाली सेनाको विशेष सुरक्षाबलको सुरक्षाघेराभित्र भव्यताका साथ मनाइएको जन्मोत्सवमा पूर्वमन्त्री कमल थापा, टंक ढकाल, राजपरिषद् स्थायी समितिका पूर्वसभापति डा. केशरजंग रायमाझी, पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ र कीर्तिनिधि विष्ट, पूर्वशाही पार्श्ववर्ती भरतकेशर सिंहलगायत सेनाका पूर्वजर्नेल तथा दरबारका पूर्वकर्मचारीको सहभागिता थियो। प्रफुल्ल मुद्रामा निर्मलनिवासअगाडि गाडी पार्किङसँगैको बगैंचामा करिब तीन घन्टा उभिएरै शुभकामना ग्रहण गरेका पूर्वराजा ज्ञानेन्द्रले शुभकामना दिन आउने सबैको गुनासो सुनेका थिए। दूधेबालकदेखि ७ दशक नाघिसकेका वृद्धवृद्धाको समेत उल्लेख्य उपस्थिति रहेको शुभकामना प्रदान कार्यक्रममा ज्ञानेन्द्रलाई शुभकामना अर्पण गर्ने अधिकांशले ‘सरकार, हजुर सक्रिय हुनुपर्यो’ भनी बिन्ती चढाए । शुभकामना दिन आउने सबैलाई एउटै लाइनमा राखिएको कार्यक्रममा सबैले फूलको गुच्छा, बुके र खामबन्दी बिन्तीपत्र चढाएका थिए।

पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन आउने सबैलाई जीवनकुञ्जको ढोकाबाट प्रवेश गर्राई निर्मलनिवासबाट बाहिरिने व्यवस्था गरिएको थियो। शुभकामना आदानप्रदान गर्न उपस्थित समारोहमा सञ्चारकर्मीले बोल्न आग्रह गर्दा पूर्वराजा ज्ञानेन्द्र हाँसी मात्रै रहे। जन्मोत्सवमा करिब १ हजार २ सय संघसंस्था, व्यक्ति र समूहले निर्मलनिवासको मूलगेटमा अभिनन्दनपत्र र उपहार दिएका थिए। मूलगेटमा उपहार दर्ता गर्ने व्यवस्था गरिएको थियो। मूल समारोह समितिले शुभकामना दिन पञ्चकन्याको समेत व्यवस्था गरेको थियो। शुभकामना दिन उपस्थितलाई निःशुल्क खानेपानीको व्यवस्था थियो। तडकभडक नगरीकनै ६३औं जन्मोत्सव मनाउने निधो भए तापनि पूर्वराजा ज्ञानेन्द्रले मंगलबार राति ८ बजे जलपानको समेत व्यवस्था गरेका थिए। निर्मलनिवासको मूल बैठककक्षमा आयोजना गरिएको जलपान समारोहमा नातेदार र नजिकका आफन्तलाई मात्र निम्तो गरिएको स्रोतले बतायो। घरपरिवारका निम्ति मात्र जलपानको व्यवस्था गरिए पनि केही निकटतम सम्बन्ध भएकालाई समेत बोलाइएको स्रोतले बतायो।
गणतन्त्र घोषणालगत्तै 'राजा' ज्ञानेन्द्र नारायणहिटीबाट बाहिरिनुभएको एक वर्षपछि उहाँको जन्मोत्सवका अवसरमा शुभकामना दिन आउनेहरूको भीड देखेर 'राजा' र राजाका पक्षधरहरूमा ठूलो उत्साह थपिएको छ।

नारायणहिटी राजदरबारमा आयोजना गरिने समारोहमा भन्दा पनि यसपटक बढी मानिसहरू 'राजा'लाई शुभकामना दिन निर्मलनिवास पुगेको सम्बद्ध सूत्रले जनाएको छ। सर्वसाधारणका लागि असार २३ गते मंगलबार बिहान ११ बजेदेखि निर्मलनिवास खुला राखिएकोमा अपराह्न चार बजेसम्म मानिसले लामबद्ध भएर 'राजा'मा पुष्पगुच्छा र शुभसगुनको रूपमा दही चढाएका थिए। त्यस अवसरमा नेपाली सेना
र नेपाल प्रहरीले मंगलधुन बजाएका थिएनन्, तर जनसाधारणबाट नै गएका समूहहरूले स्वस्फुर्त रूपमा मंगलधुनसहित अन्य धुनहरू बजाएका थिए। देशका विभिन्न भूभागबाट राजधानी आएका सयौं मानिसले 'राजा'को हातमा 'बिन्तीपत्र' चढाएका थिए भने पुष्पगुच्छा लिएर शुभकामना दिन पुगेका कतिपयले 'देश बचाउनका लागि अघि सर्न' पनि राजालाई ठुल्ठूलो आवाजमा आग्रह गरेका थिए। शुभकामना दिन निर्मलनिवास पुग्नेहरूमा युवाहरूको सङ्ख्या गत वर्षहरूमा भन्दा अधिक रहेको प्रत्यक्षदर्शीहरूले जनाएका छन्। जनसाधारणबाट शुभकामना ग्रहण गर्ने कार्यक्रम सकिएपछि 'राजा' पशुपति र गृह्येश्वरीलगायतका मन्दिरहरूमा पुग्नुभई पूजाअर्चना गर्नुभएको बुझिएको छ।
जन्मदिनको अघिल्लो साँझ 'राजा' बाट व्यक्त विचार पनि सार्वजनिक गरिएको थियो। 'पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट मौसुफको ६३औं शुभजन्मोसवका पूर्वसन्ध्यामा नागरिक समाजका विभिन्न समूहबाट राखेका जिज्ञाशाको प्रत्युत्तरमा अभिव्यक्त विचार' भनी सार्वजनिक गरिएको विज्ञप्तीको पूर्ण विवरण पाठकहरूको जानकारीका लागि यहाँ प्रकाशित गरिएको छः–
म ६३ वर्षको जीवनकालमा आइपुगेको छु। 'दुनियाँ जसदेखि राजी रहन्छन्' र 'मेरो देश बाँचिरहोस्' भन्ने पुर्ख्यौली आदर्शप्रति मेरो हार्दिक दृढता छ।
त्यही आदर्शमा निष्ठावान हुँदै राष्ट्रियता, राष्ट्रिय एकता र युगसम्मत प्रजातन्त्रप्रति म सदैव प्रतिबद्ध छु।
मैले नारायणहिटी छोडेको पनि एक वर्ष पुगिसकेको छ। छोड्नुको कारण देशमा शान्तिसुरक्षाको स्थितिमा सुधार आई नेपाल शान्त, समृद्ध र सुन्दर होस्, अनि नेपालीहरू सुखी–सन्तुष्ट रहून् भन्ने नै थियो।
यो कालक्रममा म र मेरो पुर्खाप्रति सकारात्मक तथा नकारात्मक दुवैखाले टिप्पणी गर्नेहरूप्रति म जानकार छु र सकारात्मक सोचाइ राख्नेहरूप्रति आभार व्यक्त गर्न चाहन्छु।
परिवर्तित परिवेशमा पनि देश तथा देशवासी प्यारा दाजुभाइ र दिदीबहिनीहरूको स्थितिमा सुधार आउन नसकेकोमा म अत्यन्त उद्विग्न, अत्यन्त चिन्तित र अत्यन्त मर्माहत छु।
हाम्रा पुर्खा र सम्पूर्ण नेपालीको प्रयासबाट निर्मित हिमाल, पहाड र तराई रहेको यो नेपाली पुष्पमाला, आन्तरिक विग्रह तथा बाह्य विद्वेषबाट नचँुडियोस् भन्ने मेरो आग्रह छ।
राष्ट्रिय राजनीतिमा संलग्न, राज्य सञ्चालन शक्तिसँग आबद्ध स्वदेशी र विदेशी हितैषीहरूसँग नेपाल र नेपालीप्रति सच्चा दिलले माया गरिदिनुहुन पनि मेरो आह्वान छ।
हाम्रो नेपाली माटो, हाम्रो हिमाल, हाम्रो पहाड र हाम्रो समथर भूभाग तथा हाम्रा नद–नदी, ताल–तलैया र मनोरम हराभरा प्रकृति मेरो निम्ति सदैव प्रिय छन्।
यही मनोहरि प्रकृतिमा म र मेरा दर्शन्तान सदैव नेपाली आत्मीय जनसँग रहिरहँु भन्ने मेरो पवित्र आकाङ्क्षा छ
मेरो जन्मदिनका सन्दर्भमा मेरो दीर्घायु तथा सुख–सुस्वास्थ्यको शुभेच्छा राख्ने सबै देशी–विदेशी शुभचिन्तकहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक