20090629

राजधानी काठमाडौं अपहरणकारीको राजधानी बन्दै, डलरमा फिरौती तिरेर अपहरणकारीको चंगुलबाट मुक्त

प्रतिष्ठित औद्योगिक प्रतिष्ठान जगदम्बा स्टिलका सञ्चालक सञ्जय सुरेश डलरमा फिरौती तिरेर अपहरणकारीको चंगुलबाट मुक्त भएका छन् । दुई साताअघि सारडा ग्रुपका महेश सारडा पनि फिरौती तिरेर उम्किएका थिए । दुई सातामा अपहरणमा पर्ने सञ्जय सुरेश दोस्रो घरानिया व्यापारी हुन् । तस्बिरमा सुरेशको कमलपोखरीस्थित निवास जहाँ अपहरणकारीले पटक-पटक फोन गरे तर फरक-फरक नम्बरबाट । २८ जेठमा तीनकुनेबाट अपहरणमा परेका व्यापारी सुरेश दुई लाख डलर -करिब डेढ करोड नेपाली रुपैयाँ) फिरौती तिरेर रिहा भएका छन् । कमलपोखरीनिवासी सुरेशको परिवारले चारवटा बि्रफकेसमा रकम भरेर अपहरणकारीलाई हुन्डीमार्फत दुबई पठाएपछि उनी शनिबार बिहान रिहा भएका हुन् ।

प्रहरी स्रोतका अनुसार उनी शनिबार बिहान सात बजे आफ्नो घर आइपुगेका थिए । उनलाई अपहरणकारीहरूले त्रिपुरेश्वरसम्म ट्याक्सीमा ल्याएर रिहा गरेका थिए । अपहरणकारीहरूले व्यापारी सुरेशको अपहरण गरेलगत्तै उनको परिवारसँग टेलिफोनमार्फत रकम डिल गरेका थिए । उनीहरूले व्यापारीको परिवारसँग कुरा गर्दा चोरीका मोबाइल नम्बरहरू प्रयोग गरेका थिए ।
जानकारी पाएलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाको एन्टी किड्न्यापिङ सेलको टोली सुरेशको खोजीमा जुटेको थियो ।
प्रहरी स्रोतका अनुसार सुरेशको अपहरण नयाँ समूहले गरेको हो । अपहरणकारीले आफैंले रकम नलिएर हुन्डीमार्फत दुबईमा पठाउन लगाएका थिए । स्रोतका अनुसार अपहरणकारीहरूले हुन्डीबाट पठाउने रकम व्यापारी सुरेशकै चिनजानको व्यक्तिको नाममा दुबईमा पठाउन लगाएर उनीमार्फत आफूले भुक्तानी लिएका थिए ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनीहरूले अपहरित परिवारका सदस्यहरूसँग फोनमा डिल गर्दा छिनछिनमा फोन नम्बर परिवर्तन हुन्थ्यो । एक अधिकारीले भने, 'अपहरणकारीले फोनमा कुरा गर्दा नेपालको नम्बर देखिन्थ्यो । तर, त्यहीवेला अपहरितसँग कुरा गर्दा उनको टेलिफोनमा भारतीय नम्बर डिस्प्ले हुन्थ्यो ।' प्रहरी स्रोतका अनुसार अपहरणकारी आधुनिक सञ्चार प्रविधिका जानकार रहेका र उनीहरूले प्रहरीलाई चक्मा दिन प्रविधि दुरुपयोग गरेका थिए । सुरेश मुक्त भएलगत्तै अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू कमलपोखरीमा रहेको उनको निवासमा आएर उनीसँग भेटघाट गरेका थिए । तर, सुरेश परिवारले प्रहरीलाई अपहरणको बारेमा सबै जानकारी दिएको छैन । स्रोतका अनुसार अपहरित सुरेशले प्रहरी टोलीलाई आफूले अपहरणबाट मुक्त हुन बुझाएको रकमसमेत खुलाउन मानेका छैनन् ।

जेठ महिनामा अपहरणमा परेका सुरेश दोस्रो व्यापारी हुन् । यसअगाडि अपहरणकारीहरूले सारडा समूहका उद्योगी महेश सारडाको अपहरण गरेका थिए । आफ्नै ड्राइभरको सहयोगमा थापाथलीमा रहेको आफ्नै घरबाट अपहरणमा परेका सारडा अपहरणको आठ दिनपछि १४ लाख फिरौती बुझाएर रिहा भएका थिए । प्रहरीले व्यापारी सारडाको अपहरणमा संलग्न ६ जना नेपालीलाई पक्राउ गरिसकेको छ । अपहरणमा संलग्न तीनजना भारतीय भारतमा पक्राउ परेका छन् । २२ जेठमै अपहरणमा परेकी १९ वर्षीया विद्यार्थी ख्याति श्रेष्ठको भने हत्या भएको थियो । पारिवारिक चिनजानका शिक्षकबाट अपहरणमा परी हत्या गरिएकी ख्यातिका अपहरणकारी वीरेन श्रेष्ठ र उनकी सहयोगी मेरिना शाक्यलाई प्रहरीले १५ दिनपछि काठमाडौंमा पक्राउ गरेको थियो । यसरी पछिल्लो समयमा राजधानी काठमाडौं अपहरणकारीको राजधानी बन्दै गएको छ । - from Naya patrika

1 comment:

  1. yesta ghatana kathmandu ma badhdai chha bholi kohi pani aafu ra afna aafanta jan haru kunai pani bela surachhit nahune abastha chha yesma sarkar le ali kathor niyam banaunu parchha.aparadhi lai samatne bitikai usko dubai haat katinu parchha yeso garda 95% ghatana kam huna aaunchh jasto laghchha

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक