20090627

माओवादी ढुंगाभन्दा साह्रो, शिवले निलकन्ठ भएर बिष पिएझैं पिइरहेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री बनेको तीन सातायता लगातार शनिबार उनी काठमाडौं क्षेत्र नम्बर दुईका मतदातामाझ पुगिरहेका छन्। एमाले गोठाटार पार्टी कमिटीले गरेको भेटघाट तथा चियापान कार्यक्रममा पुगेका प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाई सहमतिमा ल्याउन गरेको दौडधूप सार्थक हुन नसकेकोमा चिन्ता व्यक्त गरे। प्रधानमन्त्री नेपालले माओवादीलाई सहमतिमा आएर अगाडि बढ्ने मौका अहिले जस्तो कहिल्यै नमिल्ने बताएका छन्। "यस्तो सजिलो प्रधानमन्त्री माओवादीले कहिल्यै पाउँदैनन्," प्रधानमन्त्री नेपालले शनिबार राजधानीको गोठाटार पुगेर भने- हरेक कुरा शिवले निलकन्ठ भएर बिष पिएझैं पिइरहेको छु। 'ढुङ्गा बरु पग्लिन्थ्यो होला, माओवादीको मन पग्लेन', प्रधानमन्त्री नेपालले माओवादी ढुंगाभन्दा साह्रो भएको बताए। उनले सहमतिको सबै बाटो माओवादीले अवरुद्ध पारेको पनि बताए। र, भने- सबै थरी बाटो बन्द गर्‍यो भने देश कहाँ पुग्ला ? उनको भनाइ थियो- जंगलमा बसेकाले होला, उनीहरुको मुटु चट्टान जस्तो भएको, अब चाँडै पग्लने आशा छ।

सँधै संसद अवरुद्ध गरेर व्यवस्थापिकालाई काम नलाग्ने स्थितिमा पुर्‍याउन खोजिएको भन्दै त्यसको परिणामबारे सचेत हुन उनले माओवादीलाई आग्रह गरे। देशमा शान्ति सुरक्षाको स्थिति खराब भएकोप्रति प्रधानमन्त्री नेपाल सचेत देखिए। उनले अपराधीलाई कुनै पनि बहानामा सुरक्षा नदिनेतर्फ सबै सुरक्षा अंगको ध्यानाकर्षण गरेको बताए। "राजनीति वा कुनै पनि बहानामा अपराधीलाई संरक्षित गर्नुहुँदैन", प्रधानमन्त्री नेपालले भने- शान्ति सुरक्षा कायम गर्नेतर्फ कुनै सम्झौता नगर्न मैले सुरक्षाकर्मीलाई निर्दशन दिइसकेको छु। ख्याति श्रेष्ठको हत्यामा संलग्नलाई कडा कारबाही हुने पनि उनले बताए। काठमाडौंलाई अपराधबिहीन सहर बनाउनेमा पनि उनको जोड थियो।

डेढ सयको हत्या

दुई सय २२ को अपहरण

पूर्वी नेपालमा विगत डेढ वर्षको अवधिमा विभिन्न अपराधिक समूहको आक्रमण तथा सुरक्षाकर्मीको कारवाहीमा परी एकसय ४९ जनाको ज्यान गएको छ। गत २०६४ सालको मङ्सिरदेखि हालसम्म पूर्वी नेपालका १६ जिल्लामा भएका घटनामा परी एक सय ४९ जनाको ज्यान गएको सशस्त्र प्रहरी पूर्व क्षेत्रीय मुख्यालय बराहबाहिनी पकली सुनसरीले जनाएको छ। पूर्वी नेपालका मोरङ्, सुनसरी, सिराहा, सप्तरी, झापा, इलाम, ताप्लेजुङ्, संखुवासभा, तेह्रथुम, धनकुटा र सोलुखुम्बु जिल्लामा भएका घटनामा परी सो अवधिमा प्रहरीको कारवाहीमा ४ जनाको मृत्यु भएको जनाइएको छ। यो अवधिमा २ सय २२ जना अपहरणमा परेका छन्। अपहरणमा परेका मध्ये १ सय ३७ जना मुक्त भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णकुमार तामाङले जानकारी दिए।
सो अवधिमा अपहरणमा परेका मध्ये १८ जनालाई सशस्त्र प्रहरीले सकुशल मुक्त गराएको जनाइएको छ। अपहरण पर्नेमा सबैभन्दा बढी सिराहा र सप्तरीका सर्वसाधारण रहेका छन्। सशस्त्र प्रहरीले सो अवधिमा विभिन्न अपराधीक गतिविधिमा संलग्न व्यक्तिहरुले प्रयोग गर्ने १ सय १ थान कटुवा पेस्तोल, ७ वटा इटालियन, ६ वटा चाइनिज, १ थान युएस पेस्तोल, एउटा स्टेन गन तथा १२ बोरको ४ वटा बन्दुक बरामद गरेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक