20090620

भारतीय विदेश सचिब नेपालमा, प्रधानमन्त्री नेपालले माओवादीलाई पोल खोलिदिने धम्की !


नेपालको दुई दिने भ्रमणका लागि शनिबार बिहान काठमाडौं आइपुगेका भारतीय विदेश सचिब शिवशङ्कर मेननलाई एकीकृत नेपाल राष्ट्रिय मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाएका छन्। बिहान दश बजे अन्तराष्ट्रिय विमानस्थलको मुख्य गेटमा मोर्चाका कार्यकर्ताहरुले भारतीय हस्तक्षेपको बिरोध र ग्रेटर नेपालको पक्षमा मेननलाई कालो झण्डा देखाएको बताए। कालो झण्डा देखाउनेक्रममा प्रहरीले हस्तक्षेप गरी मोर्चाका अध्यक्ष एवम् ग्रेटर नेपाल अभियानका अगुवा फणिन्द्र नेपालसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने अन्यमा उपाध्यक्ष बिएन शर्मा, सचिब सुजित केसी, सदस्य अनिल योगी र अरुण पोख्रेल (नेपाली) रहेका मोर्चाका अध्यक्ष नेपालले जानकारी दिए। पक्राउ परेका सबैलाई तीनकुने प्रहरी कार्यालयमा राखिएको छ।

भारतीय विदेश सचिव शिवशंकर मेननले नेपालसँग भारतको सीमा विवाद रहेको स्वीकार गरेका छन् । उनले सन् १९५० को मैत्री सन्धि पुनरावलोकन गरेर सीमा विवाद सुल्ट्याउनुपर्ने बताएका छन् । एमाले अध्यक्ष झलनाथ खनालसँगको भेटवार्ताका क्रममा सचिव मेननले यस्तो बताएको अध्यक्ष खनालले जानकारी दिए । मेननले उच्चस्तरीय छानबिन समिति बनाएर सीमा विवाद सुल्ट्याउनुपर्ने बताए । उनले सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले नेपालीमाथि ज्यादति गरेको भए दोषीलाई कारबाही गरिने पनि बताए । विदेश सचिव मेनन काठमाडौं आएलगत्तै राजनीतिक भेटघाटमा ब्यस्त छन् । उनले शनिबार राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस सभापति गिरिजाप्रसाद कोईराला, एमाले अध्यक्ष झलनाथ खनालसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री नेपालसँगको भेटमा नेपाल भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल थाल्ने सहमति भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटघाटमा सीमा अतिक्रमणका विषयमा दुई देशबीच उच्चस्तरीय सहमति कायम गरी समस्याको निकास खोज्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
भेटका क्रममा प्रधानमन्त्री नेपालले सीमा अतिक्रमणको बारेमा विदेश सचिव मेननको ध्यानाकर्षण गराएका थिए । मेननले प्रधानमन्त्री नेपाललाई भारतीय प्रधानमन्त्री मनमोहन सिंहको भारत भ्रमणको निम्तो पनि दिएका थिए । प्रधानमन्त्री नेपालले सिंहको निम्ता स्वीकार गर्दै अनूकुलता मिलाएर भ्रमण गर्ने जवाफ दिएको सल्लाहाकार भट्टराईले जानकारी दिए । भेटवार्ताका क्रममा मेननले शान्ति प्रकृया, सरकारको पूर्णतामा भईरहेको ढिलाई, नयाँ संविधान निर्माणका विषयमा चासो राखेका थिए ।
त्यस्तै, कांग्रेस सभापति कोइरालासँगको भेटमा मेननले दलहरुबीचको सहमतिमा जोड दिएका थिए । सभापति कोइराला निवास महाराजगंजमा भएको भेटवार्तामा सीमा विवाद, वर्तमान राजनीतिक परिस्थितिको विषयमा पनि कुराकानी भएको थियो ।
विदेश मन्त्री मेननले शनिबार नै राष्ट्रपति यादव र एमाले अध्यक्ष खनालसँग पनि भेटवार्ता गरेका छन् । विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने सतिश मेहतासँगै दुई दिने नेपाल भ्रमणमा आएका मेनन आइतबार भारत फर्किनेछन् । नेपालमा नयाँ मन्त्रीमण्डल बनेपछि भारतका तर्फबाट भएको यो पहिलो कुटनीतिक भ्रमण हो ।

मेनन आइतबार बिहान सात बजे पशुपति दर्शन गर्न जानेछन् । बिहान १० बजे उपप्रधानमन्त्री विजयकुमार गच्छादारसँग सिंहदरबारमा २० मिनेट कुराकानी गर्ने तालिका छ । गच्छादारसँग उनले मधेसवादी दलको विवाद र धारणा बुझ्ने अनुमान छ । १० बजेर २० मिनेट देखि २० मिने६ रक्षामन्त्री विद्या भण्डारीसँग भेटघाट गर्नेछन् । त्यसपछि उनले गृहमन्त्री भीम रावलसँग १० मिनेट कुराकानी गर्नेछन् । सभा ११ बजे परराष्ट्रमन्त्री सुजाता कोइराला र पौने १२ बजे परराष्ट्र सचिव आचार्यलाई भेट्ने कार्यक्रम छ । त्यसपछि उनी आचार्यले उनको सम्मानमा दिएको दिवा भोजमा सहभागी हुन साढे १२ बजे होटल याक एन्ड यती पुग्नेछन् । मेननले साढे तीन बजे होटल द्वारिकामा पत्रकार सम्मेलन गरी भ्रमणबारे प्रष्ट्याउनेछन् । सभा चार बजे होटल छाडी उनी आफू आएको विशेष विमानबाट भारत र्फकनेछन् ।

प्रधानमन्त्री माधबकुमार नेपालले माओवादीलाई अराजक गतिविधिमा नलाग्न र अरु दलका नेतालाई गालीगलौज नगर्न , गाली गलौजलाई जारी राखे आफूले पोल खोलिदिने धम्की पनि उनले दिए । तर के-कस्तो पोल खोल्ने हो भन्ने विषयलाई भने उनले प्रस्ट पारेनन् । ३ सय ६ सभासद्को समर्थन प्राप्त भएको आफ्नो सरकारलाई अबैधानिक भन्ने अधिकार कसैलाई नभएको बताएका छन्। आफ्नै असक्षमताको कारण माओवादी नेतृत्वको सरकार ढलेको भन्दै उनले आरोप प्रत्यारोप त्याग्न माओवादीलाई आग्रह गरे। प्रधानमन्त्री नेपालले माओवादीले आफूले राम्रो काम गर्न नसेकाले आफ्नो नेतृत्वको सरकारको डाह गरेको टिप्पणी गरे। " आँफूले पनि केही गर्न नसक्ने अनि अरुले गर्न लाग्दा विरोध गर्ने प्रवृत्ति बाँदरे हो," सरकार विरुद्ध आन्दोलन गरिरहेको माओवादी प्रति प्रधानमन्त्री नेपालले टिप्पणी गरे।

नेपालले सरकारविरुद्ध एकीकृत नेकपा माओवादीले गरिरहेको आन्दोलनको कुनै अर्थ नभएको दाबी गरे। उनले सरकारविरुद्ध माओवादी आन्दोलनले माओवादी आफैं राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा बदनाम हुने बताए । माओवादीले अराजक र उदण्ड कि्रयाकलाप प्रर्दशन गरिरहेको भनाइ पनि प्रधानमन्त्री नेपालको थियो । "यसले उनीहरुलाई नै दलदलमा फसाउदैछ," उनले भने "यस्तो क्रियाकलाप जारी राखे उनीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बदनाम हुने छन्।" सेनापति सम्बन्धमा तत्कालीन सरकारले गलत निर्णय गरेकाले आफनो नेतृत्वको सरकारले त्यसलाई सच्याएको भनाइ पनि उनको थियो । नेपालले माओवादीको दिमागमा नै उग्रवामपन्थी सोच रहेको उल्लेख गर्दै उनले भने, "यसले उनीहरुलाई अतिवादतर्फ लैजाँदैछ।" उनले भाषणको अधिकांश समय माओवादीको आलोचनामा खर्चिएका थिए। "माओवादीमा आफ्नो घर पनि नबनाउने र अर्काको घर पनि भत्काउने बाँदरे प्रवृति देखिएको छ," उनले भने । प्रधानमन्त्री नेपालले माओवादीहरु सरकार चलाउन असफल र असक्षम भएको दाबी गरे। "उनीहरु आफैंले चलाउन नसकेर सरकार छाडेका हुन्" उनले भने । तर अहिले उनीहरुको निद्राहराम भएकाले नै अराजक गतिविधितर्फ आर्कषित भएको पनि उनले बताए ।

प्रधानमन्त्री नेपालले माओवादी सरकारले प्रधानसेनापति हटाउने निर्णय गरेर गल्ती गरेकाले आफूले त्यसलाई सच्याएको दाबी गरे। उनले माओवादीले राष्ट्रपतिको कदम विरुद्ध गरिरहेको आन्दोलन औचित्यहीन भन्दै अनावश्यक आन्दोलन नगर्न बरु रचनात्मक भूमिका काम गर्न माओवादीलाई आग्रह गरे। प्रधानमन्त्री नेपालले माओवादी वर्तमान सरकारले राम्रो काम गरी जस लिन्छ कि भन्ने परिस्थितिबाट डराएको आरोप पनि लगाए। प्रधानमन्त्री नेपालले आफू दुम्सीको काँडामाथि रहेको भन्दै सबैको सहयोग र समझदारी रहेमात्र नयाँ संविधान निर्माण गर्ने र शान्ति प्रकृयालाई टुंङ्गोमा पुर्‍याउन सम्भव रहेको बताए। उनले माओवादी जनमुक्ति सेना, वाइसीएल र द्वन्द्व पीडितलाई व्यवस्थापन र राहत उपलब्ध गराउन सरकार गम्भीर रुपले लागेको जानकारी कार्यक्रममा दिए। "सरकारको नेतृत्व गरेकोले सेनाको व्यवस्थापन र पीडितलाई राहत उपलब्ध गराउने मुख्य जिम्मेवारी मेरो हो," प्रधानमन्त्री नेपालले थपे, "यसमा शंका नगर्न म माओवादी साथीहरुलाई आग्रह गर्दछु।" एमाले डाँछि गाउँ कमिटीद्वारा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री नेपालले वर्तमान सरकारलाई अवैधानिक भन्ने माओवादी बाँदरे प्रवृतिको भएको बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक