20090619

'संसद् बहिष्कार मात्र गरेका थियौं अबदेखि अबरुद्ध नै गर्ने बैठकले निर्णय गरेको छ'

एकीकृत नेकपा माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अगिल्लो सरकारले अबकास दिएका प्रधानसेनापति रुक्मागंत कटवाललाई फिर्ता गर्ने मन्त्रिपरिषद् निर्णयलाई 'प्रतिगमनको नियोजित योजना' भएको आरोप लगाएका छन् । आफ्नो नेतृत्वको सरकारले गरेका निर्णयहरु उल्ट्याएर माधव नेपाल नेतृत्वको सरकारले एकपछि अर्को प्रतिगमनकारी काम गर्दैआएको समेत दाबी गरे । सेना र विदेशीको जगमा उभिएको सरकारका निर्णयलाई सच्याउन सशक्त आन्दोलन गर्नुपर्ने बताए ।
'पहिलेको सरकारले गरेका निर्णय एकपछि अर्को उल्टाउने गरेकोमा आपत्ति जनाउादै हिजो अस्ति संसद् बहिष्कार मात्र गरेका थियौं अबदेखि अबरुद्ध नै गर्ने बैठकले निर्णय गरेको छ,' बैठकपछि प्रवक्ता दिनानाथ शर्माले भने । गतसाता मृत अवस्थामा भेटिएका माओवादी काठमाडौं जिल्ला समितिका सदस्य राजेन्द्र फुयालको हत्या गरिएको भन्दै देशैभर सशक्त आन्दोलन चलाउने पनि बैठकले निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए । शर्माका अनुसार फुयालको हत्या र मन्त्रिपरिषद्को निर्णयविरुद्ध शुक्रबार साँझ देशैभर मशाल जुलुस गर्ने र आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयसहित सम्पूर्ण कार्यालय र काठमाडौंमा सिंहदरवार घेराउ गर्ने कार्यक्रम रहेको छ ।
एकिकृत माओवादी नेतृत्वको सरकारले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति बनाएपछि विवादमा फसेका बलाध्यक्ष रथी कुलबहादुर खड्काले शुक्रबार सेनाबाट औपचारिकरुपमा बिदा लिएका छन्। ३९ वर्षसम्म नेपाली सेनामा सेवा गरेका रथी खड्काले बलाधिकृत रथी छत्रमान गुरुङलाई बरबुझारथ गरी सेनाबाट बिदा लिए। गत वैशाख २० गते पुष्पकमल दाहाल नेतृत्वको सरकारले सत्ता साझेदार सबै दलको असहमतिबीच प्रधान सेनापति रुक्मांगत कटवाललाई अवकास दिई खड्कालाई कायममुकायम प्रधान सेनापतिमा मुकरर गरेको थियो। "आज बिहान कार्यालय जानासाथ सैनिक सचिव विभागबाट मेरो म्याद सकिएको पत्र आयो", खड्काले नागरिकसँग भने- "सबै बरबुझारथ गुरुङ जर्साबलाई गरें, औपचारिक बिदाईको कार्यक्रम थिएन।" खड्काले तत्काल आफू तीर्थाटनमा जान इच्छुक रहेको बताए। उमेरको हद र नेपाली सेनामा रथीको रुपमा सेवा गर्ने समय उनको शनिबार देखि संकिदै थियो। खड्‍काको अवकास सँगै उनीमाथि कारबाही गर्ने भन्ने सेनाका उच्च अधिकारीहरुको तयारी पनि टुंगिएको छ। खड्कालाई आफूभन्दा माथिका अधिकृतलाई जानकारी नदिई प्रधानमन्त्रीलाई भेटेको र कायममुकायम सेनापतिको पत्र बुझेको भन्दै सेनाको कानुन विभागले कारबाही गर्ने प्रक्रिया सुरु गरेको थियो। तर, प्रधानमन्त्री माधव नेपालको राजनीतिक हस्तक्षेपपछि उनीमाथिको कारबाही प्रक्रिया सेनाले अगाडि बढाउनबाट रोकेको सैनिक उच्च स्रोतले जानकारी दियो। खड्का बिदाईका लागि प्रधान सेनापति रुक्मांगत कटवालसमक्ष भने गएनन्। हरेक शुक्रबार बस्ने सेनाका उच्च अधिकारीहरुको पिएस‌ओ बैठक आज पनि थियो। कायममुकायम प्रधान सेनापतिको पद दिएपछि एउटा मात्र पिएसओ बैठकमा सहभागी भएर अन्य सबै साप्ताहिक बैठकमा सहभागी हुन छाडेकाले शुक्रबारको बैठकमा पनि उनी गएनन्। सेनाका उच्च अधिकारीको बिदाइमा सैनिक मुख्यालयभित्र हुने कार्यक्रम पनि यसपटक भएन। "सेनाका यति ठूला अधिकारीकोले अहिलेसम्म नै यति नराम्रोसँग बिदाइ लिनुपरेको थिएन होला," मुख्यालयका एक अधिकृतले भने। बलाध्यक्ष रथी खड्काले शनिबारदेखि अनिवार्य अवकास पाउँदै थिए। तर शनिबार बिदा भएकाले शुक्रबार नै उनले बरबुझारथ गरेका हुन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खड्कालाई दिएको कायममुकायम प्रधान सेनापति पदको निर्णय खारेज गरेको थियो। अवकाश प्राप्त जीवनमा राजनीति गर्ने कुनै सोच नभएको खड्काले बताए 'कृषकको छोरा कृषिमा बढी अभिरुचि छ, कृषिको लाइफ-सर्कल हेर्छु होला। म सिपाही हुँ, त्योभन्दा बढी के गर्न सक्छु र। त्यस बेलामा विगतका तीतामीठा अनुभवचाहिँ सम्झनेछु'- उनले भनेका थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक