20090615

कती गर्छौ बन्द हड्ताल, कति दिन्छौ जनतालाई सास्ती ........?

पुष्पकमल दाहालले प्रधानमन्त्री भएका बेला विकासको मुख्य बाधक बन्द भएकोले कम्तिमा दुई वर्ष बन्द निषेध गर्न राजनीतिक सहमति जुटाउनु पर्ने बताएका थिए। तर माओवादी सत्ताबाट बाहिरिएपछि दैनिक मुलुकका कुनै न कुनै भाग बन्द हुने गरेका छन्। सम्मुनत नेपालको सपना बाँड्ने दलहरुले सोमबार काठमाडौं, सेती-महाकाली, चितवन, कालिकोट बन्द गराएका छन्।काठमाडौंमा बिहानैदेखि यातायात ठप्प पारिएको छ। माओवादी जिल्ला कमिटीका सदस्य राजेन्द्र फुयाँलको हत्या भएको बताउँदै माओवादीले काठमाडौं बन्दको आव्हान गरेको हो। माओवादी कार्यकर्ताले चोक चोकमा बसेर बिहानैदेखि सवारी साधन रोकेका थिए। उनीहरुले साइकल चलाउन समेत अवरोध गरेका छन्। साइकल र रिक्सामा रहेका यात्रुलाई फलामे रड सहित बसेका माओवादी कार्यकर्ताले रोकेर ओराल्दै डोराएर हिडाउन लगाएका छन्। वाइसीएल कार्यकर्ताले बन्दका क्रममा बालाजुमा दुईवटा ट्या्क्सी र एउटा माइक्रोबसमा क्षति पुर्‍याएका छन्।चावहिलमा शहीद गंगालाल अस्पतालका डाक्टर रोशन राउत चढेको मोटरसाइकल जलाइदिएका छन्। माओवादी कार्यकर्ताले कंलकीमा रेलिङ भाँचिदिनुका साथै सडकमा ल्याएर जलाइदिएका छन् भने त्रिपुरेश्वरमा डिभाइडर सडकमा जताततै फालिदिएका छन्। बालाजुमा एभिन्यूज टेलिभिजनका पत्रकार कृष्ण न्यौपानेको मोटरसाइकल तोडफोड गरिदिएका छन्।एकसाता अघि अपहरणमा परेका फुँयालको शिक्षण अस्पतलामा पोष्टमार्टम भइसकेपछि आइतबार मात्र आफन्तलाई जानकारी दिएको बताइएको छ। अस्पतालको पोस्टमार्टम रिपोर्टमा फुयाँलको मृत्यु विष सेवनबाट भएको उल्लेख भए पनि माओवादीले युथफोर्सले हत्या गरेको आरोप लगाएको छ।
प्रहरीले काभ्रेस्थलिको प्लटिङमा बेहोस अवस्थामा फेला पारेर उपचारका लागि शिक्षण अस्पताल लैजादै गर्दा चारदिनअघि उनको मृत्यु भएको जनाएको छ। बेहोस अवस्थामा अज्ञात व्यक्तिलाई फेला पारिएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्युपछि मात्र फुँयालको पहिचान भएको प्रहरीले जनाएको छ।
प्रहरीले शबको २८ गते शिक्षण अस्पताल महाराजगंजमारुपमा पोष्टमार्टम गराएको थियो। आइतबारमात्र अस्पतालले आफन्तलाई खबर गरेपछि हत्या भएको पुष्टि भएको थियो। काठमाडौं काभ्रेस्थलिमा घर भएका फुयाल एक सातादेखि सम्पर्कमा थिएनन्। हत्या एमाले निकट युथफोर्सले गरेको भन्दै आफन्त र माओवादी कार्यकर्ताले आइतबार शिक्षण अस्पताल महाराजगंज अगाडि चक्काजाम गरेका थिए।
माओवादी कार्यकर्ताले बालाजु प्रहरी वृतमा पनि तोडफोड प्रयास गरेका थिए। संसदको आइतबारको बैठकमा माओवादी सभासद् पम्फा भुषालले सरकारमा सहभागी दलका कार्यकर्ताले फुयाँलको अपहरण गरेको आरोप लगाएकि थिइन्।

नागरिक सर्वोच्चता र राष्ट्रपति कदमबिरुद्धको सङ्कल्प प्रस्ताव सदनमा छलफल माग नगराएको विरोधमा माओवादीले सोमबार सेती र महाकाली अञ्चल बन्द गराएका छन्। सेती-महाकाली राज्य समितिको आह्वानमा गरिएको बन्दले सेतीका बझाङ, बाजुरा, डोटी र अछाम तथा महाकालीका दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको जनजीवन प्रभावित छ। ती जिल्लामा यातायातका साधन र बजार पसल बन्द छन्।
नागरिक सर्वोच्चता माग गर्दै आइतबार सडक शिक्षण गरेको माओवादी सम्बद्ध अखिल नेपाल शिक्षक सङ्गठनले सोमबार देशभरका शिक्षण संस्थामा मौन अध्यापन गर्दै छन्।
आइतबार आव्हान गरेको कालिकोट बन्दमा एमाले कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको भन्दै माओवादीले सोमबार फेरि बन्द गराएका छन्।
पिछडाबर्गको बन्दले यातायात ठप्पनेपाल पिछडाबर्ग महासघले आह्वान गरेको मधेश बन्दका कारण पूर्वी तराइको पूर्व पश्चिम राजमार्गमा सवारी आवागमन हुन सकेको छैन। बन्दका कारण गन्तव्यका लागि हिडेका सवारी साधन सिरहाको मिर्चैया र सप्तरीको भारदहमा अलपत्र छन्।सवारी बीच बाटोमै रोक्किदा यात्रामा रहेका हजारौ यात्रु अलपत्र छन्। पिछडा बर्गको बन्दको प्रभाव अन्य जिल्लामा नदेखिए पनि सिरहा र सप्तरीमा बढी छ। बन्दका कारण सिरहा र सप्तरीमा यातायातका साधन चल्न सकेको छैन। यहाँका बजार आशिंक रुपमा मात्र खुलेका छन्। शैक्षिक सस्थान बन्द छ। बन्दकर्ताहरुको उपस्थिति सडकमा नदेखिए पनि ठाउँ ठाउमा ढुगा तेर्साएर सडक अबरुद्ध पारिएको छ। सिराहाको गोलबजार, धनगढी, लहान र सप्तरीको कदमाहा, कल्याणपुर, रुपनि, भारदहलगायतको सडक खण्डमा महासंघ कार्यकताले ढुगा तेर्साइ अबरोध गरेका छन्।

उता एक महिना अघि अज्ञात समूहद्वारा हत्या गरिएका नेविसंघ चितवन जिल्ला सदस्य गोबिन्द पौडेलको हत्यारालाई कारबाही माग गर्दै चितवन जिल्ला बन्द छ। बन्दका कारण पूर्वपश्चिम राजमार्गमा यातायातका साधन चलन सकेका छैनन् भने बजार पनि बन्द छ। गोबिन्द पौडेल 'गोपी' लाई भरतपुरको चितवन मावि परिसरमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको थियो ।हत्यारालाई कार्बाही माग गर्दै गठित दवाव समुहले बन्द आह्वान गरेको हो।
दाङमा पूर्वपश्चिम राजमार्ग बन्दपूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ खण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएको छ। भारतीय ज्यादतीका कराण बिस्थापित भएका सीमाबासीहरुले आफ्नो वन क्षेत्र अतिक्रमण गरी बसेको भन्दै देउखुरीको कर्री सामुदायिक वन समूहले राजमार्ग अवरुद्ध गरेको हो।वन समूहले सतबरियाको वनघुस्री र अर्जुनखोलामा ढुङ्गामुढा थुपारेर राजमार्ग बन्द गराएका छन्। बन्दका कारण पूर्वपश्चिम राजमार्ग भएर चल्ने र सदरमुकाम घोराही आउने जाने सवै मोटरगाडी रोकिएका छन्।राजमार्ग अवरुद्ध हुँदा दर्जनौ सवारी साधन र सयौ यात्रुहरु बिच बाटोमा अलपत्र परेका छन। दाङको सीमा क्षेत्रमा राज्यको उपस्थित नहुँदा भारतीय पक्षबाट ज्यादती भएको र बिकासका पूर्वाधारबाट ठगिएको भन्दै सिमाबासीहरु जेठ १४ गतेदेखि कर्री वन समूहमा बस्दै आएका छन्।सडक अवरुद्धपछि अर्जुनखोला नजिकैको वेस क्याम्पमा बस राकिराखेका वेला क्याम्पको शौचायलमा पिसाव गर्न गएका एक यात्रु माइन विस्फोटमा परी घाइते भएका छन्। काठमाण्डौबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ३ ख ८९९५ नम्वरको वसका यात्रु गोपाल विक घाइते भएक हुन्। घाइते लाइ उपचारार्थ नेपालगन्ज लगिएको छ।


प्रहरी नायव निरीक्षकको हत्या

प्रमुख जिल्ला अधिकारीलाई

मार्ने धम्कि

काठमाडौंको गौरीघाटस्थित गुह्वेश्वरी मन्दिरको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक दोलखराज सुवेदीलाई अज्ञात समूहले सोमबार बिहान हत्या गरेको छ। सुवेदीको शब ब्यारेकको उनी सुत्ने कोठाभित्र चुकुल लगाएर हत्या गरिएको अवस्थामा भेटिएको गौशाला प्रहरीले जनाएको छ। स्याङ्जा फेदिखोलाका सई सुवेदीको दरबन्दी बागलुङ्ग भए पनि उनी पहरा गण त्रिपुरेश्वरमा कार्यरत थिए। उनको घाँटीमा छुरी प्रहार गरी हत्या गरिएको प्रहरीले बताएको छ।

व्यावसायी र सर्वसाधरणलाई धम्काउँदै रकम असुल्दै आएका सशस्त्र समूहले जिल्ला प्रमुखलाई नै ज्यान मार्ने धम्कि दिएका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई संयुक्त जनतान्त्रिक तराई मुक्तिमोर्चाका कार्यकर्ताले ज्यानमार्ने धम्की दिएका हुन्। भारतीय नंबरको मोवाईलबाट कार्यलयमा रहेको ५२२११० नंबरको टेलिफोनमा यस्तो धम्की आउन थालेको भण्डारीले जानकारी दिए। "विभिन्न आरोप लगाउँदै मोर्चाका कार्यकर्ताले ज्यान मार्ने धम्की दिएका छन्" भण्डारीले नागरिकसंग भने - "धम्की दिनेको खोजीमा प्रशासन लागीपरेको छ।" भारतिय नंबरको कल मोवाईलमा रिसिभ गर्न छाडेकाले उक्त समूहले कार्यकक्षको फोनमा विगत ३ दिनदेखी ज्यानमार्ने धम्कीदिन थालेको उनले सुनाए। "गाडी बमले उडाइदिन्छौ भने," भण्डारीले थपे - "हिन्दी भाषामा वोलीएको उक्त धम्कि निक्कै कठोर थियो।" टेलिफोन गर्ने उक्त समूहले करिब १ बर्ष अगाडि जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत मोहन मैनालीको हत्या गरेको दावी समेत गरेको छ। "प्रमूख जिल्ला अधिकारीको पनि त्यस्तै हविगत गराउने छौं" निधारमा हात राख्दै भण्डारीले भने- "तर यी धम्कीले म डराएको छैन।" संक्रमणकालीन अवस्थाको बाध्यताका कारण यस्ता समूहको मनोवल बढेको भण्डारीको ठहर छ । राज्यले सशस्त्र समूह सम्बन्धी आफनो स्पष्ट धारणा समयैमा राख्न जरुरी रहेको उनले सुनाए।

आफ्नै बाबु मारे वाइसियलले

शनिबार आफ्नै छोराको पिटाइबाट गम्भीर घाइते भएका पाँचथर चोकमागु-८ का डिल्ली र्राईको शनिबार राति मृत्यु भएको छ। वाईसीएल कार्यकर्तासमेत रहेका छोरा दीपक र्राईले आफ्नै बाबुलाई जाँड चलाउने दाबिलोले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घाइते र्राईको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएपछि मृत्यु भएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक