गोहिको आसु झार्न कती सिपालु है हामी नेपाली ?!
शैलजा आचार्यका नाममा दुई शब्द
यहाँ चलन यस्तै छ दिदी
बाँचुन्जेल मान गर्न जान्दैन
मरेपछि दान गर्ने मान्छेको जातले
खाँचो टार्न प्रयोग गर्छ
स्वार्थ पूरा गर्न
उक्साउँछ, हौस्याउँछ, उफार्छ, बजाउँछ
लुट्छ, निचोर्छ, चुस्छ, खोस्टो पारेपछि
घुयेँत्रो हान्छ अनि फर्केर हेर्दैन मान्छेको जातले
यहाँ चलन.....
Updated.......
'क्रुर र अपराधी शैलीको राजनीतिले बिर्सिएकी एक महान् नेपाली महिला योद्धा, जसको इतिहास र योगदानबाट आजकाले केही पाठ नसिकेपनि भविष्यले उच्च सम्मान गर्नेछ'– शुक्रबार बिहान धर्तिबाट बिदा भएकी कांग्रेस नेतृ शैलजा आचार्यलाई झापाका कुमार रेग्मीले श्रद्धान्जली सभामा राखिएको शोक पुस्तिकामा यसरी सम्झिकएका छन्। जब यी नेतृ दुनियाबाट बिदा भइन्–नेता, कार्यकर्ता र उनका सर्मथकहरुको ठूलो पङ्ति अन्तिम श्रद्धान्जली दिन कांग्रेस कार्यालय मुख्यालयमा एकत्रित भएका थिए र भावविह्वल भएर श्रद्धान्जली दिएका थिए। काग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईदेखि एमाले, माओवादीका नेताहरुले समेत नेतृ आचार्यलाई श्रद्धाञ्जलिका शब्दहरु व्यक्त गरे। अर्का शुभेच्छुक कैलालीका विमलप्रसाद जोशीले उनलाई जीवित छँदा कसैले पनि सम्मान व्यक्त नगरेको जनाउँदै भावविह्ल भएर लेखेका छन्– 'जीवित छँदा कसैले सम्मान गर्न र संझन उपयुक्त नठाने पनि तिमी सधै अमर रहनेछ्यौ। पार्टीमा सुकिला लुगा लगाउने र चिल्ला गाडी चढ्ने अवसरवादी, कुटिल, लोभिपापी नेतृत्वको बोलवाला भएकोमा तिम्रो कदर नहुनु स्वभाविक नै हो। इतिहास र नेपाली जनताले तिम्रो उच्च मूल्याकन गर्नेछन्। दिदीको निष्ठा र सत्यवादिता अनन्त अटल रहोस्।'
शैलजा आचार्यलाई धेरैले निष्ठा र सिद्धान्तको राजनीति गर्ने साहसिक महिला नेतृका रुपमा चिन्ने गरेका छन्। पछिल्ला दिनहरुमा उनको राजनीतिक सक्रियता शून्य थियो, यद्यपि उनको लोकप्रियतामा कमी थिएन्। उनको जीवन जति राजनीतिक उतारचढावमा बित्यो, अन्तिम क्षण त्यत्तिकै संर्घषमय बन्यो। जीवनभरि लोकतन्त्रका लागि संर्घष गरेकी आचार्यले आफ्नो जीवनको उत्तरार्धतिर चाँहि मृत्युसँग ठूलै संर्घष गर्न पर्यो। सधै विचार र आस्थामा अडिग आचार्यलाई श्रद्धान्जली दिन पुगेका कार्यकर्ता र शुभेच्छुकहरुले पनि आचार्यलाई यसैगरी सम्झिए। शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनीप्रति श्रद्धान्जली दिने सयौं कार्यकर्ता र शुभेच्छुकले उनको अनवरत लोकतन्त्रप्रतिको आस्था र उनको निष्ठाको राजनीतिक कारण सम्झिए। उनको अवसानस“गै नेपाली राजनीतिको निष्ठा र नैतिकताको एउटा पाटोको अनि अवसान भएको भन्दै शोक पुस्तिकामा हुम्लाका दीपक भण्डारीले लेखेका छन्–शैलजा दिदीसँगै निष्ठा, नैतिकता, मूल्य र मान्यताको राजनीतिको पनि अवसान भएको छ।' अर्का शुभेच्छुकले आचार्यलाई सम्झदै शोक पुस्तिकामा लेखेका छन्–जबसम्म राजनीतिमा निष्ठा र नैतिकता सिद्धिदैन, तबसम्म उनी जीवित रहनेछिन्।'
आचार्यलाई अन्तिम श्रद्धान्जली दिन पुगेका सैयौले शोक पुस्तिकामा श्रद्धान्जली व्यक्त गरेका छन् र उनको योगदानलाई अविस्मरणीय भनेर लेखेका छन्।
उनीप्रति श्रद्धान्जली व्यक्त गर्न शुभेच्छुकदेखि फरक पार्टीका विभिन्न नेतासम्म सानेपा पुगेका थिए। कांग्रेसका सन्त नेता कृण्णप्रसाद भट्टराईले पनि शोक पुस्तिकामा हस्ताक्षर गर्दै लेखेका छन्–मैले उहाँको निधनलाई अपूरणीय क्षतिको संज्ञा दिएको छु।'
शोक पुस्तिकामा एमाले नेता भरतमोहन अधिकारीले उनीप्रति श्रद्धान्जली व्यक्त गर्दै लेखेका छन्– शैलजा आचार्यलाई साहसिक महिला नेतृत्वको रुपमा इतिहासले सधै सम्झिइरहने छ। उनले सधैं प्रजातन्त्रप्रति आस्था राख्नेका लागि प्रेरणा दिइरहने छिन्।'
एमालेकै नेता शकंर पोखरेलले पनि उनलाई क्रान्तिकारी योद्धा भएको शोक पुस्तिकामा उल्लेख गरेका छन्। त्यस्तै, अष्टलक्ष्मी शाक्यले उनको मृत्युबाट इमान्दार र साहसी महिलाको अभाव भएको लेखेकी छिन्। एमालेकै नेता केशव बडालले शोक पुस्तिकामा लेखेका छन्–नेपालको लोकतान्त्रिक आन्दोलनको अनन्त यात्री।'
शोक पुस्तिकामा उपस्थित विभिन्न दलका शीर्ष नेतादेखि शुभेच्छुक सम्मले शोक व्यक्त गर्दै हस्ताक्षर गरेका छन्। शुभेच्छुकहरुले भने उनको योगदानलाई पार्टी र देशले चिन्न नसकेकोमा शोक पुस्तिकामा गुनासो गरेका छन्। सञ्चारकर्मी प्रकाशचन्द्र दाहालले लेखेका छन्–नेपाली कांग्रेसले उहा“को राजनीतिक योगदानको सम्मान गरोस्।'
शोक पुस्तिकामा नेमकिपाका नेता प्रेम सुवालले पनि उनीप्रति संम्झदै लेखेका छन्–देश र जनताको सेवामा नेतृको योगदान सदा स्मरणीय रहनेछ।'
कतिपय शुभेच्छुकले उनको अवसानले प्रजातान्त्रिक समाजवाद र राष्ट्रियताको चुरो कमजोर भएको उल्लेख गरेका छन्। महान् नेता बीपी पथकी अविचलित यात्री'–धनुषाका शिवकुमार यादवले लेखेका छन्– उनको सर्मपण सदा स्मरणीय छ।'
आचार्यको अनवरत संघर्ष, राजनीतिक तपस्या, निष्ठा र इमान्दारितालाई धेरैले शोक पुस्तिकामा संझेका छन्। तर, पार्टी र देशप्रति उनको योगदानको उचित कदर नभएकोमा भने धेरै शुभेच्छुकले शोक पुस्तिकामा असन्तुष्टि व्यक्त गरेका छन्। शोक सभामा उपस्थित राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले पनि भने–उहाँको योगदानको उचित कदर भएको छैन्
आचार्यको पशुपति आर्यघाटमा दाहसंस्कार गरियो। नेतृ आचार्यको दाहसंस्कार भइरहेका बेला नेपाली सेनाले ९ तोपको सलामी दिएको थियो। सेनाले २०३८ सालको राजपत्रमा बहाल र पूर्व मन्त्रीस्तरका व्यक्तिको निधन हुँदा सलामी दिने भन्ने उल्लेख भएअनुसार सलामी दिइएको बताएको छ। "गृह मन्त्रालयबाट आएको अनुरोधमा सलामी दिइएको हो" सेनाका प्रवक्ता सहायक रथी रमिन्द्र क्षेत्रीले भने। कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका पार्टी अध्यक्ष झलनाथ खनालसहित सबैजसो पार्टी शीर्ष नेताहरु उनलाई श्रद्धान्जली दिन पार्टी कार्यालय सानेपा पुगेका थिए। माओवादीका नेताहरु कृष्णबहादुर महरा र देव गुरुङ पनि श्रद्धान्जली अर्पणका लागि पुगेका थिए। नेतृ आचार्यको शव अन्तिम श्रद्धान्जलिका लागि विहान ९ बजेदेखि १२ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको थियो । त्यसपछि साँढे १२ बजे पशुपति आर्यघाट लगिएको थियो। अविवाहित शैलजाको पार्थिव शरीरमा भाइ प्रदीप आचार्यले दागबत्ती दिएका थिए। उनको रेखदेख पनि यिनैले गर्दै आएका थिए।
यसैबीच प्रधानमन्त्री माधवकुमार नेपालले राज्यका तर्फबाट स्वर्गीय आचार्यप्रति उच्च सम्मान प्रकट गरेका छन्। उनले जारी गरेका वक्तव्यमा आचार्यको निधनबाट आफू अत्यन्त दुखित भएको उल्लेख छ। शोक वक्तव्यमा प्रधानमन्त्री नेपालले आचार्यको नेपाली राजनीतिमा विशिष्ट र मौलिक पहिचान रहेको उल्लेख गर्दै भनेका छन्- उनी सधैं विचार र मान्यतामा अडिग रहिन।
...........................................
नेतृ शैलजा आचार्यको निधन
नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यको ६५ बर्षको उमेरमा शुक्रबार बिहान ४:२५ मा उपचारका क्रममा त्रि बि शिक्षण अस्पतालमा निधन भएको छ। उनी लामो समयदेखि अल्जाइमर्स र निमोनियादबाट पीडित थिइन्। घरमै बसेर स्वास्थ्य लाभ गरिरहेकी आचार्यले असजिलो महसुस गरेपछि बुधबार उनलाई अस्पताल पुर्याइएको थियो। नेतृ आचार्यको शव अन्तिम श्रद्धान्जलिका लागि विहान ९ बजेदेखि १२ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपामा राखिने छ । त्यसपछि साँढे १२ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने छ । आचार्य नेपालको पहिलो महिला उपप्रधनमन्त्री हुन्। वि.सं. २०१७ सालमा राजालाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताउने आचार्य वि.सं. २०४८ सालकोआमनिर्वाचनमा मोरङ जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भईकरीब १ वर्ष कृषि वन तथा भू-संरक्षण मन्त्री रहिन्। गिरिजाप्रसाद कोइरालाका नेतृत्वको सरकारमा कृषि मन्त्री रहँदा सरकारमा भ्रष्टाचार व्याप्त छ भनी उनले मन्त्रीबाटै राजीनामा दिएकि थिइन्। वि.सं. २०५१ सालकोमध्यावधि निर्वाचनमा उनी पुनः मोरङ क्षेत्र नं. ७ बाट प्रतिनिधिसभामा निर्वाचित भईन् । २०५३ सालमा उनी उप प्रधानमन्त्री तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्। उनको जन्म वि.सं. २००१ सालमा मोरङ जिल्लाको विराटनगरमा भएको थियो। समाजशास्त्रको स्नातकोत्तर तह सम्म अध्ययन गरेकी आचार्य कांग्रेस संस्थापक नेता बी.पी. कोइराला तथा सभापति गिरिजाप्रसाद कोइरालाकी भान्जी हुन्। आचार्य बिपीका पिता कृष्णप्रसाद कोइरालाले जेठी पत्नीकी छोरी इन्दिराकी छोरी हुन्। कृष्णप्रसाद कोइरालाकी कान्छी दिव्या कोइरालाबाट बी.पी., केशव कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मिएका हुन्।
............................
सास हुन्जेलसम्म योगदानको कदर हुनेआस नभए, मृत्युपछिको लासमा ओढाउने झण्डाको कस्तो मूल्य र अर्थ रहन्छ ? यो शैलजा दिदीको आत्मामा रूमल्लिएको प्रश्न हुनसक्छ । धेरै दिनदेखि टिचिङ्ग हस्पिटल जाने जमर्को गर्दा गर्दै महिला नेता दिदी शैलजा आचार्य फेरि अस्पताल भर्ना भएको खबरले अस्पताल जानै पर्ने थियो । शैलजालाई देखेपछिका दृश्यले म इतिहास सोच्न बाध्य भए । दिदीको छेवैमा बसेर हात सुम्सुम्याउने हिम्मत आएन । डाँको छोडेर रून मन लाग्यो, तर सम्हालिएँ । शैलजा जस्तो छवि बनाउन सफल व्यक्तित्वको यस्तो हालतमा त कसैको ध्यान पुगेको छैन भने मेरो आँसुको के मूल्य होला ? मनमनै कुरा खेलाएँ मलाई लाग्यो बरू त्यो आँसुलाई शक्तिमा बदल्न उपयुक्त हुन्छ भन्ने लाग्यो ।
विगतको राजनीतिक परिदृश्यको याद आयो । पञ्चायती राजनीतिको विरोधसँगै राजनीतिमा महिलाको सक्रियता बढेको हो । त्यस क्रममा बी. पि. कोइराला र सुवर्ण शमशेरसँगको सहकार्यका कारण मङ्गलादेवी सिंह, शैलजा आचार्य र नोना कोइरालाले राजनीतिमा महìवपूर्ण भूमिका निर्वाह गरेका थिए । २०१७ फागुन ७ गते शाही कदमको विरोधको प्रदर्शनमा सहभागी अगुवामध्येको नाम हो शैलजा आचार्य । उत्साह र बहादुरीका साथ विरोध प्रदर्शनमा उत्रेका बेलामा सेनाद्वारा गिरफ्तार भई शैलजा आचार्य ३ वर्ष ६ महिना जेल परिन् । २०१८ सालमा नेपाली काङ्ग्रेसले राजा महेन्द्रको राष्ट्रघाती कदमको विरोधमा सञ्चालन गरेको सशस्त्र सङघर्षको शुरूवातमा शैलजा आचार्य, नोना कोइरालाले हातहतियार खरिद गरेर सम्बन्धित ठाउँमा पुर्याउने कार्य गरेका थिए । महँगी विरोधी आन्दोलन, सामन्तीहरूको ढुकुटी, फोरेर वितरण गर्ने कार्यक्रम होस् अथवा सुकुम्बासी आन्दोलन नै किन नहोस् सबै खाले आन्दोलनमा शैलजा आचार्य खरो रूपमा उत्रिन् । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति प्रतिपादन गरी बी. पी., गणेशमान, शैलजा आचार्यलगायत अन्य व्यक्तिहरू नौ वर्षको प्रवासी जीवन व्यतित गरी नेपाल प्रवेश गर्ने क्रममा शैलजा आचार्यलाई एयरपोर्टमा नै गिरफ्तार गरी एक वर्ष फेरि जेलमा राखियो ।
सरकारलाई दबाब दिन २०४२ साल जेठमा नेपाली काङ्ग्रेसले सत्याग्रह आन्दोलनलाई सफल पार्न गरेको जनमत सङ्ग्रहमा गठित ''नेपाल महिला बहुदल समिति'' को सक्रियतामा आन्दोलन गर्दा शैलजा आचार्य, नोना कोइराला, मङ्गलादेवी सिंह, दुर्गा दाहाल, साहना प्रधान जस्ता महिला नेताहरू गिरफ्तारीमा परेका थिए । त्यसमा शैलजा आचार्यको भूमिका उल्लेखनीय थियो । पटक-पटक गोलीको घाइते, गिरफ्तार, निर्मम यातना, जेलनेल सहँदै जनआन्दोलनलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेता शैलजा आचार्य कर्मठ योद्धा हुन् । उत्पीडन, असमानता, उपेक्षा, शोषण दासता, दरिद्रता, अशिक्षा, रोग, भेदभाव आदिबाट महिलालाई मुक्त गरी उत्थान, व्यक्तित्व विकास र महिला मुक्तिका मार्गमा अघि बढ्ने शैलजाका पाउहरू अव हामीमाझ छैनन ।
कालो शासनको विरोधमा प्रकाश छर्न तम्सिने उनका तेजिला र जोशिला आँखाहरूबाट वेदनाका आँसुहरू टल्पल-टल्पल टल्पलाइरहे । प्रजातन्त्र र स्वतन्त्रता बचाउनका लागि आफ्नो उमेरको सम्पूर्ण समय अर्पिएकी शैलजा अब हाम्रो स्मृतिमा मात्र जीवित छिन । अब साहसी, आँटिली, जुझारू, विराङ्गना शैलजाका रूपमा फर्केलान् भन्ने आशा गर्नु भनेको हामी अवचेतन तिर र्फकनु हो । आफ्ना पारिवारिक खुशी र समानतालाई समेत तिलाञ्जली दिएर राजनीतिमा जीवन अर्पेकी आचार्यको निधनमा उनीप्रति सम्मान गर्दै आज आँसु नझर्ने र सास नरोकिने मान्छे सायदै कोही होला ।
वर्गीय लडाइँ मात्रै नभएर युग परिवर्तन कै लडाइँमा होमिएकी प्रखर नेताको अन्तिम अवस्थामा जिम्मेवार निकायहरू मौन बसे । राज्यले आचार्यको योगदानलाई कदर नगरेको देख्दा महिला परिचयमा बाँचिरहेकाहरूले फेरि अर्को कालो झण्डा, पर्चा र पम्पलेट लिएर उत्रनु पर्ने हो कि जस्तो लाग्न थालेको छ । जब-जब राज्यमा परिवर्तनको खाँचो पर्छ तब-तब महिलालाई उकासेर आन्दोलनमा होम्याइन्छ अनि सत्ता प्राप्तिपछि नारा बनाएर जनमानसको मन जीति यही वर्गलाई भर्याङ्ग बनाएर पार्टीहरू सत्तामा पुग्ने गर्छन् तर सत्ताको स्वादमा रमाउन थालेपछि आफू चढ्दाको भर्याङ्गतिर फर्किएर हेर्ने चेष्टा कसैले गर्देनन् । त्यही फल भोगिन शैलजा आचार्यले पनि । सास हुन्जेलसम्म योगदानको कदर हुनेआस नभए, मृत्युपछिको लासमा ओढाउने झण्डाको कस्तो मूल्य र अर्थ रहन्छ ? यो शैलजा दिदीको आत्मामा रूमल्लिएको प्रश्न हुनसक्छ । -रेणुका थापा/रमेश न्यौपाने
बरिष्ठ साहित्यकार होमनाथ सुवेदीका पिता को अमेरिकामा निधन
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास का संस्थापक अध्यक्ष बरिष्ठ साहित्यकार होमनाथ सुवेदीका पिता हरिलाल सुवेदी उपाध्यायको ८८ वर्षको उमेरमा जुन १३ तारिखका दिन अमेरिकामा असामयिक निधन भएको छ । बिगत तीन दशकदेखि अमेरिकामा बस्दै आउनु भएका साहित्यकार सुवेदीका पिता केही वर्षदेखि अमेरिकामै हुनुहुन्थ्यो । यसैबीच यो दुखद समचारले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास परिवार अन्यन्त दुखी भएको कुरा एक प्रेश विज्ञप्ती जारी गरि बताएको छ । यस्तो दुखद क्षणमा शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरिएको छ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक