20090607

लथालिँग देसको भताभुँग चाला : झडपमा कैयौं घाइते, कतै हवाइ फायर त कतै कर्फ्यु

झडपलाई नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले काभ्रेमा अहिले २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। माओवादी भ्रातृ संगठन ताम्सालिङ मुक्ती मोर्चाले आव्हान गरेको बन्दका क्रममा वाइसीयलले स्थानीय बासिन्दाको मोटरसाइकल जलाइदिएपछि झडपको सुरु भएको थियो। झडपका क्रममा प्रहरीसहित दुई दर्जनभन्दा बढी घाइते भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फयु आदेश जारी गरेकेा हो। काभ्रेको साँगादेखि २८ किलो भन्ने स्थानसम्म कफर्यु आदेश गरिएको छ। अरनिको राजमार्गको ५ सय मिटर वरपर पनि कर्फयु आदेश जारी गरिएको पत्रकार मोतिराम तिमिल्सिनाले जनाएका छन्।
हेटौंडामा माओवादीको कुटाइबाट युथफोर्सका एक कार्यकर्ता बेहोस भएका छन्। चितवन र मकवानपुरमा अश्रुग्यास र हवाइ फायर भएको छ। त्यसबाट मकवानपुरमा ५ माओवादी घाइते भएका छन्। चितवनको बकुलहर चोकमा बन्द आह्वानकर्ताले ग ३ प ६०७३ नं को मोटरसाइकलमा आगजनी गरेका छन्। त्यसैगरी सौराहाबाट नारायणगढ आउँदै गरेको एक भारतीय गाडी पनि उनीहरुले तोडफोड गरेका छन्। बजार तथा यातायात बन्द गराउने र खुलाउनेबीचको विवाद बढ्दै जाँदा हेटौंडामा झडप भएको थियो। त्यस क्रममा सुनील पुडासैनी बेहोस भएका हुन। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। जबर्जस्ती बन्द गराउन खोज्ने दुई जनालाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ। बन्द आयोजकले हेटौंडामा एउटा टाटा मोबाइल र एउटा बस तोडफोड गरेका छन्। उनीहरुले क्याम्पा डाँडामा कुखुरा बोक्ने वा ४ ज ७७० नं को टाटा मोबाइल तोडफोड गरेका हुन। भैसेको झडपमा प्रहरीले ३ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। त्यसबाट आफ्ना कार्यकर्ता घाइते भएका र उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको माओवादी मकवानपुरका इन्चार्ज चन्द्रहरि अटलले बताए।

यसैगरी बन्द आह्वानकर्ताले मनहरिमा कटारीका लागि छुटेको ना ३ ख ६४३१ नं को बस तोडफोड गरेका छन् भने बसको सिसा फुटेर घाइते भएका चालक विदुर अधिकारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। त्यसैगरी दाङमा बन्द आयोजकले बिहान ९ देखि ११ बजेसम्म चक्का जाम गराए। उनीहरुले राष्ट्रपतिको पुत्ला बनाएर शवयात्रा पनि गरेका थिए। सुर्खेतमा बन्द अवज्ञा गरेको भन्दै भे १ प ५९९ नं को मोटरसाइकल जलाए। यसैगरी बनेपामा स्थानीयका सवारी तोडफोड गरेपछि प्रतिकारमा उत्रिएका सर्वसाधारणले माओवादी कार्यालयमा तोडफोड गरेका थिए। यही क्रममा विवाद बढ्दै गएपछि प्रशासनले भक्तपुर र काभ्रेको सिमाना साँगादेखि २८ किलो (काठमाडौं विश्वविद्यालय जाने ठाउँ) सम्म अरनिको राजमार्ग वरपरको क्षेत्रमा कर्फ्यु लगाएको छ।

५६ जना जर्नेल मध्ये ५५ जनाले कामु प्रधानसेनापति कुलबहादुर खड्कालाई सैनिक ऐनअनुरूप कारबाही अगाडि बढाउन सिफारिस

नेपाली सेनाको प्रिन्सिपल स्टाफ अधिकृत (पीएसओ) र पृतनापतिहरूले संयुक्त रूपमा प्रधानसेनापति रुक्मांगद कटवाललाई कामु प्रधानसेनापति कुलबहादुर खड्कालाई सैनिक ऐनअनुरूप कारबाहीको प्रक्रिया अगाडि बढाउन सिफारिस गरेका छन्। नेपाली सेनाका ५६ जना जर्नेलमध्ये ५५ जनाले सेनाको मनोबल गिराउने र चेन अफ कमान्ड तोड्ने काम गरेकाले कारबाही अगाडि बढाउनुपर्ने लिखित सिफारिस गरेका छन्। माओवादी नेतृत्वमा रहेको सरकारले प्रधानसेनापति कटवाललाई बर्खास्त गरी रथी खड्कालाई कामु प्रधानसेनापतिमा बढुवा गरेपछि सेनाभित्र तीव्र विवाद उत्पन्न भएको थियो। कटवाल प्रकरणमा एक्लो भएपछि माओवादी सरकार अल्पमतमा परी सरकार नै विघटन हुन पुगेको थियो। माओवादी नेतृत्वको सरकार ढलेपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भएपछि खड्कामाथि कारबाही हुने अनुमान राजनीतिक वृत्तमा व्याप्त थियो। नयाँ सरकारले अघिल्लो सरकारको निर्णयउल्टयाउँदै आठ जर्नेलको म्याद थप भए पनि कामु प्रधानसेनापति खड्काको विषयमा भने सरकारले कुनै निर्णयगर्न सकेको छैन। तर नेपाली सेनाका वरिष्ठ अधिकृतहरूले भने खड्काले अनुशासन उल्लंघन गरेको, चेन अफ कमान्ड तोडेकाले कारबाहीको सिफारिस गरेको बताइएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक