20090605

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारविरुद्ध जेठ २५ गते मधेस बन्द !

- गच्छदारसहित सात जनालाई पार्टीबाट निश्कासन
- आठ जर्नेललाई तीन वर्षका लागि म्याद थप्ने निर्णय
- सुरेन्द्र पाण्डे आफू अर्थ मन्त्रीनै रहिरहने दाबी
- पदबाट राजिनामा दिने धम्की सुशील कोइरालाले फिर्ता लिए


खोइ कहाँ छ राम्रो र आसा लाग्दो समाचार नेपालमा ? हरे शिव के भाको हो देसमा !!!

मधेसी जनअधिकार फोरमको केन्द्रीय समितिको बैठकले उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित सात जनालाई पार्टीबाट निश्कासन गरेको छ। गच्छदारले भने आफ्नो निष्कासनलाई अवैधानिक भन्दै फोरम नफुटेको र सरकारलाई समर्थन यथावत रहने बताएका छन्। शुक्रबार साँझ रिपोर्टस क्लबमा पत्रकार सम्मलेन मार्फत गच्छदारले शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठक नबसेको र केही नेताले चाहँदैमा आफूलाई पार्टीबाट निश्कासन गर्न नसक्ने जिकिर गरे। "पार्टी फुट्दैन," गच्छदारले पत्रकार माझ भने, "पार्टीका हरेक निकायमा सरकारमा सहभागी हुनुपर्छ भन्नेको बहुमत छ। पार्टी अध्यक्ष पक्षले आफ्नो निर्णय नसच्याई सुखै छैन।" यसअगाडि फोरमले निश्कासित गरेकाहरुमा शरदसिंह भण्डारी, जितेन्द्र देव, रामेश्वरराय यादव, रामजनम चौधरी, उपेन्द्र झा र रत्नेश्वरलाल कायस्थ छन्। फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारविरुद्ध जेठ २५ गते मधेस बन्दको कार्यक्रमसमेत घोषणा गरेको छ।

( यो माला कतै घांडो र केही दिनका लागि मात्रै त हुने होइन कमरेड ? )

शुक्रबार राजधानीमा आयोजित प्रेस सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले अरु पार्टीबाट बहिस्कृत मधेसका दुश्मन भन्दैं गच्छदारको कडा आलोचना गरेका थिए। उनले अब फोरम प्रतिपक्षमा बस्ने जानकारी दिए। गच्छदारलाई उनले गद्दारको संज्ञा दिए। पदलोलुप र भ्रष्टाचारीको आरोप पनि लगाए।

कार्यक्रममा पार्टीका सह-अध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले प्रधानमन्त्रीले सम्बन्धित पार्टीको सिफारिसमा मात्र मन्त्री नियुक्त गर्ने प्रावधान संविधानमा रहेको उल्लेख गर्दै यो सरकारको गठन असंवैधानिक पार्टी पद्धति र दलीय परम्परा उल्लङ्घन गरी अनैतिक तवरले भएको आरोप लगाए। पार्टीको बहुमत सभासद् अझै पनि आफ्नै पक्षमा रहेको दाबी गर्दै सहअध्यक्ष गुप्ताले २८ जना सभासद्को हस्ताक्षरको प्रतिलिपि पत्रकारहरुलाई वितरण गरे।

उनले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टी अध्यक्षले हस्ताक्षर गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो पार्टीप्रति दोहोरो मापदण्ड अपनाई पार्टीलाई नसोधी विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्री बनाएको आरोप पनि लगाए । पार्टीभित्र दुईधार छ भन्ने भ्रम गच्छदारले पार्टीमा फैलाउने गरेको उल्लेख गर्दै सहअध्यक्ष गुप्ताले गच्छदारले विभिन्न लोभ र प्रलोभन दिएर सभासद्हरुलाई आफ्नो पक्षमा पारेको र त्यसमध्ये केही सभासद्ले यो कुरा महसुस गरी र्पाटीमा फर्किसकेको दाबी उनले गरे ।
यसअघि उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री विजय गच्छदारलाई मधेशी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव पक्षधर कार्यकर्ताले शुक्रबार बिहान कालो झन्डा देखाएका छन् भने उनी चढेको गाडीमाथि ढुङ्गा प्रहार भएको छ।
शुक्रबार बिहान आफ्ना केही समर्थक लिएर मन्त्री गच्छदार पार्टी कार्यालय बुद्धनगर पुगेका थिए। गच्छदारको गाडीमा असन्तुष्ट समूहले ढुंगा प्रहार गरेपछि बाक्लो संख्यामा उपस्थित प्रहरीले मन्त्रीले उनलाई सुरक्षा दिएका थिए।

यसैबीच सुजाता कोइरालाको नेतृत्वमा कांग्रेसलाई सरकारमा पठाइए पदबाट राजिनामा दिने धम्की दिएका कार्यबाहक सभापति सुशील कोइरालाले त्यस्तो धम्की फिर्ता लिएका छन्। अर्थ मन्त्री सुरेन्द्र पाण्डेले पनि आफू अर्थ मन्त्री नै रहिरहने दाबी गरेका छन्। बिहीबार दिउसो सभापति गिरिजाप्रसाद कोइरालाले सुजाताकै नेतृत्वमा कांग्रेसबाट सरकारमा सहभागी हुने नेताको नाम सिफारिस गरेलगत्तै कोइरालाको यस्तो भनाई आएको हो। उनले आफूले राजिनामा दिने भनेर कहिल्यै नबोलेको पनि दाबी गरे।
प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान मन्त्रीलाई अस्थायीरुपमा जिम्मेवारी दिएको बताए पनि अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू अर्थमन्त्रीमै रहने बताएका छन्। 'म सरुवा हुन्न', पत्रकारको जिज्ञासामा उनले भने- यो सरकार रहँदासम्म म नै अर्थमन्त्री रहन्छु।

यसैबीच पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको आठ जर्नेललाई अवकास दिने निर्णय मन्त्रिपरिषदले उल्टाइदिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ८ जर्नेललाई काममा फर्काउने निर्णय गरेको हो। माओवादी नेतृत्वको सरकारले अवकाश दिएका आठ जर्नेलको म्याद माधव नेपाल नेतृत्वको सरकारले फिर्ता लिई तीन वर्षका लागि म्याद थप्ने निर्णय गरेको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक