20090522

'जतिबेला सत्ता कब्जा गर्नुपर्ने स्थिति देख्ने छौं, भनेरै गर्नेछौं, लुकेर गर्ने छैनौं' : प्रचण्ड

कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहालले संसदलाई सम्वोधन गर्दै दल र सेनापतिको कडा शब्दमा आलोचना गरेका छन्। उनले लिखित भाषणमा दलहरुले सैनिक सर्वोच्चता अन्तगर्त सरकार गठन गर्न लागेको आक्षेप लगाए। दाहालले कटवालमाथि कारवाही गर्ने निर्णय सरकारमा सहभागी पाँच दलसँगको सहमतिमै गरेको दाबी गरे। 'स्वर्गबाट आकाशवणी आयो वा कतै रिमोट कन्ट्रोल भयो वा केही जादु भयो', दाहालले भने- 'सरकारका केही दलहरु १८० डिग्रीमा फेरिए।' दाहालले प्रधानसेनापति प्रकरणमा दलहरुको हैसियत कमजोर र लोकतन्त्रप्रति खोक्रो देखिएको आरोप लगाए। उने भने,'यसबाट नेपालको राष्ट्रियता र स्वाभिमानको विष्मयकारी रुपले कमजोर स्थितिको उजागर गरेको छ।'
आफू सरकारमा गएपछि भारत र चीनसँग परिवर्तित परिस्थितिअनुसार सम्बन्ध सुधार गर्न खोजेको दाहालले दाबी गरे। उनले छिमेकीहरुसँगको पुरानो सम्बन्धमा परिवर्तनको आवश्कता औंल्याए। उनले भारतले 'ठूल्दाइ'को व्यवहार गर्दै आएको प्रति सजग गराए। सेनापति हटाउने आफ्नो निर्णयलाई भारतले समर्थन नगरेको संकेत गर्दै दाहालले भने- 'सेनापति प्रकरण, राष्ट्रपतिको कदम र नयाँ सरकार गठनको प्रक्रिया सबैका सन्दर्भमा नेपाली र भारतीय जनताका मनमा हामी अगाडि बढ्दैछौं वा पछाडि हट्दैछौं भन्ने प्रश्न गम्भीर रुपले उठेको देखिन्छ।'

कमचलाउ प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन खोज्ने आफ्नो प्रयत्न परम्परागत शक्ति, शैली र मानसिकतासँग अन्तरविरोध बन्न गएको स्वीकार गरे। सत्ता कब्जासम्बन्धी भिडियो सार्वजनिक भएको विषयतर्फ संकेत गर्दै दाहालले भने, - 'जतिबेला सत्ता कब्जा गर्नुपर्ने स्थिति देख्ने छौं, भनेरै गर्नेछौं, लुकेर गर्ने छैनौं।' उनले षड्यन्त्रमूलक तरिकाले सत्ता कब्जा नगर्ने प्रस्टीकरण दिए। दाहालले नागरिक सर्वोच्चता र संवैधानिक राष्ट्रपतिको असंवैधानिक कदमविरुद्द सदन र संसदबाट प्रतिकार गरिरहने चेतावनी दिए।

कामचलाउ प्रधानमन्त्री प्रचण्डले ‘प्रतिक्रान्ति’ निम्त्याउन पूर्व सत्तासहयात्री नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्न लागेको गम्भीर आरोप लगाएका छन्। लामो अवरोध पछि शुक्रवारदेखि शुरु भएको व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै कामचलाउ प्रधानमन्त्री प्रचण्डले ‘नागरिक सर्वोच्चताको गला रेटेर सैनिक सर्वोच्चता अन्तर्गत नयाँ सरकार बन्न लागेको’ टिप्पणी गरेका थिए।
सरकार गठनको प्रयासलाई नौटंकीको संज्ञा दिँदै उनले भने, “जननिर्वाचित र जनादेश प्राप्त दल र नेताहरुलाई पाखा लगाउने तथा जनताबाट नेतृत्वको निम्ति अस्वीकृत दल र नेतालाई बलजफ्ती थोपर्ने कोसिस भइरहेको छ। प्रतिक्रान्तिको यो भन्दा भद्दा र नाङ्गो रुप अरु के हुन सक्छ?”
नयाँ सरकार प्रतिगामी, आत्मसमर्पणवादी र कठपुतली बन्ने उनको भनाइ थियो। प्रचण्डले आफ्नो नेतृत्वको सरकार विघटन गरी राष्ट्रपति शासन लगाई युद्ध निम्त्याउने उद्देश्यले राष्ट्रपतिले प्रधानसेनापतिलाई काम गरिरहन आदेश दिएको अर्को गम्भीर आरोप लगाए। उनले त्यसकै निरन्तरताको रुपमा नयाँ सरकार गठन हुन लागेको उल्लेख गरेका थिए।

अवकाश दिने उद्देश्यले प्रधानसेनापतिलाई स्पष्टीकरण सोध्न तत्कालिन सत्ताधारी पाँचवटै पार्टीले सहमति दिएको दावी गर्दै उनले भने, “तर स्वर्गबाट आकाशवाणी आयो या कतैबाट रिमोट कन्ट्रोल भयो या केही जादू भयो, सरकारका केही पार्टीहरु १८० डिग्रीमा भोलिपल्टै फेरिन थाले। यसले राजनीतिक दल र तिनका नेताहरुको वैचारिक, नैतिक र स्वनिर्णयको कमजोर हैसियत प्रमाणित गरिदिएको छ।”
माओवादीले सत्ता कब्जा गर्न लागेको हल्लामा विश्वास नगर्न उनले अन्य दललाई निकै आग्रह गरेका थिए।
तर उनको शैली भने चेतावनीपूर्ण नै थियो, “जतिवेला सत्ता कब्जा गर्ने र विद्रोहको विकल्प देख्ने छैनौ तपाईहरुलाई भनेरै गर्नेछौं, लुकेर गर्ने छैनौं”
राष्ट्रपतिको कदमले शान्तिप्रकृयालाई धरापमा पारेको बताउँदै आफुहरु प्रतिपक्षमा बसेर सहमतिको निम्ति क्रियाशील रहने प्रचण्डको भनाई थियो।

यसैबीच सबैभन्दा ठूलो पार्टीको रुपमा रहेको प्रचण्डको दल माओवादीले शनिवार हुने नयाँ प्रधानमन्त्रीको चुनावमा भाग नलिने निर्णय गरेको छ। माओवादी नेता देवेन्द्र पौडेल सुनिलले भने, “असंबैधानिक प्रकृयाबाट सरकार गठन भइरहेकाले त्यसलाई दृढतापूर्वक अस्वीकार गर्दै भाग नलिने निर्णय गरेका छौँ।” माओवादीले चुनावमा भाग नलिएमा बहुमत सांसदको समर्थन पाएका एमाले नेता माधवकुमार नेपाल निर्विरोध रुपमा निर्वाचित हुने सम्भावना देखिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक