20090523

माधव नेपाल निर्बिरोध प्रधानमन्त्री, माओवादी आतंक मच्च्याएर धेरै दिन टिक्न नदिने खेलमा, प्रचन्डलाई जबाफ दिए गिरिजाले !

माधव नेपाल नयाँ प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएका छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले व्यवस्थापिका संसदको बैठकमा नेपाल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरे। प्रधानमन्त्री चुनाव प्रक्रियामा माओवादी सहभागी नभएपछि नेपाल निर्विरोध भएका हुन्। निर्वाचित भएपछि कडा सुरक्षाका साथ आफ्नो निवास कोटेश्वर जानुअघि नवनिर्वाचित प्रधानमन्त्री नेपालले सञ्चारकर्मीहरुसित छोटो कुराकानी गर्दै सहकार्य र सहमतिमा जोड दिए। "अत्यन्त अप्ठेरो घडीमा एउटा गम्भीर अविभारा मेरो काँधमा आएको छ । यो अविभारालाई सबैको सहयोगबाट पूरा गर्न सकिन्छ भन्ने विश्वासका साथ जिम्मेवारी सम्हालेको छु । मलाई विश्वास छ देशको राजनीति सहमतिका साथमै अगाडि बढ्नेछ । सहमतिको यो यात्रा लक्ष्य पूरा नभएसम्म जारी रहनेछ, " नव निर्वाचित प्रधानमन्त्री नेपालले भने।
एमाले नेता नेपालले ३५५ सभासदको समर्थनको हस्ताक्षरसहित बिहान १० बजेपछि मनोनयन दर्ता गराएका थिए। बिहान १० बजेदेखि दिउसो १ बजेसम्म प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने समयमा अन्य कुनै दलले मनोनयन दर्ता गरेनन्।

नेपालको प्रस्तावक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला थिए। उनलाई २१ दलको औपचारिक समर्थन रहेका छन्। आफ्नो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग नेपालले कुनै प्रतिक्रिया दिएनन्। 'म सपथ ग्रहणपछिमात्र बोल्छु'- नेपालले भने। नेपालले मंगलबार मात्रै शपथ लिनेछन्।
प्रधान सेनापति रुक्माङ्द कटवाललाई पदमा बहाल रहन राष्ट्रपतिले दिएको निर्देशन नसच्चाएसम्म माओवादीले नयाँ सरकार गठनको प्रक्रियामा सहभागी नहुने भन्दै उम्मेदवारी नदिने र मतदान बहिस्कार गर्ने बताएको छ। माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले सदनलाई सम्बोधन गरेपछि माओवादी सभासदले सदन बहिष्कार गरेर बाहिरिएका थिए। उनले सैनिक सर्वोच्चता स्थापित गर्न गठन हुन लागेको सरकारलाई समर्थन नरहने प्रस्ट पारे।

संसदका ६ सय १ सदस्यमध्ये ३ सय ५५ सांसदको साथ पाएर नेकपा एमालेका नेता माधवकुमार नेपाल नयाँ प्रधानमन्त्री बने। प्रधानमन्त्री बन्नका लागि नेपालले सडक जाम तुरुन्त रोक्ने, खानेपानीको अभाव र लोडसेडिङ तत्काल अन्त्य गर्नेदेखि नेपाली सेनामा सामूहिक प्रवेश गराउनेसम्मका प्रतिवद्धता व्यक्त गरेका छन्।
नेपाललाई प्रधानमन्त्री बन्नुअगाडि उनको पार्टी एमाले तथा नयाँ सरकार गठनका लागि बनेको कांग्रेस एमाले गठवन्धनले विभिन्न दलसँग व्यक्त गरेका प्रतिद्धतामा साना ६ दलका एक एक जनालाई मन्त्री बनाउनेदेखि २४ जना भित्रैको मन्त्रिपरिषद् बनाउने पनि छ। स्थानीय निकायको निर्वाचन तत्काल गर्ने प्रतिवद्धता पनि गठवन्धनले व्यक्त गरेको छ।
नेपाल मजदुर किसान पार्टीलाई एमाले अध्यक्ष झलनाथ खनालले व्यक्त गरेको लिखित प्रतिवद्धताको पहिलो बुँदा नै स्थानीय स्रोत परिचालन गरी खानेपानीको अभाव तत्काल अन्त्य गर्ने हो। भारत निर्यात भइरहेको बिजुली नेपालमै उपयोग गरी तत्काल लोडसेडिङको अन्त्य गर्ने र सडक जाम हटाउने प्रतिवद्धता पनि नेमकिपाको समर्थन लिनका लागि व्यक्त भएका छन्।
भारतबाट भएको सीमा अतिक्रमण रोकी अतिक्रमित भूमि फिर्ता लिन भारतसँग वार्ता गर्ने प्रतिवद्धता पनि एमालेले नेमकिपासँग गरेको छ।
क्रान्तिकारी भूमिसुधारमार्फत् जमिन जोत्‍नेलाई वितरण गर्ने र स्वास्थ्य र शिक्षा निः शुल्क बन्दोबस्त गर्ने प्रतिद्धता पनि खनालले बिहीबार लिखित रुपमा नेमकिपासँग व्यक्त गरेका थिए।
एमाले - कांग्रेस गठबन्धनले बहुमत सांसद पुर्‍याउन स्वायत्त मधेश प्रदेशको चाहना पूरा गर्ने प्रतिद्धता व्यक्त गरेको छ। यस्ता प्रदेश पूर्ण रुपले स्वायत्त र अधिकार सम्पन्न हुनुपर्ने २०६४ साल फागुन १६ गते संयुक्त मधेशी मोर्चासँग सरकारले गरेको सम्झौतामा उल्लेख छ जसलाई पूरा गरिदिने लिखित प्रतिवद्धता कांग्रेस - एमाले गठबन्धनले माओवादी सरकार ढलेपछि २ पटक व्यक्त गरेका छन्।
सोही सम्झौताको पाँच नम्बर बुँदामा "नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेशी लगायत अन्य समुदायको समानुपातिक समावेशी र समुहगत प्रदेशलाई सुनिश्चित गरिनेछ" उल्लेख छ।
स्वायत्त मधेश प्रदेश र सेनामा सामूहिक प्रवेशको विषयमा एमाले अध्यक्ष खनालले नै असन्तुष्टि व्यक्त गरेका छन्। तर, मधेशी मोर्चासँग भएको सम्झौता पालना गर्ने प्रतिवद्धता व्यक्त पछि मात्र मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्‍भावन पार्टीले एमाले नेता नेपालको नेतृत्वलाई समर्थन गरेका हुन्।
सरकारले सुरक्षा अंग लगायत राज्यका सबै निकायमा मधेशी, आदिवासी, जनजाती, महिला दलित पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायको समावेशी समानुपातिक सहभागिता हुने गरी नियुक्ती, बढुवा र मनोनयन अनिवार्य रुपमा गर्नुपर्ने पुरानो सम्झौतालाई पनि यसपटक प्रतिवद्धता व्यक्त गरिएको छ।
प्रधानमन्त्रीमा समर्थन लिन नेपालले राष्ट्रिय जनमुक्ति पार्टी, समाजवादी प्रजातान्त्रिक जनता पार्टी, चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल, नेपाल परिवार दल र नेपाः राष्ट्रिय पार्टीसँग गरेका सम्झौता पनि रोचक छ। एमालेले मन्त्रिपरिषद र राजनीतिक नियुक्तिमा ती पार्टीका सहभागिता सुनिश्चित गरिने प्रतिवद्धता व्यक्त गरेको छ।
सरकारको समर्थन गर्ने सबै दलको सहमतिमा सरकारको नीति तथा कार्यक्रम तयार गर्ने प्रतिवद्धता पनि महासचिव नेपालले व्यक्त गरेका छन्। स्थानीय निकाय तत्काल गठन गर्ने सहमति पनि नेपालले प्रधानमन्त्री बन्नु अगाडि आफ्नो दलका तर्फबाट ती दलसँग गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एमालेले गरेको लिखित प्रतिवद्धता भने अलिक सजिलो छ। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने र राष्ट्रियताको पक्षमा लाग्ने
तथा प्रजातन्त्रको संरक्षण गर्ने प्रतिवद्धता लिखित रुपमा एमालेले राप्रपा नेपाल समक्ष व्यक्त गरेको छ।
यी प्रतिवद्धता पूरा गर्नुबाहेक प्रधानमन्त्री नेपालले ‌महत्वपूर्ण तीन चुनौति त सामना गर्नु नै पर्नेछ। जसमा जटिल बन्दै गएको राज्यको पुनर्संरचनामा दलहरुबीच सहमति गराई एक वर्षभित्र नयाँ संविधान निर्माण गर्नु, शिविरमा रहेका माओवादी लडाकुलाई व्यवस्थापन गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनु र सरकारबाट भर्खरै हटेका एकीकृत माओवादीसहित सशस्त्र दल र समूहबाट जनतालाई सुरक्षित महसुस गराउनु।
प्रधानमन्त्रीका रुपमा वर्तमान नेपालमा नेपाललाई मात्र हैन जोसुकैलाई पनि यी चुनौति रहन्छन्।

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले व्यवस्थापिकाको शनिबारको बैठकमा कसैलाई होच्याएर शक्तिशाली हुन नसकिने बताए। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार गरेको भाषणप्रति इंगित गर्दै उनले भने- ‘गाली गरेर कसैलाई होच्याएर शक्तिशाली भइन्न ।' उनले सहमति, सहकार्य र एकता अहिलेको पनि आवश्यकता भएको दोहोर्‍याउदै पुनः नयाँ सहमतिका लागि तयार हुन माओवादी अध्यक्ष दाहाललाई आग्रह गरे।
नेता नेपाललाई हारेको ब्यक्ति भनेर होच्याएकोमा गुनासो गर्दै कोइरालाले थपे,- ‘सहमति, सहकार्य र एकतामा कसैले पनि हार्दैन ।' सहमतिका लागि आफू अझै पनि सकृय रहने उल्लेख गर्दै कोइरालाले शान्तिप्रकृया टुंगोमा पुग्ने बेलामा सहमतिबाट टाढा नजान माओवादीलाई आग्रह गरे।

नेपालका पक्षमा रहेका दल र सभासद्हरु

नेपाली कांग्रेसः ११३
नेकपा एमालेः १०९
मधेशि जनअधिकार फोरमः ५३
तराई मधेश लोकतान्त्रिक पार्टीः २१
नेपाल सदभावना पार्टीः ९
नेकपा -माले)ः ९
राष्ट्रिय प्रजातन्त्र पार्टीः ८
नेमकिपाः ५
नेकपा संयुक्तः ५
राष्ट्रिय जनमोर्चाः ४
राप्रपा नेपालः ४
राष्ट्रिय जनशक्ति पार्टीः ३
राष्ट्रिय जनमुक्ति पार्टीः २
संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चः २
सद्भावना -आ)ः २
नेपाली जनता दल ः १ -विश्वनाथ अग्रवाल)
समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालः १
चुरे भावर राष्ट्रिय एकता पार्टीः १
नेपाल लोकतान्त्रिक समाजवादी दल१
नेपाः राष्ट्रिय पार्टीः १
नेपाल परिवार दलः १
दलित जनजाति पार्टीः १
स्वतन्त्रः २

विपक्षमा भएका दलहरु

एकीकृत नेकपा माओवादीः २३८
नेकपा एकीकृतः २
नेपाली जनता दल ः १-गायत्री शाह)


बम बिस्फोटमा दुइको मृत्‍यु कैयौ घाइते



सगरमाथा टि भी अमेरिकाको प्रेस रिलिज

नेपालको ललितपुर स्थित "द असम्प्सन्" चर्चमा आज मे २३ तरिकका दिन भएको बम आकर्मणको सगरमाथा टेलिभिजन परिवार घोरनिन्दा गर्दछ। साथै उक्त घट्नमा मृत्‍यु हुनेहरुको दिवागत आत्मको चिरशान्तिको कामना गर्दै, घाइतेहुनेहरुको सिघ्र स्वस्थलाभका लागि परमेश्वर सग प्रार्थाना समेत गर्दछ। साथै यस् घट्ना बाट बिच्चलितभै कुनै पनि धर्मिकद्ङा तर्फ नलाग्न समेत सबै धर्म्रावलम्बिहरुमा सगरमाथा टेलिभिजन परिवार हार्दिक अनुरोध गर्दछ।
रामचन्द्र खरेल
सस्थापक/संचालक
सगरमाथा टेलिभिजन
वाशिङ्टन डिसी, संयुक्त राज्य अमेरिका

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक