20090521

कामचलाउ सरकारले गरेका निर्णयलाई एमालेको नेतृत्वमा गठन हुने सरकारले मान्यता नदिने

एमालेले माओवादीको नेतृत्वमा रहेको कामचलाउ सरकारले गरेका निर्णयप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक राजीनामा दिइसकेपछि सरकारको निर्णयको नाममा केही मन्त्रालय खासगरी अर्थ मन्त्रालयले आफू सम्बद्ध विभिन्न निकायमार्फत अनियमित किसिमले विभिन्न समिति संस्था तथा सङ्गठनलाई विभिन्न शीर्षकमा ठूलो मात्रामा रकम निकासा गरेको रकमान्तरसमेत गरेकोमा आपत्ति प्रकट गरेको छ। सरकार औपचारिक रुपमा हटिसकेको र नयाँ सरकारको गठन सङ्घारमा रहेका बेला गरिएका यस्ता निर्णय तथा कामहरुप्रति आपत्ति प्रकट गर्दै पार्टीले यस्ता अनियमित निर्णयका आधारमा भएका कामलाई अवैध मानी सम्बन्धित निकायलाई त्यस्ता निर्णय कार्यान्वयन नगर्न आग्रहसमेत गरेको छ ।
यदि यस्तो आग्रहलाई बेवास्ता गरी निर्णय गरिन्छ र त्यस्ता निर्णयहरुको कार्यान्वयन गरिन्छ भने नेकपा एमाले को नेतृत्वमा गठन हुने सरकारले तिनलाई मान्यता नदिने र अनियमित कामका रुपमा लिई कारबाहीको प्रक्रियालाई समेत अगाडि बढाउने कुरा महासचिव ईश्वर पोखरेलले प्रेस वक्तव्यमार्फत् सम्बन्धित सबै पक्षलाई जानकारी गराउनु भएको छ।


"भारत माओवादीलाई सरकारमा रहेको देख्न चाहँदैन भन्ने दृष्टिकोण पूरै गलत"

नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजनले सरकार ढल्नुमा नयाँ दिल्लीको कुनै हात नरहेको बताएका छन्। उनले माओवादी विचार र व्यवहारप्रति भने भारतको शंका अझै रहेको बताए। माओवादीले प्रधानसेनापति प्रकरणमा भारतीय असहयोगका कारण आफ्नो नेतृत्वको सरकार ढलेको आरोप लगाइरहेका बेला राजनले नेपाल कै आन्तरिक समस्या र असमझदारीको परिणाम स्वरुप सरकार गिरेको बताए। ‘भारत माओवादीलाई सरकारमा रहेको देख्न चाहँदैन भन्ने दृष्टिकोण पूरै गलत छ', माओवादी आरोपप्रति संकेत गर्दै उनले भने ‘नेपालकै आन्तरिक समस्या र असमझदारीका परिणाम स्वरुप सरकार यो स्थिति आयो।'

राजनीतिक अन्योलका बेला नेपाल आइरहने छवि बनाएका पूर्वराजदूत राजन बिहीबार याक एण्ड यति होटलमा आयोजना गरेको साक्षात्करमा बोल्दै थिए। उनले भुटान जाने क्रममा आफू ‘ट्रान्जिट' मा रहेको उल्लेख गर्दै आफ्ना अभिव्यक्ति विल्कुल व्यक्तिगत भएको बताए। नयाँ दिल्लीले नेपालमा केवल शान्ति स्थायित्व र समृद्धि चाहेका बताए। ‘भारत नेपालमा एकै चीज चाहन्छः शान्ति स्थायित्व र समृद्धि' उनले भने ‘नेपालमा कुनै प्रभाव हस्तक्षेप गर्न सक्तैनौं र गर्न चाहँदैनौं।' राजनले माओवादी विचार र व्यवहारप्रति भारत पूरै विश्वस्त नभइसकेको संकेत गर्दै भविष्यमा माओवादीले आफ्ना कमजोरी सुधार्ने आशा व्यक्त गरे।

‘माओवादी जहिले पनि अतिवादी पार्टीका रुपमा रहला भन्ने मलाई लाग्दैन उनीहरुका कार्यक्रममा सकारात्मक तत्व छन्' उनले भने ‘तर उनीहरुको आदर्श विचार र कार्य भने केही चिन्तालाग्दो छ।' प्रधानमन्त्री पुष्पकमल दाहालले सेनापति प्रकरणमा भारतलाई विश्वासमा लिन विशेष दूत पठाइदिन गरेको आग्रह लाई राजनले उनको ‘स्पष्ट व्यवहार' र ‘इमान्दारी' बताए।
‘मलाई प्रधानमन्त्री दाहाल स्पष्ट र इमान्दार भइरहेका थिए जस्तो लाग्छ', उनले भने ‘कहिलेकाँही कुनै समस्याको हल खोज्न मित्रहरुको सल्लाह र परामर्श आवश्यक पर्न सक्छ। यो कुनै अनौठो होइन।' नेपालमा बेइजिङको सबैभन्दा सुरक्षा चासो रहेको भारतीय मूल्यांकन रहेको उल्लेख गर्दै यसले नयाँ दिल्लीलाई प्रभाव नपार्ने उनले बताए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक