20090422

प्रचण्ड महाराजको जय होस्, जय होस !

- रविराज आचार्य


शान्तिको ढ्वाङ फुक्नेहरूले बन्दुकको धाक लगाउने, वृद्धको दर्शन छाँट्नेहरूले हिंसामा निर्लिप्त रहने, सदाचारका कुरा गर्नेहरू व्यभिचारमा मस्त रहने, लुटाहा फटाहा ज्यानमाराहरू आदर्श र आचरणका कुरा गर्ने, उत्तमकोटिका सर्वश्रेष्ठ प्राणी भन्ठान्ने सरकारका ठेकेदारहरू निर्लज्ज रूपमा तल्लो श्रेणीका भाषा प्रयोग गरी आफ्नै बाउको बिर्ता जसरी अरूलाई धारेहात लगाउनेबाट नेपालका प्रत्येक नागरिक सचेत र सावधान हुन ढिला गरियो भने देश खरानीको थुप्रोमा परिणत हुनेछ। यदि देश खरानी भयो भने न त्यो टिप्न सकिन्छ न त साँच्न नै त्यसर्थ यो देशमा पेट्रोल छर्केर आगो लगाउन उद्यत् बनेका अमूक सङ्गठनहरू र रमितेहरूसँग बेलैमा सावधान रही पानीको धनी देश भए पनि दुर्लभ पानी प्रदेशका नागरिकहरू साक्षी बसेर आफ्नै धर्म निर्वाह गर्ने होइन कि अत्यन्त सचेत रहनु आवश्यक छ अबका दिनमा।
नेपालका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले 'तिनीहरूको बाउको बिर्ता हो र!' भनेर खुलामञ्चमा साँढेझैं डुक्रँदा हजार पाँच सयको तालीको गड्गडाहटमा आफ्नो कद उँचो भएको भाषण गरे पनि संसारभरका नेपाली र करोडौं विदेशी नागरिकले उनको भाषणमा सुगन्ध भेटे कि दुर्गन्ध त्यो त उनी आफैं अहिले मन्थन गर्दै होलान्। कारण प्रचण्डज्यूको आदत नै यस्तो छ कि दैलो पछि मात्र देख्ने। पर्म–पधेँरा, आँगन–करेसामा झगडा पर्दा ग्रामीण भेगतिर प्रचलित रहेको प्रचण्ड हुँकार छिमेकी–छिमेकीबीचको दोहोरो भनाभनको अन्तिम पराकाष्टा हो। त्यसपछि मुख होइन पाखुरा सुर्क्याउँदै लड्ने भिड्ने तयारीको पहिलो शृङ्खला हो। महिला–महिलाबीचको झगडा हो भने चुल्ठो समात्न सुरु हुन्छ र पुरुष–पुरुषबीचको हो भने मुड्की लात्तीको वर्षा हुन थाल्छ। त्यही महानवाणी प्रचण्डले खुलामञ्चबाट उद्घोषण गर्दा उनलाई रमाइलो नै लागेको हुनुपर्छ। अन्यथा देशको सम्माननीय व्यक्तिले त्यस्तो कुरा बोल्नु भनेको हाड नभएको जिब्रो लखराएको भन्ने भनाइसँग मेल खाएको कसरी मान्न सकिन्छ। प्रचण्ड र प्रचण्ड सरकारका माओवादी मन्त्रीहरू आफू सरकारमा रहेको तथ्यलाई सपना मात्रै ठानिरहेको अवस्था देखिन्छ। उनीहरूको एकपछि अर्को बर्बराई लक्षणबाट पुष्टि हुन्छ – सत्ता साझेदार दल र सत्ताबाहिर रहेका दलहरूले प्रचण्ड प्रधानमन्त्री र माओवादी नेतृत्वमा सरकार छ भन्ने कुरा आभास दिलाउन ढिला भइसकेको छ। साथै स्वयम् माओवादीले पनि आभास गर्नुपर्ने हो बरु जनतालाई थाहा छ – उनीहरू सरकारमा छन् र त रामहरि हत्याकाण्डदेखि पत्रकार हत्या अनि थैव हत्यामा आरोपितसमेत दर्जनौं यस्ता घटनामा संलग्न अभियुक्त खुलेआम घुमिरहेका छन्। आफ्नो संलग्नता अस्वीकार गर्दै आएको माओवादीले थैव हत्या–प्रकरणको नाटक नेपथ्यमा बसेर मञ्चन गर्दा गर्दै अन्त्यमा आफैंले पटाक्षेप गर्योौ तर विडम्बना! जनतालाई कानुनी राज्यको परिचय दिनु त कताकता अत्यन्त निन्दनीय शैलीमा सुजीत विकलाई कारबाही गर्न जोडदार माग माओवादी स्वयम्ले गरिदिँदा नागरिकलाई घनले टाउकोमा हानेझैं भएको हुनुपर्छ। मार्नेको भन्दा मर्नेको गल्ती छ त्यसलाई मर्नु भनेर कसले भनेको थियो? यस्तै क्रान्तिकारी विचार बोकेको छ माओवादीले भन्ने कुरा उसका व्यवहारबाट प्रस्ट देखिन्छ। मार्ने त साहसिक मान्छे हो मर्ने पो कायर यस्तै विचारलाई प्रधानता दिँदै गएको छ अहिलेको सरकारले अनि त्यस्तैलाई पुरस्कृत पनि गर्दै लगेको छ यसर्थ पनि माओवादीले रामै्र आभास पाएको हुनुपर्ने हो सरकारमा छौँ भन्ने कुराको।
यसदेखि बाहेक राज्यका जति पनि अवयव छन् त्यसमा माओवादीकै पाइन त चढेका छन् यसर्थ पनि प्रचण्डज्यू र मन्त्रीज्यूहरू देश तपाईंहरूकै हो। तपाईंहरू सरकारमा हुनुहुन्छ। नागरिकभन्दा कति हो कति गुणा माथि। बिचरा! नागरिक त के हुन् र ती भनेका खलमा पिसिन लाग्दाका जिराजस्तै हुन्। तपाईंहरू खल हुनुहुन्छ, लोहोरो हुनुहुन्छ जिरालाई जसरी पनि पिस्न पाउने अधिकार तपाईंहरूसँग सुरक्षित छ। दगलच्याउनोस्, धुलोपिठो पार्नुहोस् इच्छाअनुसारको आकार–प्रकार दिनुहोस्। कुनै जिराले दायाँबायाँ गर्यो् भने अझ खलमा हालेर लोहोरोले थिलथिल्याउनुहोस् सरकारमा तपाईंहरू नै हुनुहुन्छ। सम्पूर्ण कुरा तपाईंहरूले चाहे जसरी नै अगाडि बढ्छ यी धेरथोर निस्किएका समस्या त बाइप्रोडक्ट त हुन्। लम्कनोस्, चम्कनोस् नागरिकसँग के वास्ता अनि केको सरोकार? अगाडिको बाटो पहिल्याउनुहोस् भोलि आफ्नो र कार्यकर्ताको भविष्य सुरक्षित गर्नुहोस् भोलि कसले देखेको छ। सेकेण्डमै मान्छे जीवनबाट मृत्युमा परिणत हुन्छ। बरु कालगतिले मान्छे नमर्न सक्छ मर्नेभन्दा मार्ने ठूलो भन्ने नजिर कायम भएको देशमा बचाउनेभन्दा बाँच्ने ठूलो हो, ईश्वरभन्दा राक्षस ठूलो, साँधुभन्दा चोर ठूलो, विद्वान्भन्दा मूर्ख ठूलो नागरिकभन्दा नेता ठूलो, शान्तिभन्दा अशान्ति ठूलो, त भन्दा म ठूलो, कामभन्दा कामचोर ठूलो, धर्मभन्दा पाप ठूलो अनि कलमभन्दा बन्दुक त कति बलशाली मापन नै गर्न सकिँदैन। तर कलमभन्दा जुत्ता बलशाली पो हो कि भन्ने लाग्छ हिजोआज। जर्जबुसका टाउकोबाट अफगानमा प्रहार गरिएका क्षेप्यास्त्रझैं गएका एक जोर जुत्ता चीनको प्रधानमन्त्रीका अगाडिबाट पनि गुजि्रए त्यसैगरी भारतका गृहमन्त्री पी चिदाम्बरमलाई पनि जुत्ता हानेका हुन् कि उपहार दिएका हुन् एक शिख पत्रकारले बुझ्नै नसक्ने गरी फुत्त मञ्चतर्फ फ्याँकिदिए। पत्रकारिता क्षेत्रमा देखिएको जुत्तामोह र नेपालमा देखिएको बन्दुकमोह झन्डैझन्डैै एकै प्रकारको देखिन्छ। हिजो बाल्यकालमा तरबारभन्दा कलम बलियो भनेर निबन्ध लेख्ने आजका राजनेताहरू पछुतो मान्दैछन् र कलम तिखार्नुभन्दा तरबारको धार मिलाउन व्यस्त बन्न थालेका छन्। त्यति मात्र कहाँ हो र बन्दुकपुराण नागरिकलाई सुनाउन थालेका छन्। कलम शक्तिशाली बनाउन हामी जस्तै कैयन विद्यार्थी गिदी फुलाउँदै लेख्ने गरेको निबन्धलाई काउन्टर एट्याक दिँदै आजका स्कुले विद्यार्थी तरबार पनि होइन नाइक स्टिक अझ पेस्तोलतर्फ लम्कँदै छन्। बिहान ओछ्याउन छोडेदेखि बेलुका ओछ्यान नभेटेसम्म विद्यार्थी केटौलेहरू र 'आवारा' बन्न राज्यद्वारा बाध्य पारिएका नागरिकसमेतका काँधमा बोकिएका झोलामा किताब कपी होइन भिडन्त गर्दा चाहिने अत्यावश्यक सामग्रीहरू भेटिन्छ। आवश्यक पनि छ सरकारले दिएको तालिम नै त्यस्तै छ। मह जोडीले भनेका पनि छन् पञ्चायती शासनमा लगेर थुनिदेला भन्ने डर थियो अहिले त मरिएला भन्ने डर छ। अगाडि नै भनिसकियो आखिर मर्नेभन्दा मार्ने पो ठूलो। जसले जति धेरै मान्छे मार्न सक्छ उति नै अब्बल ठहरिने अहिलेको राजनीतिक मेसोमा सज्जन बन्नुको भ्यालु नै दुर्जन बन्नुमा गएर खप्टिदिँदा संसारभर आर्थिक मन्दीले गर्दा उपभोग्य वस्तुको मूल्यमा गिरावट आए पनि नेपालमा भने तेञ्जिङले सगरमाथा आरोहण गरेझैं मूल्य उकालो लागेको लाग्यै छ। दुर्जनताको पद प्रतिष्ठामा बडोत्तरी भइरहँदा इष्ट बन्नुभन्दा दुष्ट बन्नुमा शतप्रतिशत लाभांश पाइन्छ। यसरी नै देश सप्रनुभन्दा बिग्रनुमा कल्याण देख्नेहरू र बिगार्न उद्यत् रहेकाहरूको गठजोड भएको छ। एउटै मूलको पानी र एउटै ड्याङका मूलामा रूपान्तरण भएका आजका यी अत्यन्त तमतमिदा प्राणीहरू एक–अर्काको छायामा उसले–उसलाई र उसलाई उसले देख्न थालेका छन्।

1 comment:

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक