संखुवासभा, उनले कहिल्यै 'बहुविवाह' गरेनन्, तर गनेर ल्याउँदा अहिलेसम्म २७ वटीलाई श्रीमती बनाएछन् । भित्र्याएकामध्ये २४ वटीले उनलाई छाडे, एउटीलाई उनले छाडे, एउटी बितिन् र कान्छी उनीसित छिन् ।
यी हुन् रामचन्द्र कटुवाल, ५२ वर्षीय भरिया । खाँदबारी- ११, ढोलबाजेका कटुवालले पहिलो बिहे २६ वर्षअगाडि गरेका थिए, जुन ६ महिनासम्म टिक्यो । अहिले उनलाई आफ्ना केही पूर्वश्रीमतीको नामसमेत याद छैन । २७ औं बिहे भने निकै 'टिकाउ' बनेको छ । पाँच वर्ष पुग्यो उनले शारदा दाहाललाई कान्छी बनाएर भित्र्याएको । अहिलेसम्म शारदा उनीसँगै छिन् ।
२६ वर्षमा २७ बिहे गरेका भरिया भन्छन्, 'दुःख पाउँदा मसित ओत लाग्न आए, मभन्दा गतिलो पाएपछि सबैले छाडेर हिँडे’ 'खै, गर्छु भनेर गरेको होइन,' अलि लजाउँदै कटुवालले नयाँ पत्रिकासित भने, 'गर्दै जाँदा ख्यालख्यालमै २७ वटी पुगेछन् ।''सयवटी पुर्याउने विचार गर्नुभा'को छ कि क्या हो ?' भनी छेड हान्दा उनी झनै लजाए । भने, 'मान्छेहरूले सोधेर हैरान पार्छन्, कसरी यति धेरै पट्याइस् भनेर । भन्नै लाजमर्दो छ ।' खाँदबारी बजारका साहु र सर्वसाधारणको घर-घरमा भारी ओसारिदिने रामचन्द्रले सुनाए आफ्नो पहिलो लभस्टोरी, '२५ वर्षको उमेरमा म भारी बोकेर खोटाङको सिम्पानी पुगेको थिएँ । त्यहाँ खेताला र भरिया भएर एक वर्ष बिताएँ । त्यहाँ बस्दा मजस्तै काम गर्ने, नामचाहिँ बिर्सेँ, अधिकारी थरकी केटीसँग लभ पर्यो । उसलाई भगाएर खाँदबारी ल्याएँ । गाउँले डल्ली भन्थे । मसँग आएको ६ महिनापछि उसकै माइती केटाहरूसँग तराई झरेकी थिई । त्यतै बात लागेको सुनेँ । पछि खोटाङ नै फर्की रे, तर म लिन गइनँ । अहिले मरे-बाँचेको थाहा छैन ।' यस्तो थियो जेठीसँगको विछोडको कथा ।
एउटीले छाडेपछि अर्की त ल्याउनैपर्यो भन्दै दोस्री श्रीमतीको बयान सुरु गरे । उनले भने, 'माल्टाकी चन्द्रवती गिरीलाई पट्याएर बिहे गरेँ । ऊसित अलि लामो बसाइ भयो । तीन वर्ष मिलेर बस्यौँ । तर, पछि ऊ जोसित पनि सल्किन थाली । जो पायो त्यहीसित जता पायो त्यता हिँड्न थालेपछि मैले नै छाडिदिएँ ।' चन्द्रवती आफ्नो एउटा छोरासमेत लिएर गएको रामचन्द्रले सुनाए । चन्द्रवतीलाई आक्कलझुक्कल बजारमा देख्छन् । तर, छोरा कहाँ छ भन्ने उनलाई पत्तो छैन ।
त्यसपछि एक्लो भएका रामचन्द्रलाई तुम्लिङटार बोहराटार गाउँकी मुनादेवी गिरी आइलागिन् । 'बिग्रेकी छोरी' भएकीले परिवारले नै मुनादेवी उनलाई भिडाइदिएका थिए । उनीहरूको वैवाहिक जीवन जमेको थियो । १३ वर्ष रामचन्द्रसँगै बिताएकी मुना निमोनियाले अस्पतालमा मरिन् । मुनासँगको लामो सम्बन्धमा रामचन्द्रका कुनै सन्तान भने भएनन् । अहिलेसम्मका श्रीमतीहरूमध्ये उनको अनुभवमा मुनादेवी असल थिइन् ।
तेस्री श्रीमतीको मृत्युपछि रामचन्द्र विरक्तिएर बसेनन् । लगत्तै बिरामी अवस्थाकी सुवेदी थरकी (नाम बिर्सिए) केटीलाई कसैले रामचन्द्रको जिम्मा लगाइदियो । उनले उपचार गरेर महिना दिनमा निको पारे । तर, निको भएपछि श्रीमतीले छाडेर आफ्नै बाटो लागिन् ।
'ऊ धुपुको मगरसँग पोइल गई,' भावुक बन्दै रामचन्द्र बोले, 'कहिलेकाहीँ भेट हुँदा सन्चो-बिसन्चो के छ भनेर सोध्छे ।'
त्यसपछि आफ्नै घरमा डेरा गरी बस्ने इलामकी लिम्बुनीलाई पाँचौँ श्रीमती बनाए । रामचन्द्रका अनुसार ती लिम्बुनी पहिल्यै विवाहित थिइन् । 'ख्यालख्यालमा लसपस भयो र आइलागी,' उनी भन्छन् । लिम्बुनीसँगको सम्बन्ध चाँडै अन्त्य भयो ।
छैटौंमा खाँदबारीकै महादेवी गिरी कसैले ल्याइदिए । तर, उनी पनि बाटो लागिन् । त्यसपछि फूलमाया राईसित भारी बोक्ने क्रममै 'लभ' पर्यो । उनलाई सातौँ श्रीमतीका रूपमा झ्याइँझ्याइँ बाजा बजाएरै भित्र्याए । रामचन्द्र आफैंले विवाह गरेको फूलमाया दोस्री थिइन् । तर, उनीसँगको गृहस्थी ६ महिनाभन्दा बढी चलेन । फूलमायाको माइतीले गर्दा त्यो सम्बन्ध टुटेको उनी बताउँछन् ।
'उनी मसितै बस्न चाहन्थिन् । माइतीले जबर्जस्ती खोसेर लगे,' रामचन्द्रले सुनाए, 'माइती र दिदी ठूलो पदमा थिए । भरियासँग फूलमायाले बिहे गरेको मन पराएनन् ।' छुटेपछि भेट भएको छैन, उनको फूलमायासित ।
मन मिलेर बिहे गरेकी फूलमाया माइतीले खोसेपछि रामचन्द्र केही विरक्तिए । आठौं बिहेपछि श्रीमतीको नाम र संख्या पनि हिसाब राख्न छाडेको उनी बताउँछन् । फूलमायासित छुटेपछि त बिहे गर्ने पेसाजस्तै भयो । मस्किँदै भन्छन्, 'पहिलेका सातजनासँग १७ वर्ष बिताएँ । अरूले सोधेपछि सम्भिँदै जाँदा अहिलेकी २७औं रहिछे, आफैंलाई अचम्म लाग्छ ।'
कसरी पुगे २७ वटी ? अनुहार चम्काउँदै हाउभाउका साथ रामचन्द्र बोले, 'त्यसपछि मैले पनि एकैपटक घरमा दुईजना नहुने गरी नयाँ-नयाँ स्वास्नी भित्र्याइरहेँ । मैले लिने गरेको थाहा पाएपछि धेरैले आफैं ल्याएर भिडाइदिन थाले । अरूसित लसपस भएर बिग्रेका वा नराम्री केटी मकहाँ आइलाग्न थाले । खालि भएको वेला म लिइदिन्थेँ ।'
ल्याउने र जाने काम निरन्तर भइरह्यो । करिब पाँच वर्षभित्र उनले १८ वटीलाई श्रीमती बनाएछन् । तिनीहरूमध्ये कोही पनि तीन महिनाभन्दा बढी टिकेनन् । सम्झँदा आफैंलाई शर्म लाग्छ रे अहिले ।
रामचन्द्रले करिब एक दर्जन जातका महिला विवाह गरेका छन् । तिनीहरू सबै आफूले खोजेको नभई ख्यालख्यालमै जुरेको उनी बताउँछन् ।
'अब त बिहे गर्दिनँ भन्यो कतै न कतैकी आफैं फेला पर्थे कि कसैले ल्याइदिन्थे,' उनले भने, 'मभन्दा गतिलो फेला नपरुञ्जेल बसे, लाज लुकाए । कोही राम्रो पाएपछि छाडेर हिँडे । आफ्नो कर्मै यस्तो होला भनेर सँगै बसुन्जेल श्रीमती मानेर राखेँ र सकेको गरेँ । तर, गएपछि वास्ता गर्नै छाडिदिएँ ।'
बीचमा छिटो-छिटो फेरिएका श्रीमतीहरूमध्ये धेरैको क्रम र नाम उनलाई याद छैन । सम्झेका नाममध्ये भगवती गिरी एक हुन् । माल्टा खिपि्रङकी भगवती एक महिनाकी सुत्केरी हुँदा रामचन्द्रले बिहे गरेका थिए । कसैले रामचन्द्रलाई भगवती ल्याइदिएका थिए । सुत्केरी अवस्थाकी उनलाई सक्दो स्याहार गरे रामचन्द्रले । तर, दुई महिनापछि नानीसमेत छाडेर काठमाडौंतिर बाटो तताइन् । बच्ची रामचन्द्रकै जिम्मामा आयो । त्यसलाई आफ्नै छोरी मानेर पाले । अहिले सात कक्षामा पढ्दै छिन् । रामचन्द्रले सम्झेसम्म भगवती ९औं श्रीमती थिइन् ।
रामचन्द्रलाई कुनै श्रीमतीको नाम मात्रै र कतिको थर मात्रै याद छ । सम्झेका अन्य नामहरूमा आठौं शारदा मगर, १५/१६औं तिर पर्ने चनमती गिरी, त्यसकै हाराहारीकी चन्द्रा पुरी, कलादेवी गिरी, २०/२२औं की सरस्वती, नन्दी गुरुङ, अर्की तामाङ थरकी महिला, कार्कीकी छोरी, अहिलेकी भन्दा अघिल्ली विमला पोख्रेल आदि छन् । केहीले आफूलाई छाडेर यतै वरिपरि घरजम गरिरहेकाले उनले नाम लिन चाहेनन् ।
'नाम नलेखिदिनुहोला, अप्ठ्यारो पर्छ,' पटक-पटक सचेत गराए । २६औं बिहे पनि असफल भएपछि जति बिहे गरे पनि कोही नबसेपछि उनी करिब एक वर्ष श्रीमतीविहीन भए ।
तर मन मानेन, अर्की बिहे गरेँ । २७औँ श्रीमतीको रूपमा शारदा दाहाल अहिलेसम्म छिन् । धुपु लेब्राङकी शारदाले १६ वर्षकी हुँदा माइतमा अवैध गर्भधारण गरेकी थिइन् । माइतीले केही पैसासहित ०६० सालको असारमा मध्यराति रामचन्द्रलाई लाज ढाकिदिन भन्दै शारदा जिम्मा लगाएका थिए । माओवादीले कारबाही गर्ने डरले राति ल्याएर जिम्मा लगाएको उनले बताए । शारदापट्टि उनका दुई सन्तान छन् ।
अब फेरि बिहे गर्लान् रामचन्द्र ? भन्छन्, 'अहिलेकीले छाड्दिनँ भनेकी छे । तर छाडी भने त के गर्ने, चुप लागेर बस्न सकिन्न हजुर !' प्रस्ताव आएका छन् कि भनी सोध्दा गजक्क पर्दै जवाफ दिए, 'आएका छन् । तर एउटी हुँदाहुँदै अर्की ल्याउँदिनँ ।'
पुराना दिन सम्भिँदा अहिले खिन्न बन्छन् रामचन्द्र । दुखेसो गर्दै भने, 'दुःख पाउँदा मसित ओत लाग्न आए, मौका परेपछि आफ्नो बाटो लागे ।' बिरामी अवस्थामा जिम्मा लिएकाहरू थुप्रैले महिना दिनमा निको भएपछि छाडेर हिँडेको उनी बताउँछन् ।
छरछिमेकीले रामचन्द्र पैसा कमाउनका लागि जस्ती केटी पनि जिम्मा लिन्छ भनेकोमा उनलाई दुःख लागेको छ । 'धेरै पैसा कसैसँग लिएको छैन,' उनी भन्छन्, 'बरु रोगीहरूलाई उपचार गर्दा उल्टै मेरो खर्च भएको छ ।'
२७ वटीमध्ये २४ वटी त अर्कैसँग बिहे गरेर गए, जारी कत्तिको उठाइयो त ? उनी भन्छन्, 'मैले पनि अर्काकै श्रीमती लिम्बुनी ल्याएको थिएँ, जारी उठाउन आएनन् । मैले पनि कसैसँग जारी उठाइनँ ।' अन्त्यमा सोधियो- यत्राविधि श्रीमती दुःख पाएँ भन्दै सबै फर्केर आए भने के गर्नुहुन्छ ? लामो खित्का छोड्दै भने, 'श्रीमती नहुँदा आएका भए लिम्बुनी र फूलमायालाई त लिन्थेँ । तर, अहिले त घरमा छँदाछँदै जो आए पनि लिन्नँ, मलाई आफ्नो सहज पर्दा छाडेर जानेहरूलाई दुःख पाएर आउँदा किन लिने ?' -Source: राजधन राई/नयाँ पत्रिका
स्वास्नी अघि लोग्ने पछि, कार्यबाहक राजदुत धर्मपत्नीसंग लुपुक्क टाँसिएर....
- बिनोदकुमार नेपाल, वासिङ्गटन डिसी
यहि मार्च ८ तारिख आर्लिङ्गटनको एउटा पुस्तकालयमा अंतररास्ट्रीय महिला दिवस मनाउन जम्मा भएका नेपाली महिलाहरुको हुलको वीचमा करिव एक दर्जन हिस्सा पुरुषहरुको थियो । वासिङ्गटन वरिपरिकी गन्यमान्य महिला माधवी बस्नेतका मिठा भाषणहरुमा मस्त थिए पुरुषहरु । माधवी बस्नेत अन्वा नामक नेपाली महिलाहरुको संघकी संयोजक हुन । उनले भीडको सम्बोधन गर्दै सवैको स्वागत गरिन र कार्यक्रम आयोजना गर्नुका दुई उद्देस्यहरु रहेको बताइन् । उद्देस्यहरु थिए-परम्परा धान्नु अर्थात महिला दिवस मनाउनु र भावी नेपालको संविधानका लागि वासिङ्गटन डिसी वरपर रहेका महिलाहरुको समस्याहरु उठाउनु ।
महिला दिवसको कार्यक्रममा नेपाली राजदुतावासका महामहिम कार्यबाहक राजदुत धर्मपत्नीसंग लुपुक्क टाँसिएर बसेका थिए भीडको पछिल्लो पक्तिमा । सायद वासिङ्गटन डिसी वरिवरिका मान्छेहरुको भीडमा यति ठूला मान्छे भीडको पछाडि बसेको यो पहिलो अवसर होला । नानाथरिका पहिरनमा आएका महिला तथा सज्जनवृन्दका हुलमा टाईसुटमा रहेका मान्छे भीडको पछाडि बसेको सुहाइरहेको त थिएननै, ठूला मान्छेलाई पनि टसमस लागिरहेको देखिन्थ्यो । कसरी उनले दुईघन्टा पछाडि बसेर आईमाईको गन्थन सुने होलान् मलाई अचम्म लागिरहेथ्यो । सदासर्वदा घुम्ने मेचमा बस्ने, फनफनी घुम्ने, मिठा बात मार्ने, सवैका कार्यक्रममा अगाडि अगाडि मात्र बस्ने मान्छेलाई किन र कसरी पछाडि बसाइयो भनेर मेरो जिज्ञासा बढेको बढ्यै थियो । म ठूला मान्छेलाई घरी घरी निहाल्थें, उनको ओठ मन्द गतिमा चलिरहेको देख्थें, केही बोल्न खोजेजस्तो देखिन्थ्यो । मलाई उनको त्यो गाह्रो मनोविज्ञान किन आयोजकले नबुझेका होलान् भनेर टाउको रिङ्गाई रहेको थियो । अगाडि बस्ने बानी परेको मान्छेलाई पछाडि राखी दिँदा दिमागले काम नगर्नु स्वाभाविक थिएन । मैले इतिहासमा नै ठूला मान्छे यस्ता कार्यक्रमहरुमा पछाडि बसेको र आन्दोलनका क्रममा प्रहरीसंग भीडभाड हुने अवस्थामा नेताहरु अगाडि बसेको कदापी देखेको थिइन र सकसक लागिरहेको थियो । “पछाडि पनि बस्नु बोल्न पनि नपाउनु” यो त ठूलै जनकारवाही गरेछन् आयोजकले भनेर मेरो मन दुखिरहेको थियो । ठूलामान्छेले पछाडिको मान्छेको अनुभव बटुले । ठूला मान्छे महान रहेछन् ।
आइमाई जति अगाडि लोग्ने मान्छे जति पछाडि बस्नुको मनोविज्ञान बुझ्न अझै मलाई अप्ठेरो परिरहेछ । सधै भीडमा अगाडि बस्ने लोग्ने मान्छेहरु त्यो दिन पछाडि बस्नुको एउटा कारण एकजना मित्रले फुत्त सुझाए- आज महिला दिवस हो त नि । मलाई पनि थाह छ मैले उनलाई बताएँ । पुरुष प्रधान ब्यक्ति घर समाज र रास्ट्रका ती अग्रणी मान्छेहरु विवाहको दिन लगनगाँठो समातेर पछाडि उभिने बाहेक महिलाहरुको पछाडि बस्ने न उनीहरुको परम्परा छ न संस्कार नै । सँधै पछाडि बस्ने महिला र अगाडि बस्ने पुरुषहरुको प्राचिन संस्कृतिलाई तोडेर यो नयाँ संस्कृति विकास हुन सक्यो भने आगामी वर्षदेखि महिला दिवस मनाउनु पर्ने नै छैन विनोद जी भनेर मेरा एक मित्रले नजिकैबाट कान फुके । उनको भनाई मलाई मिठो लाग्यो तर पनि त्यो नयाँ संस्कृतिको सूत्रधार को हो भन्ने मलाई मनमा बिजिरहेछ । कतिपय त्यस्ता धेरै कार्यक्रमहरुमा महिला सिट पहिल्यै आरक्षण गरेर लेखेरै राख्दा पनि, हौसला जगाउँदा पनि सम्मान गर्दा पनि पछाडि नै बस्ने त्यो बर्गले आर्लिङ्गटनबाट इतिहास कोरेको मैले महसुश गरें । मैले यसलाई आर्लिङ्गटन सिद्धान्तको नाम दिएको छु । आर्लिङ्गटन सिद्धान्तको पालना यी महिला तथा सज्जनवृन्दले फेरी अन्य कार्यक्रमहरुमा गरेनन् भने आइमाइको धोती फुस्केछ भनेर भन्नु पर्ला भन्ने डर पनि मेरो मनमा जागिरहेछ ।
तीन सय चौसठ्ठी दिन लोग्नेको गाली खाने, चड्कन खाने, कुटिइने, पिटिइने, सत्तोसराप थाप्ने, हेपिइने, चेपिइने, जालझेलमा फस्ने, शोषिइने, पीडित हुने, बलात्कृत हुने, अस्मिता गुमाउने, सम्पत्तिमा हक नरहने, अंश नपाउने, छोराछोरी पाउने, आफ्ना पट्टिबाट छोराछोरीको नागरिकता बनाउन नपाउने, कामधन्दा गर्न नसक्ने, आरक्षण खोज्ने, पुरुषसरह काम लगाउँदा हामी आईमाई भनी पछि हट्ने, प्रतिष्पर्धा गर्न नसक्ने र त्यहि लोग्नेमान्छेको मुख ताक्ने स्वास्नीले १ दिन भएपनि आ-आफ्ना लोग्नेहरुका उछितो काढ्ने परम्पराको थालनी गरी दिएछ कुन चाहिँ महास्वाँठले र त्यस्तो एक दिनलाई हृदयंगम गरी महिला दिवस मनाउने परम्पराका धनी स्वास्नीमान्छेको दिमागले आलु खाएछ भनेर के भन्नै आँटेको थिए भीडमा मैले, उही मित्रले अहिले कुट्न आउलान तिनीहरु भनेर मलाई झस्काए र मेरो मुख छोप्न आए । नभन्नुस उनी भन्दै थिए- आज महिलाहरु आफु लोग्ने मान्छेबाट अमलेख भएको महसुस गरिरहेछन, आ-आफ्ना लोग्नेलाई भात-तरकारी पकाउन लगाएर उनीहरु आज त्यहि लोग्नेका बिरुद्ध बोल्न आएका छन् यहाँ, नानाथरी उनीहरुका विरुद्धमा बोल्नु भयो भने धोती भित्र छिराउलान, होस् गर्नुस है भनेर मित्रले मलाई शान्त रहन आग्रह गरे ।
घरको लोग्ने मान्छे छोरो वा पुरुषको विहेमा जन्ति प्रस्थान गरेपछिको साँझ घरका र वरिपरिका आइमाईहरुको विहेघरमा चर्को मनोरंजन शुरु हुन्छ त्यो हो- रत्यौली । रत्यौलीमा पुरुष प्रतिबन्धित हुन्छ । रत्यौलीको स्वरुप र कुरुप मैले थुप्रै महिला दिवसका कार्यक्रमहरुमा देखेको छु । रत्यौलीमा भाग लिन मलाई सानै उमेरदेखि रहर थियो, दाईको विहेदेखि वरिपरिका सवै केटाहरुको विहेमा जन्ती जानभन्दा रत्यौलीमा जान मलाई रहर लाग्थ्यो र कोशिस गर्थें । आइमाईको हुलले मेरो तोजा हरण गर्लान भनेर आमाले मलाई बारम्बार रत्यौलीमा नजान भन्नु हुन्थ्यो । एकदिन मेरा एकजना गाउँले साथीको बिहेमा उनको जन्तिमा भन्दा रत्यौलीमा भाग लिने अवसर पाएँ मैले । रत्यौलीमा बस्न मलाई साथीको आमाले हौस्याउनु भएको थियो र शान्तसंग बस्न र रमिता हेर्न बताउनु भएको थियो । म लोग्ने मान्छे भएको अरुले पत्तै नपाउन भनेर मलाई आमाको पहिरन सवै लगाएर आउन भन्नु भएको थियो । मैले यो कुरा आफ्नै आमालाई बताएँ । वहाँले मान्दै मान्नु भएको थिएन मैले जिद्दी गरेँ र आमाले मलाई वहाँ जस्तै बनाउन थाल्नु भयो । आमाकै रातो धोती, चोलो, कागज भरेको ब्रा, पेटिकोट लगाउन वहाँले मलाई सहयोग गर्नु भयो । नजिकैको ब्युटी पार्लरबाट आइमाइको कालो कपालको झुत्तो ल्याएर टाउकोमा पहिर् याई दिनु भयो । आमाकै चप्पल, चुरा, पोते, नाडी घडी, तिलहरी, छड्के तिलहरी, हातखुट्टाका नङमा पालिस, ओठमा लिपिष्टिक, आँखामा काली, गालामा पाउडर, टाउकोमा धोतीको सर्को, कपालको वीचमा सिन्दुर आदिमा सजिएर म रत्यौली घरमा आमासंगै प्रवेश गरेँ । रत्यौलीमा म लोग्ने मान्छे हुँ भनेर त्यसघरकी बुढी माउ बाहेक कसैले केही पत्तोसम्म पनि पाएनन् । त्यस घरकी बुढी माउ भने आफ्ना बुढाको दौरा, सुरुवाल, टोपी, ज्वारीकोट, कालो कोट, सेतो मोजा, कालो जुत्ता, हातमा औठी र घडी लगाएर आएकी थिइन् । रत्यौलीको मजाक त लिएँ लिएँ, लोग्ने मान्छेको बर्खिलाप गीत र विभिन्न तालबेतालबाट गरेको पनि मैले थाह पाएँ । त्यो हुर्मत बताइन सक्नु छैन, त्यस्तै हुर्मत लिन कुनचाहिँ महामुर्खले आइमाइलाई महिला दिवस बनाई दिएको रहेछ पहिले, मलाई अचम्म लागिरहेछ । जे होस्, त्यस्तो रत्यौली वासिङ्गटन डिसी वरपरका महिलाहरुले आयोजना गरेका रहेनछन आर्लिङ्गटनमा त्यस दिन, मलाई खुसी लाग्यो ।
कार्यक्रममा अन्वाका संयोजक माधवी बस्नेत, एएनएसकी प्रमुख विष्णु थापा, अधिवक्ता सीमा धामी, नासो कमिटी अमेरिकाकी चन्द्रकला सुनार, रिता तिवारी, सृजना शर्मा, शारदा खाती आदिले अनेक फतुर गरे तर कार्यक्रमको मुख्यांस थियो- महिला दिवसको निरन्तरता र भावी संविधानमा उनीहरुको स्थान । महिलाहरुका नाना थरीका बात सुनेर डाहा भएपछि खसखस डडकमका बासु श्रेष्ठ सगरमाथा टेलिभिजनका राम खरेल र डिसी नेपाल डटकमका रामहरि सुवेदीलाई पनि मुख चिलाएछ र उनीहरुले अब बन्ने नेपालको संविधानमा नेपाली महिलाको हक अधिकारको सुनिश्चिताको सहमति गरी दिनु हुन पछिल्ला बे'चमा बस्नु भएका महामहिमलाई आग्रह गर्नु भएको थियो र महामहिमले मुन्टो हल्लाएर हर्ष मुद्रामा सहमति जनाई दिनु भएको थियो । कार्यक्रममा टेलिभिजन, अनलाइन पत्रिका, कागज पत्रिका, रेडियो र लेखनदासहरुका तर्फबाट राम खरेल, सुवुप्रताप केसी, रामहरि सुवेदी, गोविन्द गिरी प्रेरणा, मुक्ति दवाडी, लेखनाथ भण्डारी, शुशिल न्यौपाने लगायतका एक दर्जन पुरुषहरुले पछाडि बसेर महिलाहरुका नानाथरीका फतुर सुनेका र फोटो खिचेका थिए ।
( यो लेखक को निजी बिचार हो, नेपाल मदर डट कम सबैको साझा चौतारी भएकाले सबैका धारणा समेटिन्छ, यदी लेखक का बिचार सँग सहमत् वा असहमत भै अरु लेख प्राप्त भए अरुलाई पनि समान स्थान दिने जानकारी गराइन्छ, यदी लेखक सँग प्रत्य्क्ष्य संपर्क गर्न चाहेमा वहाँको ईमेल address हो vinodkumarnepal@gmail.com )
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक