20081229

कांग्रेस देशभर तरुण दस्ता गठन गरेर माओवादी प्रतिकारमा उत्रने चेतावनी

´एक्काइसौं शताब्दीमामा माओवादीको तानाशाह र अधिनायकवाद टिक्न सक्दैन।´


नेपाली कांग्रेसको युवा संगठन तरुण दलले माओवादीद्वारा ज्यादती जारी राखिएको भन्दै त्यसका विरुद्ध सोमबार देशव्यापी विरोध प्रदर्शन र सभा गरेको छ। सभामा कांग्रेस र तरुण दलका नेताले माओवादी कार्यकर्ताको ज्यादती अन्त्य नभए देशभर तरुण दस्ता गठन गरेर प्रतिकारमा उत्रने चेतावनी दिएका छन्। तरुण दलले सोमबार राजधानीसहित मुलुकका प्रमुख १६ सहरमा माओवादी ज्यादतीको विरोधमा एकैचोटी जुलुस प्रदर्शन र सभा गरेको हो। माओवादीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बढाएको, सेना र न्यायालयमा राजनीतिकरण गर्न खोजेको, प्रधानमन्त्रीले गैरजिम्मेवारी अभिव्यक्ति दिएर मुलुकलाई अन्यौलमा पारेको आरोप लगाउँदै त्यसका विरुद्ध खबरदारी गर्न सोमबार तरुण दलले देशव्यापी विरोध प्रदर्शन र सभा गर्दै तरुण दलले त्यस्तो चेतावनी दिएको हो।
राजधानीको रत्नपार्कमा विरोध प्रदर्शनपछिको सभामा बोल्दै तरुण दलका पूवअध्यक्ष बालकृष्ण खाँडले भने-´माओवादीको तानाशाही प्रवृत्ति र कांग्रेसका नेता, कार्यकर्तामाथि भएका हमलाको प्रतिरोध गर्न तरुण दस्ता आवश्यक छ।´ पछिल्लो समयमा पाल्पामा कांग्रेसका जिल्ला सभापतिमाथि माओवादी कार्यकर्ताले कुटपिट गरेको भन्दै उनले त्यसविरुद्ध कडा रूपमा जाने चेतावनी दिए। खाँडले भने- ´एक्काइसौं शताब्दीमामा माओवादीको तानाशाह र अधिनायकवाद टिक्न सक्दैन।´
सञ्चार संस्थामाथिको माओवादी आक्रमण नियोजित भएको आरोप लगाउँदै उनले भने- ´माओवादीबाट मिडियामाथि पछिल्ला समयमा भएका घटनालाई तरुण दलले नेपाली जनता र लोकतन्त्रमाथिको आक्रमणका रूपमा लिएको छ। जनता र लोकतन्त्रमाथिको आक्रमण कुनै हालतमा सहृय हुन सक्दैन।´नेपाल विद्यार्थी संघका अध्यक्ष प्रदीप पौडेलले माओवादीले नागरिकको व्यक्तिगत स्वतन्त्रता र अधिकार हनन गरी कठोर निरंकुशता लाद्न खोजेको आरोप लगाए। उनले भने-´सरकारको नेतृत्व गरेको माओवादीका नेताहरुको अभिव्यक्ति र कार्यकर्ताको कार्यशैली लोकतन्त्र सुदृढीकरण नभई जनगणतन्त्रमा जाने दिशातर्फउन्मुख देखिएको छ।´ सरकारले हत्या, हिंसालाई संरक्षण दिएर आतंकलाई प्रश्रय दिएको उनको आरोप थियो। सभाअघि रत्नपार्कस्थित शान्ति बाटिकाबाट सुरु भएको जुलुस सहिदगेट, न्युरोड हुँदै सोही स्थानमा पुगेर सभामा परिणत भएको थियो। पोखरामा तरुण दलको जुलुसका क्रममा पृथ्वीचोकमा केही सवारी साधनमाथि तोडफोड भएको छ। प्रहरीले जुलुस आउने थाहा पाएर पनि ट्राफिक व्यवस्थापन नगरेको भन्दै जुलुसका सहभागीले आधा दर्जन सवारीमा तोडफोड गरेपछि केही बेर उक्त क्षेत्र तनावग्रस्त बनेको प्रहरीले जनाएको छ।


वाईसीएललाई अल्टिमेटम !!!

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बालाजु औद्योगिक क्षेत्र भित्र रहेको वाईसीएलको क्याम्प पुष २४ गतेभित्र हटाउन अल्टिमेटम दिएको छ । काठमाण्डूमा पत्रकार सम्मेलन गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पाटन र धरान औद्योगिक क्षेत्र भित्र रहेका वाईसीएल र माओवादी निकट मजदूर संगठनका कार्यालय र क्याम्प पनि पुष मसान्त भित्र हटाउन भनेको छ । तोकिएको समय सीमा भित्र क्याम्प र कार्यालय नहटाए बलप्रयोग गरी हटाउने लिमिटेडले चेतावनी दिएको छ । मुलकभरका ११ वटा औद्योगिक क्षेत्र मध्ये तीन वटामा मात्र माओवादी संगठनका कार्यालय रहेको महानिर्देशक गिरिराज भण्डारीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बालाजुमा वाईसीएल ५ दशमलव ३३ रोपनी जग्गा कब्जा गरी झण्डै आधादर्जन भवनमा नागरिकलाई यातना दिने गरेको पाइएको छ । वाईसीएलले डेढ महिनको समय मागेपनि आफूहरुले नदिएको भण्डारीले जानकारी दिनुभयो । त्यस्तै औद्योगिक क्षेत्र चन्दा धम्की र आतंकका कारण त्रस्त रहेको लिमिटेडले जनाएको छ । तर्राईका सशस्त्र समूह, किराँत जनवादी वर्कर्स पार्टर्ीी पनि धम्की दिएर चन्दा आतंक फैलाएको लिमिटेडले जनाएको छ ।

पाल्पा जिल्ला बन्द : बुटबलमा ढुंगा हानाहान

जिल्ला सभापतिमाथि कुटपीट भएको बिरोधमा नेपाली काँग्रेसले पाल्पा जिल्ला बन्द गरेको छ । बन्दका कारण बजार, शिक्षणसंस्था, उधोगधन्दा, कलकारखाना, ठप्प छन् । जिल्ला सभापति राजन प्रसाद पन्तलाई हिजो अखिल क्रान्तिकारीका कार्यकर्ताले कुटपीट गरेको भन्दै काँग्रेसले जिल्ला बन्द गरेको हो । बिहान बजार बन्द गराउने क्रममा अखिल क्रान्तिकारी र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । भडपमा काँग्रेसका तीन र क्रान्तिकारीका एक कार्यकर्ता र्घाईते भएका छन् ।
तानसेनमा कांग्रेसका नेता तथा बिद्यार्थीमाथि बाईसीइलद्धारा गरिएको कुटपिट गरिएको भन्दै त्यसको बिरोधमा सोमबार नेपाल बिद्यार्थी संघ, नेपाली कांग्रेसको युवा दस्ता तरुण दल लगायतले सोमबार बुटबलमा यातायात बन्दै गर्दै र्‍याली सम्पन्न गरेका छन् । माओबादी आतंक बन्द गर, बाईसीइलको दस्ता खारेज गर जस्ता नारा लगाउँदै गरिएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले करिब साढे २ घन्टा शिद्धार्थ राजमार्गमा चल्ने सबारीसाधनहरु बन्द गराएका थिए । प्रदर्शन स्थानीय ट्राफिकचोकबाट राजमार्ग चौराहसम्म गरिएको थियो । यसैगरी राजमार्ग चौराहमा पुगेर बिरोध प्रर्दशन गरी फर्कने क्रममा सडक बिभाग अगाडी माओबादी कार्यकर्ता र यातायात मजदुर संघका साथै नेपाल बिद्यार्थी संघ र माओबादी कार्यक्रता बीच ढुंगा हानाहान भएको थियो । नेपाल विद्यार्थीसंघले भने आफूहरु घर फर्किरहेका बेला प्रहरीको संरक्षणमा माओबादी कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।



अब पशुपतिमा भारतीय पुजारी रहने छैनन्

पशुपति क्षेत्र विकास कोषले भारतीय मूलका तीनजना भट्टको राजीनामा स्वीकृत गर्दै उनीहरूको स्थानमा नेपाली मूलका पुजारी नियुक्तिको निर्णय गरेपछि आइतबारबाट पशुपतिनाथ मन्दिरको परम्परा तोडिएको हो । मल्लकालीन समयदेखि पशुपतिनाथको मूलपुजारीसहित अन्य तीनजना सहयोगी र वासुकी मन्दिरको पुजारीमा दक्षिण भारतीय मूलका पुजारी नियुक्त हुँदै आएका थिए । नेपालभित्रै रहेको मन्दिरमा भारतीय पुजारी रहने परम्परा असैह्य रहेको भन्दै दबाब बढ्दै गएपछि स्वास्थ्यको कारण देखाउँदै मूलपुजारी महाबलेश्वरसहित अन्य दुईजना पुजारी पिरामचन्द्र भट्ट र कृष्णयोग भट्टले कोषसमक्ष राजीनामा दिएका थिए । तीनैजनाले १५ दिनअगाडि संस्कृति मन्त्रालयमा राजीनामा दिएका थिए । तीनैजना भट्टको राजीनामा स्वीकृत गरिएको छ,' कोषका सदस्यसचिव परमानन्द शाक्यले भने, 'अब पशुपतिमा भारतीय पुजारी रहने छैनन् । यसले पुरानो परम्परालाई तोडेको छ ।' कोषले तीनजना भट्टको राजीनामासँगै उनीहरूको स्थानमा दुईजना नेपाली पण्डित डा. विष्णुप्रसाद दाहाल र शालिकराम ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ । दाहालले संस्कृतमा विद्यावारिधि गरेका छन् भने ढकालले संस्कृत विषयमा नै शास्त्री गरेका छन् ।


प्रचण्डको हविगत ज्ञानेन्द्रको भन्दा भिन्न हुनेछैन
- प्रदीप नेपाल

बडो विचित्रको छ, नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी बोकेको अनि संविधानसभालाई संसद् बनाउने नेपालको नयाँ सरकार । प्रधानमन्त्रीलाई सहकर्मी पार्टीहरूका कारण नयाँ नेपाल निर्माणको काम गर्न गाह्रो भइरहेको छ । सायद त्यो नयाँ नेपाल निर्माण योजना विद्युत् उत्पादनका लागि 'थर्मल प्लान्ट' किन्ने होला अथवा कब्जा गरेका गाडीदेखि श्री-सम्पत्तिसम्मको चर्चा कसैले नगरिदिऊन् भन्ने योजना होला । प्रधानमन्त्री पुष्पकमल दाहालको अगुवाइमा चलेको सरकारले डेढ सय दिन बिताउँदा पनि उल्लेख गर्नैपर्ने डेढवटा काम पनि गर्न सकेको देखिएन । यो कुनै विरोधीको भनाइ होइन, स्वयं सरकारका प्रवक्ता र प्रधानमन्त्रीले घोषणा गरेको कुरा हो यो । उहाँको भनाइअनुसार सरकारमा सहभागी दलको अवरोधका कारण राम्रो काम गर्न पाइएन रे ! नेपालीमा एउटा भनाइ छ, 'नाच्न नजान्नेका लागि आँगन टेढो हुन्छ ।' अहिलेका प्रधानमन्त्री र मन्त्रीहरूका लागि शासन-सत्ता त्यही टेढो आँगन भएको छ । छाडौँ मनले नमान्ने, गरौँ बुद्धिले नभ्याउने । यो नै अहिलेको सही चित्रण हो सरकार र सत्ताको । सहकार्य भनेको लोकतान्त्रिक चेतना र व्यवहारको समायोजन हो । खाली भाषण गरेर कोही पनि लोकतान्त्रिक तथा गणतान्त्रिक हुन सक्दैन । राजनीतिलाई सेवामा अनुवाद गर्ने नेता मात्रै लोकतान्त्रिक एवं गणतान्त्रिक हुन्छ । सही अर्थमा विश्लेषण गर्दा हाम्रो देशका कुनै पनि पार्टीका ठूला नेतामा लोकतान्त्रिक व्यवहारको चेतना छैन । उनीहरू आफूलाई ठूलो ठान्छन्, विद्वान् र बुद्धिमान पनि ठान्छन् । आफूभन्दा बाहिर पनि विद्वान् र ज्ञानी हुन्छन् भन्ने चेतना उनीहरूमा हुँदैन । सानो व्यवहारकै कुरा गरौँ- कार्यक्रममा अतिथि आसन ग्रहण गराइएन भने उनीहरू फन्फनिँदै बाहिर निस्कन्छन् । तर, मञ्चासन त लोकतन्त्रजनित व्यवहार होइन । एकखालका पाहुना ठूला, अर्काखालका पाहुना साना भन्ने चेतना आधारभूत रूपमा सामन्ती सोच हो । तर, हाम्रो देशका सबै ठूला नेतालाई अरूबाट नमस्कार चाहिन्छ, कार्यक्रममा मञ्च नै चाहिन्छ । माननीय र सम्माननीयजस्ता सामन्तकालीन सम्बोधन पनि उहाँहरूलाई चाहिन्छ ।
राजावादी त्यसै लसालस माओवादीमा प्रवेश गरेका होइनन्, उनीहरूले सत्ताको चास्नीमा जिब्रो लुट्पुट्याएका छन् र हरेक बलशालीको ब्वाँसो शैलीको सिकार गर्दा आफ्नो हित हुन्छ भन्ने तिनले जानेका छन् , अहिलेको सरकारको समस्या यही सामन्ती चेतना र लोकतान्त्रिक आग्रहबीचको गज्याङमा फँसेको छ । माओवादी पार्टीको ठूलो अंशमा लोकतान्त्रिक परिपाटीको सोचसमेत छैन । यसको अभिव्यक्ति पार्टीका ठुल्ठूला नेताबाट भइरहेको छ । मोहन वैद्यको सर्वसत्तावादी जनगणतन्त्र, सिपी गजुरेलको घर-जग्गा फिर्तासम्बन्धी अपमानजनक सम्बोधन, सभासद् जम्मकट्टेलको हिमाल मिडियामाथिको आक्रमणपछिका बयान अलोकतान्त्रिक व्यवहारका जीवन्त उदाहरण हुन् । माओवादीभित्र पूर्वराजावादीको बाहुल्यता बढेको, अराजक र अराजनीतिक व्यक्तिको बोलवाला बढेको गुनासो पनि प्रचण्डजीबाटै निसृत भइरहेको छ । त्यसैले माओवादी पार्टीका लागि आफूले प्राप्त गरेको सत्ता 'नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाउको अनुहार' भनेजस्तै भएको छ ।
यस्तै अवस्था मधेसी फोरमको पनि छ । आवेगको आन्दोलनले ठूलो बनाएको मधेसी फोरमसँग त लोकतान्त्रिक मूल्य-मान्यताको अंश शून्य छ । पार्टी फेर्दैमा मान्छे फेरिँदैन । कांग्रेस पार्टी सत्तामा छँदा भ्रष्टाचारको दलदलमा फँसेकाहरू नै अहिले मधेसी फोरमका हर्ताकर्ता भएका छन् । माओवादी पार्टीभित्र सत्ताको रजगज जमाउन नसकेकाहरू राजनीतिक रजगजका लागि फोरमका ठूला नेता भएका छन् । कांग्रेस र माओवादीको सम्मिश्रणबाट जन्मिएको हुनाले फोरम राजनीतिको कुनै गन्तव्य छैन । त्यो बाँसमा पलाएको ऐँजेरुजस्तै भएको छ । फोरम रहेसम्म फोरमै ठीक, फोरमको बेहाल हुनासाथ आ-आफ्ना माउपार्टी छँदै छन् । आफ्नो फोरमको भविष्य नदेखेकै हुनाले फोरमका नेताहरू अत्तालिएका छन् । परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिरहेका फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारबाट हट्ने धम्की दिनुको कारण पनि यही आँगन टेढोसँग जोडिएको छ । तर, सबै नेपालीलाई थाहा छ- जति धम्की दिए पनि फोरमवालाहरूले कांगे्रसबाट मन्त्रीको सुनिश्चितताको आश्वासन नपाएसम्म पाइरहेको सत्ताको चाँदी कटान छाड्नेवाला छैनन् ।
जहाँसम्म एमालेको कुरा हो- त्यो पार्टी सरकारमा रहने कि नरहने, रहने भए कुन आधारमा रहने भन्ने निष्कर्ष निकाल्ने कार्यदल गठन गरेर त्यसको प्रतिवेदन हातमा लिएर बसेको छ । अञ्चल इन्चार्ज र कार्यकर्ताको आँखामा छारो हाल्ने कामका लागि यो कार्यदल गठन भएको होइन भने कार्यदलको रिपोर्ट सार्वजनिक हुनासाथ नेकपा एमाले सरकारबाट बाहिरिने सुनिश्चित छ । किनभने सरकार गठन हुँदाको सहमति र समझदारीलाई, साझा न्यूनतम कार्यक्रमलाई माओवादीले धोती लाइदिइसकेको छ भने एमालेले सम्हालेको मन्त्रालयको बजेट चुँड्दै आफ्नो क्यान्टोनमेन्टलाई पोस्ने काममा यतिबेला माओवादीका अर्थमन्त्री दत्तचित्त भएर लागेका छन् ।
समस्या सहकार्यको सरकारमा हुन्छन् नै । हिजोको मन्त्रिपरिषद्मा पनि समस्या थिए, अहिले पनि छ र कथम्कदाचित भोलि साझा सरकार बन्यो भने त्यसमा पनि समस्या हुन्छन् नै । राजनेताको विशिष्टता भनेको ती समस्यालाई मित्रवत् रूपमा लिने, तिनको समाधानका लागि सबैको सहमति खोज्नेबाहेक अरू केही हुन सक्दैन । प्रधानमन्त्रीको कुर्चीमा बसेर मेरै मन्त्रीले मलाई काम गर्न दिएनन् भन्ने अभिव्यक्तिलाई कुनै हिसाबमा पनि सही र सन्तुलित भन्न सकिँदैन ।
माओवादी नेतृत्वमा जमठ भएर बसेको एकदलीय तानाशाहीको ढाकछोप अब नगर्दा हुन्छ । आफूबाहेक, आफूसितै काम गरिरहेका पार्टीहरूलाई दुश्मन देख्नु, आफ्ना पार्टीका फौजदारी अभियुक्तलाई ब्यारेकमा लगेर लुकाउनु, सहकर्मी राजनीतिक पार्टीका नेता र कार्यकर्तामाथि निरन्तर आक्रमण गरिरहनु, प्रेसमाथि ठाडो आक्रमण गर्नु, पत्रकारहरूको हत्या गर्नु अहिलेको माओवादी पार्टीका परिचय हुन् । यो परिचयले उनीहरूलाई विगतको आतंकवादसँगै जोड्छ भन्ने ज्ञान माओवादीका नेताहरूमा होस् ।
वर्तमान सरकारको स्थायित्व माओवादीको व्यवहारमै निर्भर गर्छ । हो, कांग्रेसले नकाम गरेर सरकारको विरोध गरिरहेको छ र त्यसको राजनीतिमा राष्ट्रप्रतिको, नेपाली जनताप्रतिको कुनै जिम्मेवारीबोध छैन । तर, विरोध कांग्रेसले मात्र गरिरहेको छैन । अहिले माओवादीको सहकर्मी पार्टी भएको नेकपा एमालेका महासचिव झलनाथ खनालले सरकारको विरोध गरेका छन् र पटक-पटक माओवादीका व्यवहारका कारण सहकार्य टुट्ने घोषणा गरेका छन् । सरकारमै रहेका फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि माओवादीले आफ्ना कुरा नसुनेको गुनासो गर्दै पटक-पटक सरकारबाट बाहिरिने धम्की दिएकै छन् ।
माओवादी सुधि्रनु लोकतान्त्रिक गणतन्त्रको आचरणमा आउनु हो । होइन, तिनले आफ्नो सेनाको पक्षमा वकालत गर्नु, वाइसिएलको अर्धसैनिक संरचनाको पक्षपोषण गर्दै जाने हो भने सबैभन्दा चर्का क्रान्तिकारी कामरेड प्रचण्डको हविगत ज्ञानेन्द्रको भन्दा भिन्न हुनेछैन । किनभने उनलाई रसातलमा झार्ने राजावादी त्यसै लसालस माओवादी पार्टीमा प्रवेश गरेका होइनन् । उनीहरूले सत्ताको चास्नीमा जिब्रो लुट्पुट्याएका छन् र हरेक बलशालीको ब्वाँसो शैलीको सिकार
गर्दा आफ्नो हित हुन्छ भन्ने तिनले जानेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक